कांग्रेस अछामको जिल्ला सभापतिमा पदमराज अधिकारीको उम्मेदवारी घोषणा

मंगलसेन । नेपाली कांग्रेस अछामको जिल्ला सभापति पदमा पदमराज अधिकारीले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । पार्टीका नीति, सिद्धान्त, आदर्श र मूल्य–मान्यतालाई आत्मसात् गर्दै संगठनलाई थप सुदृढ, एकताबद्ध, अनुशासित र जनउत्तरदायी बनाउने उद्देश्यसहित उनले सामाजिक सञ्जाल मार्फत जिल्ला सभापति पदमा उम्मेदवारी अघि सारेका हुन् ।

विशेष महाधिवेशनको मागका लागि जिल्लामा सक्रिय रहेका अधिकारीलाइ जिल्ला सभापतिको रूपमा यसअघिबाटै पार्टी भित्र र बाहिरबाट आंकलन हुँदै आएको छ ।  पार्टी राजनीतिमा निकै इमान्दार र सक्रिय रूपमा खट्ने अधिकारको जिल्ला सभापतिको घोषणासँगै काँग्रेसकै अग्रज नेता र कार्यकर्ताहरूमा चर्को बहस थालनी भएको छ । अधिकारीले पार्टीमा नयाँ ऊर्जा, सोच र कार्यशैलीको विकास गर्दै संगठनलाई जनताको भरोसायोग्य बनाउने साझा अभियानका रूपमा व्याख्या गरेर नेतृत्व लिन मैदानमा उत्रेको भनाइ राख्नुभयो । पदलाई प्रतिष्ठा नभई जिम्मेवारी र सेवाको अवसरका रूपमा लिने उल्लेख गर्दै उनले पार्टीभित्र विधि, पद्धति र विधानको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

पार्टीभित्रको गुटगत विभाजन अन्त्य गर्दै एकता, सहकार्य र आपसी सम्मानको वातावरण निर्माण गर्ने, वडा तहदेखि जिल्ला तहसम्म संगठनलाई सक्रिय र व्यवस्थित बनाउने तथा युवा, महिला र अग्रजहरूको अनुभव र क्षमतालाई समेटेर समावेशी नेतृत्व स्थापित गर्ने अधिकारीको प्रतिबद्धता छ । जनताका सुख–दुःखमा साथ दिने, अछामको विकास, सुशासन र सामाजिक न्यायलाई प्राथमिकता दिने, सबैका विचार, सुझाव र गुनासालाई सम्मान गर्दै निष्पक्ष तथा विवेकपूर्ण निर्णय गर्ने र पारदर्शी, इमानदार एवं उत्तरदायी राजनीतिक संस्कारको विकास गर्ने उनका थप प्रतिबद्धता छन् । 

तीन दशकभन्दा लामो राजनीतिक यात्रा

कमलबजार नगरपालिका–७ सेराको फल्टानेमा जन्मिएका अधिकारीको राजनीतिक यात्रा २०४८ सालबाट सुरु भएको हो । उनले जाल्पा माध्यमिक विद्यालय, ढाकुमा नेपाल विद्यार्थी संघको एकाइ अध्यक्षको जिम्मेवारी सम्हाल्दै औपचारिक रूपमा नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । २०५० सालमा नेपाल विद्यार्थी संघ अछामको जिल्ला सदस्य बनेका उनी २०५१ सालमा त्यसैको जिल्ला सचिवको जिम्मेवारीमा पुगे । अध्ययनका लागि महेन्द्रनगर पुग्नु भएका अधिकारी २०५३ सालमा नेपाल विद्यार्थी संघ कञ्चनपुरको जिल्ला सदस्य हुँदै जिल्ला सचिवको नेतृत्व सम्हाले । सोही वर्ष उनले सिद्धनाथ विज्ञान क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सचिव पदका उम्मेद्वारा समेत बने । 

