देश दर्शनः पुष्पलाल मार्गको यात्राका सम्झना
शिवराज ढुंगाना । मंसिरको २ गते । काठमाडौंको बसाइको अन्तिम साँझ । पछिल्लो दिन त्रिभुवन विश्वविद्यालयमा काम सक्नुपर्ने हतार उस्तै । अनि बिहान दक्षिणकाली जाने र त्यहीँबाट फर्केर त्रिभुवन विश्वविद्यालय पुग्ने योजना बन्यो । योजना अनुसारै मंसिर ३ गते क्याम्पसका कागजात बोकेर बिहान ७ बजेतिर दक्षिणकाली हानियौं ।

मन्दिरबाट फर्केर त्रिभुवन विश्वविद्यालय लक्षित गरेर हुइक्यौं । फर्किदै गर्दा पूर्वसभामुख दमनाथ ढुंगानाको निधनमा सरकारले सार्वजनिक बिदा घोषणा गरिसकेको थियो । तर पनि कोही हुनुहुन्छ कि भनेर १०ः३० तिर व्यवस्थापन संकायको डीन कार्यालयतिर पस्यौं । बाहिरतिर रहेका सुरक्षाकर्मीले आज बिदा भयो कोही आउनुभएको छैन भन्ने प्रतिक्रियाले फर्कियौं । त्यसपछि उपकुलपति कार्यालयमा गएर सोध्यौं, उतापनि त्यस्तै आवाज सुन्यौं । अनि काठमाडौ छाड्ने गरेर सुन्धारातिर हानियौं । सुन्धरामा खाना आएर फर्किने बेलामा अर्पझट यात्रा तय भयो पुष्पलाल (मध्यपहाडी) लोकमार्ग भएर अछाम फर्किने । सामुहिक प्रस्तावमा सबैको एकमत भयो ।
मंगलसेन नगरपालिका प्रमुख तथा अछाम बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष पदम बहादुर बोहरा, उपाध्यक्ष यज्ञराज ढुंगाना, क्याम्पस प्रमुख डा. ध्रुव कुमार शाही, निवर्तमान क्याम्पस प्रमुख छत्र बहादुर विष्ट र म गरेर पाँचै जना काठमाडौं छाड्ने भयौ । होटलका कोमा रहेका झोलाझम्टी निकालेर करिब १ बजे सुन्धाराबाट हाम्रो यात्रा शुरु भयो । यज्ञ दाई नेपालगञ्ज जानुपर्ने भएकोले विमानस्थलतिर लाग्नुभयो । हामी पोखरा बास बस्ने गरेर मोटरमा निस्क्यौं । नागढुंगाा पुगेपछि तनहुँका मेरा मित्र प्रकाशचन्द्र भट्टराईलाई मुग्लिन–पोखरा सडक निर्माण र मोटरको समयका बारेमा बुझ्न फोन गरेँ । सडक र समयका बारेमा प्रकाशचन्द्रले बेलीविस्तार लाउनुभयो । अनि उहाँले बन्दीपुर बास बस्न हामीलाई सल्लाह दिनुभयो । बन्दीपुर पुरानो सदरमुकाम, पुराना घर र पर्यटकीय स्थान भनेर मैले सुनेको पनि थिएँ । मेरो काकाको छोरा कृष्ण भाई बन्दीपुरको बैंकमा केही वर्ष काम गर्दाखेरि त्यहाँको सुन्दरता बारेमा कुरा गरेको थियो । मन त त्यतैतिर बस्ने लोभ्भियो ।

