सडक छेउका संरचना हटाउन मंगलसेन नगरपालिकाको तीन दिने ‘अल्टिमेटम’
मंगलसेन । सडकको स्तरोन्नती गर्ने भन्दै मंगलसेन नगरपालिकाले मंगलसेन बजारको मुख्य सडकका संरचना हटाउन भनेको छ ।
एक सूचना जारी गरेर मंगलसेन बजारको मुख्य बजार ग्लोबल आइएमइ बैंकदेखि अछाम क्याम्पससम्मको सडकको दायाँ र बायाँ रहेका संरचना हटाउन भनेको हो । उक्त सडक खण्डको बीच भागको चार मिटर दायाँ र चार मिटर बायाँ क्षेत्र भित्रका घर, पसल टहरा वा अन्य संरचना हटाउन भनेको हो ।
तीन दिनभित्र सम्बन्धित व्यक्तिले आफ्ना संरचनाहरुको सहजिकरण गरिदिन अनुरोध गरिएको सूचना नगरप्रमुख पदम बहादुर बोहराले जारी गर्नुभएको छ । तोकिएको समय तीन दिनभित्र सडकको क्षेत्राधिकार भित्रका संरचनाहरु नहटाइए नगरपालिकाले प्रचलित कानून बमोजिम संचरना हटाउने सूचनामा उल्लेख छ ।
उक्त सडक खण्डमा शहरी विकास तथा भवन निर्माण कार्यालय, डोटीबाट वस्ती विकास कार्यक्रम अन्तर्गत स्तरोउन्नती गरिने बताइएको छ । बजारको मुख्य भाग भएको उक्त सडक खण्ड नबनेको भन्दै चौतर्फी प्रश्न उठिरहेको छ ।