Palika dasin suvakamana

नेकपा एमालेका १०१ समस्या

Palika dasin suvakamana

हरि ज्ञवाली
नेकपा एमालेले कोशी प्रदेशमा पनि आफ्नो नेतृत्वको सरकारलाई बचाउन सकेन । संघ र सातवटै प्रदेश सरकारबाट अब एमाले पूर्णतः बाहिरिएको छ । आफ्नो वर्चस्व गुमाउँदा-गुमाउँदै यतिखेर एमाले सर्वत्र प्रतिपक्षमा धकेलिन बाध्य भएको छ ।

केही वर्षयता शृङ्खलाबद्ध रूपमा पराजय भोग्दै आएको नेकपा एमालेले आफ्नो दुई महिने मिसन ग्रासरुट अभियान मार्फत पार्टीभित्रका समस्या खोतल्ने प्रयास गर्‍यो । उक्त ग्रासरुट अभियान मार्फत आफ्ना पार्टीमा तमाम समस्या रहेको निष्कर्ष एमालेले आफ्नो अन्तरपार्टी निर्देशिका (अपानि) मा पनि उल्लेख गरेको छ ।
आम कार्यकर्ता र जनसमुदायका नजरमा एमालेभित्र हाल थुप्रै सैद्धान्तिक, सांगठनिक, प्रवृत्तिगत र राजनीतिक समस्या देखिन्छन् । ती समस्या समाधान नभए एमाले पार्टीले आगामी निर्वाचनमा अझ बढी क्षति व्यहोर्नुपर्ने संभावना प्रबल छ । एमालेका ती तमाम समस्यालाई बुँदागत रूपमा यसरी उल्लेख गर्न सकिन्छ ।

सैद्धान्तिक र वैचारिक समस्या

१. पार्टीको मार्गनिर्देशक सिद्धान्त (मार्क्सवाद-लेनिनवाद र जनताको बहुदलीय जनवाद) को सटिक र सारभूत व्याख्या एवम् विश्लेषण गर्न कतिपय केन्द्री य नेताहरू नै सक्षम छैनन् ।

२. नेतृत्वबाट अचानक गरिने निर्णय, फेरिने समीकरण र नयाँ परिस्थितिले आफ्नो पार्टीको मुख्य उद्देश्य, लक्ष्य, रणनीति र कार्यनीतिका बारेमा नेताहरू नै अलमल र अनभिज्ञ हुनुपर्ने परिस्थिति छ ।

३. पार्टी सदस्य र धेरैजसो नेताहरूलाई पार्टीको सैद्धान्तिक र नीतिगत कार्यक्रमबारे स्पष्ट जानकारी छैन ।

४. सबैजसो नेता-कार्यकर्तामा कम्युनिस्ट आचरण, विचार, सिद्धान्त र व्यवहारको आदर्श समाप्त हुँदै गएको छ ।

५. कम्युनिस्ट सिद्धान्त, क्रान्तिकारी स्पिरिट, ऊर्जा अनि नागरिकका समस्याको चिन्तन हराउँदै गएको छ ।

६. पार्टीमा दक्षिणपन्थी अवसरवाद, संंकीर्णतावाद, व्यक्तिवाद र अवसरवाद विरुद्धको संघर्ष लोप भइसकेको छ ।

७. पार्टी प्रशिक्षण, भेला र बैठकहरू नियमित रूपमा नहुँदा पार्टी पंक्तिमा संगठनात्मक अराजकता, अनुशासनहीनता, विकृति र बेथिति बढेका छन् ।

८. नीतिगत र वैचारिक चेतना स्तर खस्किंंदै गएकोले नयाँ परिस्थितिका चुनौतीको सामना गर्न पार्टीपंक्ति अक्षम देखिएको छ ।

९. नयाँ पुस्तामा दर्शन, राजनीतिक अर्थशास्त्र, वर्ग संघर्षको सिद्धान्त, इतिहास र नेपाली समाज तथा संस्कृतिका बारेमा चासो राख्ने र अध्ययन गर्ने बानी देखिंदैन ।

१०. अध्ययनभन्दा आमसञ्चार र सामाजिक सञ्जालमा बढी हेरिने र सुनिने विषयबाट नयाँ पुस्ता प्रभावित हुने र दिग्भ्रमित हुने प्रवृत्ति व्यापक छ ।

११. पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान हासिल गर्ने प्रवृत्तिमा ह्रास आएको छ ।