बेलुकी करिब ५ः३० बजेतिर मुग्लिन पुल तरेपछि तनहुँको सडकबाट उकालोतिर लाग्यौ । अध्याँरो साँझ अनि सडक छेउका बजारले मन चंगा बनाइरहेको थियो । सडक र छेउका बस्तीसँगैका बजार, पक्की सडकसँगै बिजुलीको उज्यालोपनले हामीलाई हौस्याइरहेको थियो । १४ वर्षदेखि म पोखरा भएर मुग्लिन हुँदै काठमाण्डौ पुग्दा र अहिलेको सडक विकराल फरक थियो । त्यहाँको निर्माणाधीन पक्की सडक र हाम्रो नियमित हिड्ने कर्णाली राजमार्गको तुलना गर्दै थियौ । बन्दीपुर मूल सडकबाट केही माथि जानुपर्ने भएकोले हामीले त्यसलाई पछ्याउन सकेका रहेन छौं । अनि हाम्रो मोटर केही अगाडि पुगिसक्दा नफर्कने भनेर दमौली बस्ने सल्लाहमा सहमति भयो । अनि एकरात दमौलीको सिद्धार्थ होटलमा बित्यो । पछिल्लो बिहान होटलले खाजा ख्वाएर बिदाइ गर्यो ।

आठ बजेर दश मिनेटमा पुल कटेसँगै हामी तनहुँको उकालो हुँदै पोखरा सडकमा लाग्यौं । पोखरा पुगेपछि मात्रै हाम्रो भेट मध्यपहाडीसँग हुने थियो । शुक्लागण्डकीको क्षेत्रमा निकै फराकिलो निर्माणाधीन सडकबाट उकालोतिर उक्लिरहेका थियौ । पोखरा–बाग्लुङ्ग सडकका लागि हामी सबैका लागि नयाँ यात्रामा उत्तिकै उत्सुक त थियौं । तर अन्जान पनि । बाग्लुङ्ग सडकबाट हेर्न सकिने ठाउँका बारेमा जानकारी लिन हामी सहमत भयौं । दश वर्षअघि काठमाडौंमा स्नातकोत्तर तहको पत्रकारिता विषय अध्ययनका क्रमका मेरा सहपाठी पर्वत निवासी शर्मिला केसीलाई फोन लाएँ । काठमाडौं र मंगलसेनमा भेट हुनुहुने शर्मिला जीका पति मेरा आत्मिय बालकृष्ण सर, इरा नानीलाई सम्झेँ । शर्मिला जी सँग पोखरा–बाग्लुङ्ग सडकका स्थान, दृष्यहरुका बारेमा कुराकानी भयो । काठमाडौमा बस्नुहुने शर्मिला जीले पर्वत–बाग्लुङ्ग सडक छेउमै आफ्नो घरमा हाम्रो समूहलाई खानाका लागि आग्रह गर्नुभयो । ‘पर्वत सडक छेउमै मेरो दिदी हुनुहुन्छ, म त्यतै तपाईहरुको खानाका लागि भन्छु ।’ शर्मिला जी को धेरै आग्रह थियो । मैले त्यसका लागि धन्यवाद दिएँ । हामीलाई रुकुम पुग्नपर्ने भएकोले बाटामा जहाँ भोक लाग्यो त्यही खाने योजनामा छौं भन्ने पुष्ट्याइँ दिएँ । खानाका लागि उहाँको पटक–पटकको आग्रह भएपनि लामो यात्राका कारण स्वीकार गर्न सकिएन । उहाँले शुभयात्राको कामना गर्नुभयो । तनहुँको उकालो हिडिरहेका बेलामा त्यहाँका सडक, घर,वस्ती, बजार र जनजीवन नियाल्यौं ।

