कांग्रेस (देउवा पक्ष) को जिल्ला अधिवेशन आज, नयाँ कार्यसमिति चयन गरिने

मंगलसेन । नेपाली कांग्रेसको (देउवा पक्ष) को जिल्ला अधिवेशन आज मंगलसेनमा हुने भएको छ । नवाैं जिल्ला अधिवेशनको उद्घाटन सत्र मंगलसेनस्थित खुलामञ्चमा दिउँसो १२ बजे सुरु हुने गरी तयारी गरिएको छ । पार्टीले अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री एनपी साउदले गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन सत्र खुलामञ्चमा सम्पन्न भएपछि बन्द सत्र सञ्चालन गरिनेछ । बन्द सत्रमा विभिन्न छलफलपछि नयाँ जिल्ला कार्यसमिति चयन गर्ने कार्यक्रम रहेको पार्टीले जनाएको छ । अधिवेशनले जिल्लामा पार्टीको आगामी संगठनात्मक नेतृत्व चयन गर्ने भएकाले यसलाई राजनीतिक तथा संगठनात्मक रूपमा चासोका साथ हेरिएको छ ।

अधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय तथा सुदूरपश्चिम प्रदेशस्तरीय नेताहरूको सहभागिता रहनेछ । उद्घाटन सत्रलाई पूर्वराज्य मन्त्री गोविन्दबहादुर शाह, सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री डा. रणबहादुर रावल र मेघराज खड्का, कांग्रेसका केन्द्रीय सदस्यहरू नृप वड लगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । केन्द्रीय तथा प्रदेशस्तरका नेताहरूको उपस्थितिले अधिवेशनलाई थप महत्व दिएको आयोजक पक्षको भनाइ छ ।

अधिवेशनमा सहभागी हुन पार्टीका अधिकांश नेता तथा कार्यकर्ता मंगलसेन पुगिसकेका छन् । केही नेता तथा कार्यकर्ता भने शुक्रबार बिहानसम्म आइपुग्ने अपेक्षा गरिएको छ । जिल्ला अधिवेशनमा सहभागी प्रतिनिधिहरूले नयाँ जिल्ला कार्यसमिति चयन गर्नेछन् । त्यसका लागि बन्द सत्रमा नेतृत्व चयनको प्रक्रिया अघि बढाइनेछ । नयाँ जिल्ला कार्यसमितिमा रहने पदाधिकारी तथा सदस्यहरूको चयन अधिवेशनको मुख्य कार्यसूची हुनेछ । नेतृत्व चयनसँगै जिल्लामा पार्टीको आगामी संगठनात्मक दिशा र गतिविधिले पनि नयाँ स्वरूप लिने अपेक्षा गरिएको छ ।

यसअघि नेपाली कांग्रेसले अछाम जिल्लाका ९१ वटै वडामा वडा अधिवेशन सम्पन्न गरी प्रतिनिधिहरू छनोट गरिसकेको छ । वडा तहको अधिवेशनबाट छनोट भएका प्रतिनिधिहरूको सहभागितामा जिल्ला अधिवेशन हुन लागेको हो । वडा अधिवेशन सम्पन्न भएपछि जिल्ला तहको नेतृत्व चयन प्रक्रिया अघि बढाइएको आयोजक पक्षले जनाएको छ ।

जिल्ला अधिवेशनले पार्टीको संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा आगामी राजनीतिक गतिविधिका लागि नेतृत्व चयन गर्नेछ । विशेषगरी जिल्लामा पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने र स्थानीय तहदेखि जिल्ला तहसम्मको समन्वय प्रभावकारी बनाउने जिम्मेवारी नयाँ कार्यसमितिमा रहनेछ ।

कांग्रेसभित्रको संगठनात्मक नेतृत्व चयनका दृष्टिले महत्वपूर्ण मानिएको यस अधिवेशनबाट नयाँ जिल्ला नेतृत्व चयन भएपछि पार्टीका आगामी गतिविधि कसरी अघि बढ्छन् भन्ने विषयमा पनि राजनीतिक वृत्तमा चासो रहने देखिन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!