श्रममन्त्री कुँवरद्वारा पहिरो पीडित क्षेत्रको निरीक्षण, राहत रकम र सामग्री वितरण
मंगलसेन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर पहिरोका कारण मृत्यु भएको स्थानको आइतबार निरीक्षण गर्नुभएको छ । मन्त्री कुँवरको टोलीले तुर्माखाँद गाउँपालिका–५ नाडा, कमलबजार नगरपालिका–६ वीरपथ र वडा नम्बर ८ डुँगालाका मृतक र घाइतेका आफन्तलाई घटनास्थलमै पुगेर निरीक्षण गर्नुभएको छ ।
निरीक्षणका क्रममा मृतकका परिवारलाई मन्त्री कुँवरले प्रतिव्यक्ति दशहजार रुपियाँ व्यक्तिगत रूपमा प्रदान गर्नुभएको छ । पीडित परिवारका लागि तत्कालका लािग ३८ थान त्रिपाल र ७५ थान कम्बल समेत हस्तान्तरणा गरिएकाे छ । पीडित पक्षसँगको भेटका क्रममा मन्त्री कुँवरले सरकारले खाद्यन्नलगायत अन्य सहयोगको प्रतिबद्धता गर्नुभएको छ
जिल्ला विपद् व्यवस्थापन समितिले मृतकका आफन्तलाई प्रतिपरिवार एक लाख रुपियाँ राहत स्वरुप वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी दिनुभयो ।
मन्त्री कुँवरसँगै सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना राज्यमन्त्री बलबहादुर सोडारी, प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीसहितको टोलीले पहिरोमा पुरिएर मृत्यु भएका स्थानको निरीक्षण गर्नुभएको हो ।
शुक्रबार राती घर माथिबाट आएको पहिरोमा परेर अछामका तीन स्थानीय तहका चार स्थानमा घर भत्किँदा २२ जनाको मृत्यु भएको छ । तुर्माखाँद गाउँपालिका–५ नाडामा दुई घरका नौ जना, कमलबजार नगरपालिका–६ वीरपथमा सात जना र वडा नम्बर ८ डुँगाला पाँच जना घरभित्रै पुरिएर मृत्यु भएको छ ।