स्वास्थ्यको समीक्षा प्रारम्भः आगामी वर्षको स्वास्थ्य योजना बनाइने

मंगलसेन । गएको आर्थिक वर्षमा सम्पन्न कामको समीक्ष र आगामी दिनको स्वास्थ्य रणनीति बनाउने गरेर अछामका स्थानीय तहले एक ठाउँमा बसेर बृहत छलफल शुरु भएको छ । स्वास्थ्य कार्यालय अछामको आयोजनामा यस्तो छलफल प्रारम्भ भएको हो । दुई दिनको समीक्षा कार्यक्रमको उद्घाटन कार्यक्रममा आगामी दिनमा अछामको स्वास्थ्य क्षेत्रको गुणस्तरीयता बढाउनका लागि केन्द्रित रहने भएको छ ।
मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले तीन तहका सरकार बीचमा प्रभावकारी समन्वय नहुँदा स्वास्थ्य क्षेत्रका सबै उपलब्धि हासिल गर्न नसकेकाे भनाइ राख्नुभयाे । तीनै तहका सरकारकाे समन्वयमा स्वास्थ्य क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नुपर्ने भनाइ छ । केन्द्र र प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय नगरेकोले अछामका अधिकाँस स्वास्थ्य संस्थाहरु समस्यामा गुज्रिरहेको बताउनुभयो ।
स्वास्थ्य कार्यालय अछामको हलमा भएको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति अछामका कार्यावाहक प्रमुख पूर्णबहादुर रावलले स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा स्वास्थ्यकर्मीले लापरबाही गर्न नहुने बताउनुभएको छ । अहिले पनि जिल्लाका केही ठाउँमा स्वास्थ्यकर्मी जिम्मेवार नभएको गुनासो बढिरहेकाले यसतर्फ ध्यान दिन स्वास्थ्यकर्मीलाई सुझाव दिनुभएको छ । आफ्नै वडामा आफुले केही दिन अघि यस्तै समस्या भोगेको भन्दै रावलले आगामी दिनमा यस्ता कमीकमजोरी नगर्न अनुरोधगर्नुभयो ।
स्वास्थ्य संस्थामा आवश्यक उपकरण नहुनु, दक्ष जनशिक्तको अभाव हुनु लगायतका कारणले गुणस्तरीय स्वास्थ्य सेवा दिन चुनौती थपिएको कार्यालयका प्रमुख झनकराज ढुंगानाको भनाई छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत रहनुभएका ढुंगानाले पछिल्लो समयमा अछाममा सर्ने भन्दा नसर्ने रोग र मानसिक समस्याको कारणले मृत्युदर बढिरहेको बताउनुभएको छ ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजाल, अछामका प्रहरी प्रमुख नारायण डाँगी, पत्रकार महासंघ अछामका सल्लाहकार तथा गाेरखापत्रकर्मी शिवराज ढुंगानाले सुझाव मन्तव्य राख्नुभएको थियो । गोष्ठीमा विभिन्न गैर सरकारी तथा संघ संस्थाका प्रमुख एवम प्रतिनिधि, अछामका १० वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी, पत्रकारको सहभागिता छ।
पहिलो दिन कमलबजार नगरपालिका, चौरपाटी गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, मंगलसेन नगरपालिका, मेल्लेख गाउँपालिका, र रामारोशन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुखहरुले आ-आफ्नो स्थानीय तहमा भएकाे प्रगतिहरुको समीक्षासहित प्रस्तुतिकरण गरेका छन् । आगामी दिनमा जिल्लाको स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने कामहरुको बारेमा योजना निर्माण गरिने जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले जानकारी दिनुभएको छ ।