हामी उकालोमै रहेकोले बीचमा प्रसङ्ग फेरियो र पोखरा उपमहानगर हो कि ? महानगर हो भन्नेमा विभिन्न तर्कहरु आए । पोखरा बजार प्रवेशपछि पसल अगाडि टाँसिएका सूचनाहरुले हाम्रा तर्क बन्द गरायो । मतलव पोखरा महानगरपालिका रहेछ भन्नेमा निश्चित भयौं । हाम्रो टोली समय अभावले पोखरामा तालबाराही मन्दिर वारिपट्टीको छेउबाट दर्शन गरेर तस्बिर लिएर फर्कन लाग्यौ । त्यही बेलामा अछामको विनायक घर भएर पोखराका सफल व्यापारी जगत धामीको घरमा नगरप्रमुख सहितको हाम्रो टोलीलाई खाना खाने एक्कासी खबर आयो । हामीले समय अभावले अनुरोध स्वीकार्न सकेनौं । तर अधिक आग्रहपछि चिया खानेगरी उहाँकै आफन्तको आधारमा उहाँको घरमा पुग्यौ । हामीलाई जगत धामी, उहाँको श्रीमती लगायत परिवारले खादा, टीका लाएर स्वागत गर्नुभयो । चिया खादै समसामयिक कुरा गरेर करिब आधा घण्टापछि हामी फर्कियौं । खाना खाने यसपछिका कुनै समय जुटाउने भनेर पोखरा छोड्ने भयौ । पोखराबाट हाम्रो यात्रा करिब ११ः२० बजेबाट पर्वत, बाग्लुङ भएर जाने पुष्पलाल (मध्यपहाडी) मार्ग भएरै जाने योजना अनुरुप यात्रा अघि बढ्यो । धेरै पटक पोखरा पुगेकोले हामीलाई त्यता भन्दा पश्चिमको नयाँ ठाउँले आकर्षित गरिरहेको थियो ।
कास्की जिल्लाको पोखरामा रहेको फेवाताल किनारमा उभिदा ।
बासस्थानमा निश्चित नगरेरै हामी पोखराकाट रुकुमकोट पुग्ने लक्ष्यका साथमा हिड्यौं । रुकुमकोट नपुगे जहाँ राती हुन्छ, त्यही ओत लागौला भनेर हामी हतारमै हिडिरहेका थियौं । नगर प्रमुख बोहराको सामान्य जीवनशैली भएका कारण हामीलाई कतै ओत लाग्न समस्या थिएन । मोटर पोखराको जिरो किलोबाट मोडिएर हेम्जा भएर माथितिर उक्लियौं । मैले हेम्जाको आलुको बारेमा सरहरुलाई भने । पोखराको माथि ढिकुरपोखरी भएर तल झरेर लुम्ले भन्ने चर्चित ठाउँमा पुग्यौं । अनि मैले तिलक बम मल्लको चर्चित पुरानो गीत गुनगुनाएँः
मुटु छुने लुम्लेको हावाले, हावाले
मनै छुने लजालु मायाले……
मंसिरको चिसो महिना भएपनि मोटरभित्र भएकोले हामीलाई चिसोले छुन सक्ने अवस्था नै थिएन । तर नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर पढेको बारेमा हामीले एकछिन कुरा गर्यौं । कालोपत्रे घुम्ती सडकबाट हामी कास्की जिल्लाकै नयाँपुल भन्ने स्थानमा पुग्यौं । त्यहाँ केही सवारी साधन, यात्रु र पर्यटक देख्यौ, तिनिहरु त अन्नपूर्ण, माछापुच्छे वेसक्याम्प, घान्द्रुक, धम्पुस जानेवाला पो रहेछन् । नयाँ पुलबाट करिब एक किलोमिटर अगाडि आएपछि कास्की जिल्लालाई छाडेर हामीलाई पर्वत जिल्लाले स्वागत गर्यो । धेरै वर्षअघि आफू पर्वत जिल्ला पुगेको नगर प्रमुखले सम्झना सुनाइरहेको बेलामा सडक छेउमै रहेको मोदिखोला जलविद्युत हाम्रो आँखै अगाडि पर्यो । मोदीखोला बगेर कालीगण्डकीमा मिसिन्छ ।