१२. अध्ययन र प्रशिक्षणको कमी, बैठकमा आलोचना-आत्मालोचनाको अभावमा पार्टीमा गुटबन्दी र अस्वस्थ प्रतिस्पर्धा झाँगिंदै गएको छ ।

१३. पार्टीमा दक्षिणपन्थी अवसरवाद, सामन्तवादी चिन्तन र दलाल पूँजीवादी प्रवृत्ति हावी भएको छ ।

१४. पार्टीको विचार र सिद्धान्तमा चासो कम रहेका कारण अनुशासनहीनता र संगठनात्मक अराजकता मौलाएको छ ।

१५. जनसङ्गठनहरूलाई सङ्गठनात्मक स्वायत्तता र पार्टीको वैचारिक नेतृत्वका आधारमा सञ्चालन गर्ने कुरामा कमीे छ ।

१६. अधिकांश नेता आफ्नो सिद्धान्त, आदर्श, विचार र व्यवहारबाट निरन्तर स्खलित भइरहेका छन् ।

१७. पार्टीभित्र देखापरेका असन्तुष्टि र अन्तर्विरोधको समाधानमा समुचित ध्यान पुगेको छैन ।

१८. नेता कार्यकर्ताको योगदान, कामको समीक्षा र मूल्यांकन संस्थागत रूपमा हुन छोडेको छ ।

१९. कतिपय नेताका व्यवहार र शैलीका कारण कार्यकर्ता र आम जनतामा असन्तुष्टि पैदा भएको छ ।

२०. केही नेताहरूको राजनीतिक स्वार्थ र व्यवस्थापनका लागि विधान परिवर्तन गर्ने र अचानक निर्णय गर्ने प्रवृत्ति देखिन्छ ।

२१. समाजवादको आधार निर्माण गर्ने पार्टीको राजनीतिक कार्यदिशासँग जनप्रतिनिधिको भूमिकालाई जोड्न सकेको पाइँदैन ।

२२. पुराना कार्यकर्ता र नवप्रवेशीहरूको जिम्मेवारीमा सन्तुलन मिलाउन सकेको देखिंदैन ।

२३. पार्टी प्रवेश गर्नेहरूलाई अचानक नयाँ जिम्मेवारी दिने कुराले पुराना नेता कार्यकर्तामा असन्तुष्टि छाएको छ ।

२४. निर्वाचनमा उम्मेदवारी छनोटका आधारहरूबारे स्पष्ट नीति बनाइँदैन । नेतृत्वको चाकरी र पैसाका आधारमा उम्मेदवार तोकिएका तमाम उदाहरण छन् ।

२५. कम्युनिस्ट पार्टीका आधारभूत वर्ग मानिने सर्वहारा वर्ग, मजदुर, गरिब, विपन्न तथा किसानको समस्याका बारेको आन्दोलन, चिन्तन र चासो न्यून हुँदै गएको छ ।

सांगठनिक समस्या

१. धेरैजसो स्थानमा पार्टीका नियमित काम (बैठक, छलफल, अधिवेशन) हुन नसकेकाले पार्टी लथालिंग र भताभुंग अवस्थामा छ ।

२. नयाँ सदस्यता वितरण, नवीकरण, लेबी सङ्कलन, भेला प्रशिक्षण जस्ता कामहरू चुस्तदुरुस्त र प्रभावकारी भएका छैनन् । सदस्यताको महत्व बुझ्ने-बुझाउने कुरामा कमी रहेको छ ।

३. प्रदेश, जिल्ला र नगर कमिटीहरूको संख्या अत्यधिक छ , कमिटी भद्दा र भऽगोल छन् । नियमित बैठक समेत बस्न नसकेको अवस्था छ ।

४. पार्टी कमिटीहरू विधान अनुसार चल्न सकेका छैनन् । विकसित नयाँ परिस्थिति र केन्द्रित निर्देशनका नाममा पार्टी विधान पटक-पटक मिचिंदै गएको छ ।

५. धेरैजसो पार्टी कार्यालयहरू व्यवस्थित देखिंदैनन्, सूचना र अभिलेख चुस्तदुरुस्त र समसामयिक छैनन् ।

६. पार्टी कार्यालयहरूमा पार्टीका नीति-कार्यक्रम र सिद्धान्तका चिन्तन र छलफलभन्दा पनि व्यक्तिगत व्यवसाय, घरजग्गा कारोबार र दलालीकरणका गफ हुने गरेका छन् ।

