अछाम प्रहरीको तीन महिने प्रतिवेदनः ४२ मुद्दा दर्ता, ३८ पक्राउ

अछाम । जिल्ला प्रहरी कार्यालय अछामले पछिल्लो तीन महिनाको गतिविधि समेटेर प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन तथा समुदाय-प्रहरी साझेदारीको त्रैमासिक अवस्थाको प्रतिवेदन तयार पारेको हाे । 

अछाम प्रहरीका अनुसार समीक्षा अवधिमा कर्तव्य ज्यान, जबर्जस्ती करणी, अभद्र व्यवहार, बैंकिङ कसुर, ज्यान मार्ने उद्योग, लागुऔषध र आत्महत्यासहित कुल ४२ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मध्ये २६ वटा मुद्दा फर्छ्यौट भइसकेका छन् भने ५ वटा चालु र ११ वटा पेन्डिङ अवस्थामा रहेका प्रतिवेदनमा उल्लेख छन् । मुद्दाका ३८ जना प्रतिवादी पक्राउ परेका छन् भने जबर्जस्ती करणीका १ र बैंकिङ कसुरका ३ गरी ४ जना फरार रहेका छन् । यस्तै फरार रहेका १३३ जना कैदीमध्ये ६ जनालाई पक्राउ गरी रु. ४३,४१२ कैद तथा राजस्व संकलन गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक पविन्द्र बहादुर बम्मले जानकारी दिनुभयो ।

शान्ति सुरक्षाका लागि जिल्लाभर रहेका ३१ वटा प्रहरी इकाई र ३६३ जना जनशक्तिमार्फत ३,१३२ पटक पैदल गस्ती, ३६० पटक गाडी मोबाइल, १,०२३ वटा पिकेट र ६ वटा एलआरपी ड्युटी सञ्चालन गरिएको छ । चाडपर्वलाई लक्षित गर्दै साँफेबगरका छिपेखोला, हाटबजार, सार्वजनिक स्थान र घुघुरकोट, कमलबजार, मंगलसेनको बैरागीधारा, चौरपाटीको चौखुट्टे, बान्निगढी जयगढ बसपार्क तथा पञ्चदेवल विनायकका बेल्खेत र बजार गरी १० स्थानमा सहायता कक्ष स्थापना गरी सुरक्षा योजना लागू गरिएको छ ।

यस अवधिमा प्राप्त २,०९८ वटा सूचनाको शतप्रतिशत सम्बोधन गरिएको प्रतिवेदनमा छ । अवैध गतिविधि नियन्त्रणतर्फ ४ नाल घरेलु हातहतियार बरामद गरिएको छ भने नदीजन्य स्रोतको अवैध उत्खननमा संलग्न १ टिप्पर र १ ट्याक्टरलाई नियन्त्रणमा लिई नियमअनुसार रु. १,६७६ जरिवाना गराइएको छ । यस्तै ४५५ लिटर तयारी घरेलु मदिरा, ६५० लिटर कच्चा पदार्थ, १ पेटी महाकाली र २ पेटी अरेन्ज मदिरा नष्ट गरिएको छ। लागुऔषधतर्फ ०.०९ मिलिग्राम खैरो हेरोइन र २६.२८ ग्राम चरेश बरामद भएको प्रहरी प्रमुख बम्मको भनाइ छ । 

घरेलु हिंसाका ९ र लैंगिक हिंसाका २ गरी कुल ११ वटा निवेदन दर्ता भई सबै फर्छ्यौट भएका छन् । हराएका १७ जना (२ ज्येष्ठ नागरिक, ४ महिला, ५ पुरुष, ५ बालिका र १ बालक) मध्ये १५ जना फेला परेका छन् भने १ महिला र १ पुरुष फेला पर्न बाँकी रहेको बताइएको छ । 

सवारी दुर्घटना तथा ट्राफिक व्यवस्थापनतर्फ ९ वटा सवारी दुर्घटना (२ अटो, २ ट्याक्टर, १ बस, १ जिप र ३ मोटरसाइकल) मा परी ३ जनाको मृत्यु (१ महिला, २ पुरुष) र ५ जना घाइते (३ महिला, २ पुरुष) भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्ने २६३ वटा सवारी साधनबाट रु. २,३५,००० राजस्व संकलन गरिएको प्रहरी प्रमुख बम्मको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि २३४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी ४,४७३ जनालाई लाभान्वित गराइएको छ । 

समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत २९ शीर्षकमा ४१८ वटा कार्यक्रम (३५७ समुदाय केन्द्रित र ६१ विद्यालय केन्द्रित) सञ्चालन गरिएका उल्लेख छ । उक्त कार्यक्रम मार्फत १२,०५६ जना लाभान्वित भएका प्रतिवेदनमा छ । यस क्रममा २५ पटक गाँजा फँडानी गरिएको छ भने ‘छाउगोठ मुक्त अभियान’ अन्तर्गत १२ वटा छाउगोठ भत्काइएको र २६ वटा छाउपडी सम्बन्धी सचेतना कार्यक्रमबाट ७३१ जना लाभान्वित भएको प्रतिवेदनमा छ । 

विपद् व्यवस्थापनतर्फ पहलमान सिंह स्वार मार्ग, साँफे-जयगढ सडक, मध्यपहाडी लोकमार्ग र मंगलसेन-रामारोशन सडक खण्डमा आएको पहिरो हटाई अछाम प्रहरीले यातायात सहज बनाइएको थियो । गत भदौ ३ गते मंगलसेन-३ लाछिमानामा जंगली बदेलले ५ जनालाई घाइते बनाएपछि प्रहरीले तत्काल उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको पनि प्रतिवेदनमा पाइन्छ । 

नागरिक सेवालाई सहज बनाउन कार्यालयको प्रवेशद्वारमै नागरिक बडापत्र, नागरिक सहायक कक्ष, उजुरी पेटिका, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र र चौबिसै घण्टा १०० नम्बर सञ्चालनमा ल्याइएको छ । जिल्लामा हाल साइबर अपराध, लागुऔषध, बालविवाह, छाउपडी र आत्महत्या नियन्त्रण मुख्य चुनौतीका रूपमा अछाम प्रहरीको निष्कर्ष छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!