पर्वतको पातीचौरबाट खाना खाने होटल खोज्दै आएका हामी दोबिल्ला भन्ने स्थानको पर्वत भान्सा घरमा दिउँसो ठीक एक बजे दिनको खाना खायौं । उमेर ढल्केकाहरुले चलाएको होटलमा एकछिन गफिएर उहाँहरुको शुभयात्राका शब्दसँगै हाम्रो यात्रालाई निरन्तरता दियौं । दिउसो पर्वत जिल्लाको सदरमुकाम कुश्माको सडकमा दौडिरहेका थियौ । मध्यपहाडी मार्ग कुश्माको शीर छोएर जाने रहेछ । समयको बाध्यताले हामीले कुश्माको सबै बजार हेर्ने अवसर भएन । तर पनि पर्वतका पत्रकार साथीहरु, चिजानकाहरुलाई मैले सम्झेँ । कुश्मा बजारको अलि पर सडक छेउमा रहेको गुप्तेश्वर क्याम्पस, मालढुंगा अगाडितिर चर्चित नदी कालीगण्डकीको छेउ भएर बाग्लुङ जिल्लाको यात्रा थियो । मालढुंगाबाट म्याग्दीको सदरमुकाम बेनी र जोमसोम पुग्न सकिदो रहेछ । पर्वतलाई छाडेर कालिगण्डकी पुल तरेपछि पारिपट्टी ठूलो भीरमा लेखिएको ‘वेलकम बाग्लुङ’ ले हामीलाई आत्मियताले स्वागत गर्यो । पर्वत र बाग्लुङ जिल्ला जोड्ने अग्ला पुलहरुको तस्बिर हेर्दा, समाचार पढ्दा अचम्म मानिएका झोलुंगे पुलहरु आफ्नै अगाडि उभिरहेका थिए । समय अभावका कारण हामीले अग्लो पुलमा चढेर आनन्द लिने अवसर जुरेन । तर पनि पुलमा चढेजस्तै गरेर माथिको कालिका मन्दिरतिर लाग्यौं ।

कालिका मन्दिरको प्रवेशद्धार छेउमा मोटर रोकियो हामी दिउसो मन्दिरको अवलोकनमा पुग्यौं । बाक्लो जंगलभित्र भव्य रहेछ कालिका मन्दिर । समाचारहरुमा सुनिने र देखिने चर्चित कालिका मन्दिर वरिपरी घुम्यौ, तस्बिर लियौं र केही भेटी चढायौं । नगरप्रमुखले त्यहाँका मुख्य पुजारीसँग आफूहरु सुदूरपश्चिमको अछाम जिल्लाबाट आएको भन्दै परिचय दिएर मन्दिरका बारेमा जानकारी लिनुभयो । मन्दिर बाहिर निकिस्दा २ बजेर २६ मिनेट भइसकेको थियो । फर्किने बेलामा मन्दिरको सुन्दरता, यसको व्यवस्थापन र व्यक्तिहरुको सक्रियताको बारेमा कुरा गर्यौं । हाम्रा सुन्दर मन्दिर र ठाउँहरुमा स्थानीयको अपनत्व र सक्रियताका बारेमा समीक्षा गर्यौं । मन्दिर छेउमै रहेको बाग्लुङ बजारमा पुगेपछि बाग्लुङका पत्रकार र अन्य चिनजानका व्यक्तिहरुलाई मैले मनमनै सम्झिएँ । सबैलाई टेलिफोन गर्नका लागि समय अभाव थियो । म्याग्दीको बेनीसम्म आउन निमन्त्रणा गर्ने मेरा प्रिय मित्र अमृत बास्कुनेसँगै बाग्लुङ र म्याग्दीका परिचित अग्रज र मित्रहरुलाई मनभित्रै राखेँ । बजारको माथि पुगेपछि बाग्लुङ बजार देखिने गरेर हामीले एकल र सामुहिक तस्बिर लियौं ।

