आङ्गिक क्याम्पसको माग गर्दै प्रधानमन्त्रीलाई १३ क्याम्पसको ज्ञापन पत्र
अछाम । सुदूरपश्चिम विश्वविद्यालय सभाबाट पारित भएका १३ क्याम्पसहरूलाई आङ्गिक क्याम्पस बनाउन निर्णय गरिदिन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ । सुदूरपश्चिम विश्वविद्यालय प्रस्तावित आङ्गिक क्याम्पस संघर्ष समितिका प्रतिनिधिहरूले सिंहदरबारमा ज्ञापनपत्र बुझाउनु भएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयको मिति २०७३ भदौमा छवटा, क्याम्पस, मिति २०७९ चैत्र पाँचवटा क्याम्पस र मिति २०८० श्रावण साउनमा दुईवटा क्याम्पसलाई आङ्गिक क्याम्पस बनाउन माग गरिएको हो । ज्ञापनपत्रमा शिक्षामा पछाडि परेको सुदूरपश्चिम प्रदेशलाई विकास र शिक्षामा अगाडि ल्याउन माग गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसमा समायोजनका लागि आफू सकारात्मक रहेको भनाइ आएको अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र बहादुर विष्टले जानकारी दिनुभयो । आङ्गिक क्याम्पस बनाउन संघर्ष समितिका सदस्यहरू हाल काठमाण्डौमा विभिन्न पक्षसँग भेटघाटमा रहनुभएको छ ।
अछाम बहुमुखी क्याम्पस, कञ्चनपुरको भानु बहुमुखी, कृष्ण बैजनाथ बहुमुखी महाकाली बहुमुखी, कैलालीका लम्की बहुमुखी, घोडाघोडी बहुमुखी, डोटीको केदार ज्योति पुञ्ज क्याम्पस आङ्गिक प्रस्तावित रहेका छन् । यस्तै दार्चुलाको शंकरपुर, बैतडीको पुर्चौडी र कृषि तथा पशुविज्ञान, बझाङको बझाङदीप र सुनकुडा, डडेल्धुराको भीमदत्त क्याम्पस रहेका छन् ।