इजरायलले थप एकहजार नेपाली कामदार लैजाने
काठमाण्डाै । इजरायलले थप एकहजार नेपाली कामदार लैजाने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर र इजरायलका राजदूत खनान गोदेरबीच शिष्टाचार भेटवार्तामा यसबारे छलफल भएको हो ।
राजदूत गोदेर मन्त्री कुँवरलाई भेट्न सोमबार मन्त्रालय आएका थिए । उनीहरुबीच विशेष गरी दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको छ ।
छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आइतबार मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषि कामका लागि लैजाने विषयमा टुंगो लगाएको जानकारी गराए ।
त्यस्तै उनले यसअघि सहायक कामदारका लागि ९ हजार ६९९ जनाले निवेदन दिएकोमा १ हजार १४७ जना कामदार छनोट भएर इजरायल जाने तयारीमा रहेको पनि जानकारी गराएका थिए ।