७. प्रशिक्षण र मापदण्ड विना नै पार्टी सदस्यता वितरण गर्दा पार्टीमा अराजकता बढेको छ ।

८. सिंगो पार्टी संगठन जनमुखी र कार्यकर्तामुखी हुनुपर्नेमा केन्द्र र फगत नेतामुखी भएको छ ।

९. कमिटी तथा संगठन निर्माणमा योग्य, लगनशील, क्षमतावान् र लोकप्रिय व्यक्तिभन्दा अमूक-अमूक नेताका प्रिय व्यक्तिहरू चयन हुने गरेका छन् ।

१०. संगठनको माथिदेखि तलसम्म व्यक्तिगत स्वार्थ, अवसरवाद, सामन्तवादी चिन्तन र दलाल पूँजीवादी प्रवृत्ति झाङ्गदिै गएको छ ।

११. माथिल्लो कमिटीबाट अतिथि बन्नेको संख्या अधिक हुँदा आसनग्रहणको लिस्ट लामो र पट्यारलाग्दो भएको छ र कार्यकर्ताभन्दा नेता हुनेको संख्या बढी छ । कामभन्दा भाषण मात्र सुनाउने प्रवृत्ति सर्वत्र छ ।

१२. सम्भावनायुक्त नेताहरूको खोजी -लिडरसिप हन्ट) गर्न र त्यस्ता व्यक्तिहरूलाई योजनाबद्ध रूपमा नेतृत्वमा विकास गर्न समुचित ध्यान पुगेको देखिंदैन ।

१३. भ्रातृ संगठनहरूलाई संगठनात्मक स्वायत्तता दिइएको छैन र पार्टीको वैचारिक नेतृत्वका आधारमा सञ्चालन गर्ने कुराको अभाव छ ।

१४. भूगोलका पार्टी कमिटी र सम्पर्क, विशेष प्रदेश या जनसंगठनको कामको क्षेत्रबीच समुचित समन्वय पाइँदैन ।

१५. कमिटी सदस्यबीच मित्रवत् सम्बन्ध र आन्तरिक एकता देखिंदैन, अविश्वास, छुऽ प्रतिस्पर्धा र गुटगत व्यवहार र षड्यन्त्र बढ्दो छ ।

१६. कतिपय कमिटीको नेतृत्वमा कमिटी परिचालन, जनसम्पर्क विस्तार, समन्वय सीपको अभाव रहेको देखिन्छ ।

१७. पार्टी कमिटी, कार्यकर्ता र जनप्रतिनिधिबीच दूरी बढेको छ, आपसमा समन्वय हुनसकेको छैन ।

१८. पार्टी नेता र कार्यकर्ताबीच कमरेडी भावना हराएको छ, नेतामा अहं बढेको छ, कार्यकर्ता दास जस्तै बनेका छन् ।

१९. पार्टी नेताहरूमा नैतिकता, अनुशासन र आदर्श कमजोर भएको छ । फगत व्यक्तिगत स्वार्थ र पैसा कमाउनमा उनीहरू केन्द्रित हुँदै गएका छन् ।

२०. पार्टीमा योगदान गरेका, योग्यता र क्षमता भएकालाई भन्दा नेताहरूको चाकरी गर्नेहरूलाई अवसर दिने गरिएको छ ।

२१. नेताहरूको सामाजिक दायित्व र काममा संलग्नता घट्दै गएको छ, पार्टी नेता र जनताबीचको सम्बन्ध चिसिएको छ ।

२२. पार्टीभित्र देखापरेका असन्तुष्टि र अन्तरविरोधको समाधानमा समुचित ध्यान पुगेको छैन ।

२३. महिला, दलित, जनजाति, मधेशी, दुर्गम क्षेत्र, अपाङ्गता भएका व्यक्ति लगायतलाई नेतृत्वमा पर्याप्त मात्रामा समेट्न सकेको छैन ।

२४. हिजोका अप्ठेरा दिनहरूमा पार्टीलाई बचाउने, संगठन गर्ने र जनताबीच स्थापित नेता-कार्यकर्ताले न चुनावमा टिकट पाउन सक्छन् न त जित्ने अवस्था नै छ ।

२५. कतिपय जनप्रतिनिधि पार्टी कमिटीको मातहत हुन नचाहने र कतिपय निर्वाचित प्रतिनिधिले पार्टीका कार्यकारी पद समेतको दोहोरो भूमिकामा रहने कुराले पार्टी कमिटी र जनप्रतिनिधिबीच दूरी बढेको छ ।

