पहिरोमा पुरिएका २२ वटै शव निकालेर सनाखत

शिवराज ढुंगाना, अछाम । अविरल वर्षाका कारण पहिरोले घर भत्किएर पुरिएका २२ जना सबैको शव निकालिएको छ । आइतबार बिहान तुर्माखाँदका १३ वर्षीय सून्दर शाहीको शव भेटिएसँगै एकै रातमा पहिरोका कारण २२ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
शुक्रबार चार स्थानमा भएको घटनामा शनिबार दिनभर र आइतबार बिहान गरेर स्थानीय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रियतामा २२ वटा शव निकालिएको जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत मिनराज आचार्यले जानकारी दिनुभयो ।
घर माथिबाट आएको पहिरोले घर पुरिँदा तुर्माखाँद गाउँपालिका–५ नाडामा नौ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै कमलबजार नगरपालिका–६ वीरपथमा सात जना र सोही नगरपालिका–८ डुँगालामा पाँच जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ ।
नाडामा ४५ वर्षीय नेत्र शाही, ३५ वर्षीया मनिषा शाही, १७ वर्षीया विमला शाही, १६ वर्षीया जानकी शाही, १७ वर्षीया कल्पना शाही, एक वर्षीया करिष्मा शाही, १३ वर्षीया सुन्दर शाही, २० वर्षीया भावना शाही र ३ वर्षीया नेलिना शाहीको मृत्यु भएको पुष्टि भएको छ । शुक्रबार राती करिब तीन बजेतिर घर माथिबाट पहिरोले नेत्रबहादुर शाही र रितबहादुर शाहीको घर भत्किएपछि दुई घरका नौ जनाको ज्यान गएको स्थानीय जनकबहादुर शाहीले जानकारी दिनुभयो ।
यस्तै कमलबजार नगरपालिका–६ विरपथमा इन्द्र परियार घर पहिरोले पुरिँदा ३० वर्षीया अमृता कामी, १७ वर्षीया समीता कामी, २१ वर्षीया अर्धना कामी, नौ वर्षीय निखिल कामी, ३६ वर्षीया मैनकला कामी, १५ वर्षीया गीता कामी, १२ वर्षीया सिरु कामीको मृत्यु भएको पुष्टि भएको छ । 
यस्तै कमलबजार नगरपालिका–८ डुँगालामा थिरे दमाईको घर भत्केर २६ वर्षीय गंगे दमाई, २३ वर्षीया भना दमाई, सात वर्षीया डिक्रा दमाई, चार वर्षीया कल्पना दमाई र तीन वर्षीया सृष्टी दमाईको मृत्यु भएको पुष्टि भएको छ । यस्तै शनिबार नै ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा पहिरोले घर पुरिएर दुई वर्षीया नविन बुढाको मृत्यु भएको थियो । घटनामा ६५ वर्षीय हर्क बुढा, २५ वर्षीय चन्द्रादेवी बुढा, १२ वर्षीया धर्म बुढा जना गम्भीर घाइते भएपछि उद्धार गरेर हेलिकप्टरमार्फत सुर्खेत पुर्याइएको छ । सोही गाउँपालिका–१ ढकारीमा खोलाले बगाउँदा मोती बुढा जैसी वेपत्ता अवस्थामै रहेको र खोजि भइरहेको बताइएको छ ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page