लाइसेन्स नभएका शिक्षक हटाउँदै मेल्लेख गाउँपालिका
मंगलसेन । मेल्लेख गाउँपालिकाले अध्यापन अनुमतिपत्र (लाइसेन्स) मा उत्तिर्ण नभएका शिक्षकहरूलाई निरन्तरता नदिने भएको छ । गाउँपालिकाको श्रोतबाट विभिन्न विद्यालयमा कार्यरत रहेर शिक्षक अध्यापन अनुमति पत्र नभएका शिक्षकहरुलाई हटाउने भएको हो । शिक्षण गरिरहेका शिक्षकहरुको अध्यापन अनुमतीपत्रको नतिजा आएपछि गाउँपालिकाले उत्तिर्ण भएकाहरु निरन्तरता गर्ने बताइएको छ ।
अनुमतिपत्र नभएर अध्यापन गराइरहेका अन्दाजी १०/१५ जना हट्न सक्ने गाउँपालिका शिक्षा शाखा प्रमुख विरेन्द्र खड्काले जानकारी दिनुभयाे । उहाँका अनुसार लाइसेन्स भएर विज्ञान शिक्षककाे नपाइने अवस्था रहेकाे छ । शिक्षणमा संलग्न भएर अध्यापन अनुमतिपत्रमा अनुत्तिर्ण भएका शिक्षकहरुलाई हटाएर नयाँ शिक्षक नियुक्ति गर्ने भनाइ गाउँपालिकाको रहेको छ ।
गाउँपालिकाले यसअघि नै अध्यापन अनुमतिपत्र नभएका शिक्षकलाई हटाउने र प्रक्रियागत रुपमा अध्यापन अनुमतिप्राप्त व्यक्तिलाई शिक्षक नियुक्त गर्ने निर्णय गरिसकेको छ । शिक्षक नियुक्तिमा सम्बन्धित तहको अध्यापनपत्र अनिवार्य हुनुपर्ने प्रावधान रहेको छ । अध्यापन अनुमतिपत्र विना शिक्षक नियुक्ति गर्न पाइदैन ।