प्रवृत्ति र व्यवहारगत समस्या

१. पार्टीका असली संगठक, लगनशील, प्रतिबद्ध र इमानदार कार्यकर्ताहरू पछि पारिएका छन् । गुन्डा, डन, दलाल र अवसरवादीहरू पार्टीमा हावी भएका छन् ।

२. सादा जीवन उच्च विचारको आदर्श कमजोर हुँदै गएको छ, नेता कार्यकर्ताको जीवनशैली, व्यवहार र आचरणका बारेमा आम जनतामा तमाम गुनासा र असन्तुष्टि बढ्दा छन् ।

३. आम जनता र कार्यकर्ताको जीवनस्तर जस्ताको त्यस्तै छ तर हिजो जनताले पालेका र संरक्षण दिएका नेताहरूको जीवनस्तर र आर्थिक अवस्था एक्कासि चुलिएको छ ।

४. विगतमा सर्वहारा भनिएका कतिपय नेताहरूको हालको अकुत सम्पत्ति र आर्थिक स्रोतबारे सोधपुछ र खोजबिन गर्ने शक्तिशाली निकाय र संयन्त्र पार्टीमा देखिंदैन ।

५. अधिकांश नेतामा सरल र व्यावहारिक शैली पाइँदैन, कार्यकर्तासँग रूखो व्यवहार देखाउने, आफूले सम्मान खोज्ने तर अरूलाई उचित सम्मान नगर्ने प्रवृत्ति बढेको छ ।

६. कतिपय नेताले दलालहरूसँग साँठगाँठ गर्ने, अवैध धन्दा गर्ने, कमिशन र भ्रष्टाचारमा लिप्त हुँदा पार्टीलाई नै बदनाम गराएका छन् ।

७. फिल्डमा काम गर्ने कार्यकर्ताको तुलनामा नेतृत्वको चाकरी गर्ने र उनीहरूकै आसपास रहनेले नै पद र अवसर बढी पाएका छन् ।

८. पार्टीमा अस्वस्थ प्रतिस्पर्धा बढेको छ, प्राप्त जिम्मेवारी बहन नगर्ने तर अनावश्यक तर्क र अरूको कुरा काट्ने प्रवृत्ति बढेको छ ।

९. निर्वाचनमा आफू उम्मेदवार भए पार्टीको उम्मेदवार, अरू भए नातावाद कृपावादबाट उम्मेदवारी पाएको भन्दै आरोप लगाउने प्रवृत्ति र व्यक्तिवादी-अहंकारी सोच बढेको छ ।

१०. पार्टीका निर्देशन र कार्यक्रमबारे सार्वजनिक रूपमै टीकाटिप्पणी गर्ने, निर्णय कार्यान्वयन सुरु नै नगरी आलोचना र स्व-विश्लेषण गर्ने प्रचलन बढेको छ ।

११. पार्टीमा काम गर्नुभन्दा संसदीय फाँटमा जानका लागि मरिहत्ते गर्ने प्रवृत्तिले सिंगो पार्टीमा अराजकता र विकृति सिर्जना गरेको छ ।

१२. पार्टीबाट निर्वाचित धेरैजसो जनप्रतिनिधि पार्टीको निर्देशन र अनुगमनभन्दा बाहिर गएका छन् । पार्टी कमिटी, कार्यकर्ता र जनप्रतिनिधिबीच उचित समन्वय नहुँदा भावनात्मक दूरी बढेको छ ।

१३. काम र जिम्मेवारी पूरा नगर्ने मञ्च र सम्मान मात्र खोज्ने प्रवृत्ति सबैजसो नेतामा छ ।

१४. पार्टीमा गल्ती गर्दा कारबाही भोग्नुपर्ने र राम्रो काम गर्दा पुरस्कृत हुने परिपाटी छैन ।

१५. जनप्रतिनिधि र पार्टीबीचको सम्बन्ध नहुँदा कार्यकर्ताले जनप्रतिनिधिहरूको कार्यशैलीबारे नकारात्मक टिप्पणी गर्नुपर्ने अवस्था छ ।

१६. युवाहरूलाई समेट्दा आफ्नो वर्चस्व गुम्ने त्रासमा नेतृत्वमा रहेकाहरूले नै युवाहरूलाई अनेकन् बहानामा रोकिरहेका छन् ।