२०५५ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेका अधिकारी पार्टीको ११ औँ र १२ औँ अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका रूपमा चयन भएका थिए । पार्टी संगठनसँगै शिक्षकहरूको पेसागत संगठनमा समेत सक्रिय रहेका उनी २०६८ देखि २०७२ सालसम्म नेपाल शिक्षक संघ अछामको अध्यक्ष बनेर काम गरेका थिए । जिल्लाभित्र र बाहिर शिक्षकसँगको निकै निकटतामा रहँदा पार्टी कामको समेत अनुभव संगालेका छन् । 

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका अधिकारी १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिसँगै महासमिति सदस्य बने । पार्टीको विशेष महाधिवेशनमा अछाममा सक्रिय भूमिका निर्वाह गरेका उनी १५ औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिका रूपमा विजयी भएका छन् ।  

राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय

अधिकारी राजनीतिक गतिविधिमा मात्र सीमित नभई सामाजिक क्षेत्रमा समेत लामो समयदेखि सक्रिय छन् । उनले सेतो गुराँस बालविकास सेवाको अध्यक्ष तथा रेडियो रामारोशनको सञ्चालक समितिको अध्यक्षका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका छन्।

२०६२/६३ को ऐतिहासिक जनआन्दोलनमा नागरिक समाजको तर्फबाट सहभागी भएका अधिकारीले २०५४ सालदेखि शिक्षण पेसामा रहेर शिक्षा र सामुदायिक सरोकारका क्षेत्रमा योगदान पुर्‍याएका थिए। लामो समय शिक्षण पेसामा आबद्ध रहेका उनले २०७८ सालमा शिक्षकको स्थायी पदबाट राजीनामा दिएपछि आम नागरिकको सहभागिता अभिवृद्धि गर्ने, समाजमा राजनीतिक चेतना विस्तार गर्ने र जनताका सरोकारका विषयमा सक्रिय रहने कार्यलाई प्राथमिकता दिएको बताएका छन्।

जिल्लामा प्रहरी तथा प्रशासनसँग समन्वय गरी नागरिकका समस्या समाधानका लागि पहल गर्दै आएका अधिकारीले सामाजिक उत्तरदायित्व र जनसरोकारका विषयलाई राजनीतिक नेतृत्वको महत्त्वपूर्ण जिम्मेवारीका रूपमा लिँदै आएका छन्।

एकता र सामूहिक नेतृत्वको प्रतिबद्धता

जिल्ला सभापति पदको उम्मेदवारीसँगै अधिकारीले पार्टीको नेतृत्व चयनलाई पदाधिकारी चुन्ने विषयमा मात्र सीमित नराखी नेपाली कांग्रेसको भावी दिशा र कार्यशैली निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिन क्षेत्रीय प्रतिनिधिहरूसँग आग्रह गरेका छन् । 

सबैलाई समेटेर सामूहिक निर्णय र सहकार्यका आधारमा नेपाली कांग्रेस अछामलाई बलियो, एकताबद्ध र जनताको विश्वास जित्न सक्ने पार्टी बनाउने उनको प्रतिबद्धता छ । ‘व्यक्तिभन्दा विचार ठूलो, गुटभन्दा संगठन ठूलो र व्यक्तिगत स्वार्थभन्दा सामूहिक हित ठूलो’ हुने कांग्रेस निर्माण गर्नुपर्नेमा जोड दिँदै अधिकारीले जिल्ला सभापति पदमा नेतृत्व गर्ने अवसर प्रदान गर्न क्षेत्रीय प्रतिनिधिहरूसँग अमूल्य मत, साथ र सहयोगको अपेक्षा गरेका छन् । 

लामो विद्यार्थी राजनीति, शिक्षक संगठनको नेतृत्व, पार्टीका विभिन्न तहमा प्राप्त जिम्मेवारी तथा सामाजिक क्षेत्रको अनुभवलाई जिल्ला नेतृत्वमा उपयोग गर्ने लक्ष्यसहित अधिकारीले आफ्नो उम्मेदवारीलाई संगठन रूपान्तरण र पार्टी एकताको अभियानका रूपमा अघि सारेका छन् । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!