१७. पार्टी नेतृत्व, कार्यकर्ता र आम नागरिकबीचको आत्मीयता र अन्तरसम्बन्ध टुट्दै गएको छ ।

१८. विचारधारात्मक काममा कमी देखिएको छ, अधिकांश नेता/कार्यकर्तामा पार्टीका विचार र सिद्धान्तप्रति चासो कम देखिन्छ ।

१९. कतिपय सदस्यले आफ्नो विज्ञता र क्षमता अनुरूप उपयुक्त जिम्मवारी नपाउँदा असन्तोष बढेको छ ।

२०. जिम्मेवारी पाउने धेरैजसो व्यक्तिले आफ्नो जिम्मेवारी र काम पूर्णरूपमा सम्पन्न गर्न सकेको पाइँदैन ।

२१. एकै व्यक्तिलाई संसदीय फाँट र पार्टीको संगठनको जिम्मेवारी दिंदा पार्टीपंक्तिमा असन्तुष्टि पैदा भएको छ ।

२२. वडा कमिटीका बैठकहरू नियमित भएका छैनन् । वडा तथा टोलमा बैठकका एजेण्डा बनाउने कुरामा अन्योल देखिएको छ ।

२३. अधिकांश जनवर्गीय संगठनहरू लामो समयदेखि निष्त्रिmय छन् । तिनले विगतमा जस्तो जनताको हित र अधिकारका पक्षमा संघर्ष चलाएको पाइँदैन ।

२४. पार्टीको प्रचार-प्रसार शैली पुुरानै र परम्परागत छ । सामाजिक सञ्जाल लगायत आधुनिक सञ्चारको प्रभावकारी उपयोगमा कमी देखिन्छ ।

२५. पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्ने अभियानमा तदारुकता देखिंदैन ।

संसदीय र राजनीतिक समस्या

१. केही वर्षयता पार्टी शृङ्खलाबद्ध रूपमा हार र पराजय भोग्दै संघ र सातवटै प्रदेश सरकारबाट पूर्णतः बाहिरिंदा पनि नेतृत्व संवेदनशील बन्न सकेको छैन ।

२. आफैं नेतृत्वमा हुँदा समेत समन्वयकारी भूमिका निभाउन नसक्दा आफ्नो सरकारलाई बचाउन सकेको छैन ।

३. अन्य पार्टी तथा निकायसँग उचित कूटनीतिक पहल र रणनीतिक समन्वय गर्न नसक्दा चारैतिरबाट एक्लिंदै गएको छ ।

४. आफ्नो नेतृत्व गुमाउँदा गुमाउँदै सर्वत्र विपक्षमा धकेलिंदा पनि विपक्षी गठबन्धनलाई तोड्न सकेको छैन ।

५. चौतर्फी घेराबन्दीका कारण सबैतिर प्रतिपक्षमा पुगिसक्दा पनि पार्टी नेतृत्वको कार्यशैली र अभिव्यक्तिमा कुनै परिवर्तन देखिंदैन ।

६. नेकपा भंग, पार्टी विभाजन, संघीय र प्रदेश सरकारबाट बहिर्गमनको कारण अझै पहिल्याउन सकेको छैन ।

७. देशका कतिपय बौद्धिक जगत र प्रबुद्ध वर्ग एमाले नेतृत्वसँग चिढिएका कारण उनीहरूको साथ, समर्थन र सद्भाव पाउन सकेको छैन ।

८. निर्वाचनमा उम्मेदवार चयन गर्दा क्षमता, इमानदारी, पार्टीप्रतिको त्याग र निरन्तरताका आधारमा भन्दा केन्द्रको हस्तक्षेप भएपछि स्थानीय स्तरमा असन्तुष्टि र अन्तरविरोध बढेको छ ।

९. सामन्तवादी, पूँजीपति, दलाल, कमिसनखोर, अवसरवादीहरूकै अनुकूल र स्वार्थअनुरूप पार्टीका गतिविधि सञ्चालन हुन थालेका छन् ।

१०. स्थानीय तह र संघीय निर्वाचनमा पार्टीभित्र भएका घात-अन्तर्घातका घटनाबारे ठोस निष्कर्ष निकालेर दोषीलाई कारबाही गर्ने परिपाटीको विकास हुनसकेकोे छैन ।

११. निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको चुनावी घोषणापत्र, नीति र कार्यक्रमअनुसार सञ्चालन गर्न सकेको देखिंदैन ।

१२. निर्वाचनमा गरिएको प्रतिबद्धता कार्यान्वयन हुनसकेको छैन । धेरैजसो जनप्रतिनिधि सेवक नभई शासक र छाडा जस्तै बनेका छन् ।

१३. कतिपय नेताको आचरण, नैतिकता, व्यवहार कार्यक्षमतामा नै प्रश्न उठिरहँदा पनि नेतृत्व मौन बसिदिंदा कार्यकर्तामा असन्तोष र निराशा छाएको छ ।

१४. सामाजिक संघ-संगठनमा समेत एमालेले आफ्नो नेतृत्व कायम गर्न सकेन, जनजीविकाका सवालमा पर्याप्त सक्रियता र संवेदनशीलता हराउँदै गएको छ ।

१५. पार्टीका जनप्रतिनिधिहरूका निर्णय वा पहलमा हुने विकास निर्माणका काममा पार्टी कार्यकर्ताको सहभागिता न्यून हुँदा पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरूको सामाजिक सम्पर्क र सम्बन्ध कमजोर हुँदै गएको छ ।

१६. विगतमा जिम्मेवारी पाएका र लाभको पदमा रहेका कतिपयले नै थप अवसरका लागि मरिहत्ते गर्ने र नपाउँदा उनीहरूले नै बढी गुनासो गर्ने र असहयोग गर्ने प्रवृत्ति व्यापक छ ।

१७. कतिपयले तथानाम जिम्मेवारी पाउने तर कतिपयले कुनै जिम्मेवारी नै नपाउँदा असन्तुष्टि र निराशा बढेको छ ।

१८. पार्टीका कतिपय जनप्रतिनिधिले गरेका जनमुखी कामको प्रभावकारी प्रचारप्रसार हुन नसक्दा त्यसको स्वामित्व अर्कैले ग्रहण गर्ने गरेको अवस्था छ ।

१९. जनता, जनप्रतिनिधि र पार्टी कमिटी तथा पार्टी नेताहरूबीच अन्तरसम्बन्ध विकसित हुनसकेको छैन ।

२०. पार्टी संरचनामा पाका उमेर समूह र युवा उमेर समूहका नेता/कार्यकर्ताको विचार र शैलीमा सन्तुलन देखिंदैन ।

२१. नयाँ र युवा पुस्तामा एमालेप्रति कत्ति पनि आकर्षण छैन, स्वतन्त्र र नयाँ पार्टीमा जाने लहर बढ्दो छ ।

२२. एमालेको दोस्रो पुस्ताले त्यति प्रभावकारी भूमिका निभाएको पाइँदैन या त यो पुस्ता नेतृत्वमा जानका लागि फगत चाकरीमा तल्लीन छ, या त उसमा क्षमता नै छैन ।

२३. पार्टी र जनसंगठनका विभिन्न कमिटीमा दोहोरो जिम्मेवारी लिने तर दुवैतिर जिम्मेवारी पूरा नगर्ने प्रवृत्ति व्यापक छ ।

२४. पार्टीले जिताएका कतिपय जनप्रतिनिधिहरूको कामकारबाही सन्तोषजनक छैन, पार्टी र जनताको हितमा देखिंदैन ।

२५. माओवादीसँग तमाम सैद्धान्तिक, वैचारिक, सांंगठनिक र नीतिगत भिन्नता हुँदाहुँदै अप्रत्यासित रूपमा पार्टी एकीकरण गरेपछि पार्टीमा सांगठनिक अलमल, सुस्तता र अराजकता बढेको छ ।

२६. सबैजसो नेता-कार्यकर्ताहरू पार्टी र संगठनको काममा भन्दा नेतृत्व वर्गको आसपास रहने र चाकरी-चाप्लुसी गरी नेता बन्ने ध्याउन्नमा लाग्दा पार्टीका काम लथालिङ्ग र भताभुङ्ग बनेका छन् ।

यी र यस्तै तमाम समस्याका कारण नेकपा एमाले शृङ्खलाबद्ध रूपमा कमजोर बनिरहेको छ । समस्या समाधानमा तत्काल केन्द्रित नहुने हो भने एमालेको आगामी राजनीतिक यात्रा अझ कठिन हुने देखिन्छ । नेतृत्व वर्ग सचेत, संवेदनशील र गम्भीर बनोस् ।

अनलाइनखबर डटकमबाट साभार

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page