ढिलो भइसक्यो भन्ने सबैलाई लागेको थियो । त्यही अनुसार हाम्रो दौडाइ हतारकै थियो । कालीगण्डकी नदीको छेउमा रहेको भव्य बाग्लुङ बजार कटेपछि कच्ची सडक शुरु भयो । सुन्दर बाग्लुङ बजारबाट २÷३ किलोमिटर अगाडि बढेपछि सडक छेउमै एक जना किशोर सुन्तला बेच्न बसेका रहेछन् । ध्रुव सरले मोटर रोक्न भनेर सुन्तला किन्नुभयो ।
तपाईको घर कति टाढा हो ? ध्रूव सरले ति किशोरलाई सोध्नुभयो ।
नवलपरासी भनेर ठाडै उत्तर दिए ।
अनि त्यताबाट यहाँ किन त ? प्रश्न फेरी गर्नुभयो ।
मेरा मान्छे यहाँ काम गर्न आएका छन्, त्यसैले यहाँ आएको हो । उसको पुट्याइँ थियो ।
फेरी ध्रुव सरको प्रश्न गयो– स्कुल के गर्छौ त ?
उनले सहज उत्तर दिए– आजकाल बिदा छ ।
छोटो कुराकानी सकेर मोटरमा बस्यौं, अनि सुन्तला खाँदै हाम्रो यात्रा अगाडि बढ्यो । बाग्लुङको डाँडाघर, मुलपानी, अछेते, इन्द्रपानी, नियाल्ने अवसर मिल्यो । अछेते पल्तिरको काठेखोलाको पुल तरेपछि बिहुँकोटको घुम्तीहरुबाट उकालो लाग्यौं । एउटा घुम्तीमा नजिकको रेष्टुरेण्ट नजिक रोकिएर वरिपरी नियाल्यौं । नजिकै रेष्टुरेण्ट सञ्चालक कडेँल थरकी युवतीले सञ्चालन गरेको त्यस रेष्टुरेण्टबाट पानी किन्यौ । हामीले परिचय गर्यौं अनि हामी पुनः उकालो लाग्यौं । बिहुँकोटको अलि माथि अमर माध्यामिक विद्यालय रहेछ सडककै छेउमा । पहेँलो रंगमा सजिएर सडककै छेउमा उभिएको अमर मावि, रिजालचोक, भ्यूटावर, विद्यालय, गाउँघर, वातावरण नियाल्ने अवसर पनि मिल्यो । यी सबै ठाउँ काठेखोला गाउँपालिका अन्तरगत पर्ने रहेछन् ।

यात्रा अघि बढिरहेको थियो । हामी घोडाबाधे भन्ने स्थामा पुग्यौं । तर त्यतिबेला त्यहाँ कुनैपनि घोडा हामीले देखेनौं । ठाउँको नाम मात्रै हो भन्ने सहज अनुमान गर्न सकिन्छ । शर्मिला जीले दशकअघि काठमाडौंमा घोडाबाँधे राम्रो ठाउँ छ र त्यहै भएर ढोरपाटन शिकार आरक्ष जान सकिन्छ भन्नुभएको मैले सम्झेँ । घोडाबाँधे अगाडि आएको गलकोट नगरपालिका सीमाका ओराली घुम्तीहरु घुमेर हामी नरेफाँटमा पुग्यौं । त्यसपछि डाँडाखेत बजार भएर गलकोट नगरपालिकाको केन्द्र रहेको हटिया बजार पुग्यौं । निकै सुन्दर र भव्य बजार रहेछ हटिया । स्कुले उमेरमै रेडियो नेपालबाट सुनेको हटिया बजार आँखै अगाडि देखेँ ।

हामी चढेको मोटरका पाङग्रा अगाडितिर दौडिरहेकोले हटियाबाट अगाडि गएपछि काडेवासमा पुग्यौ, अनि दरमखोलाको किनारैबाट पारिपट्टी सुन्दर गुल्मी रहेछ । वारी हामी बाग्लुङ जिल्लामै दौडिरहेका थियौ । गुल्मीको दहल्का गाउँ भन्ने मज्जाको गाउँ थाहा पाइयो । गुल्मी भनेपछि पत्रकार साथीहरु, प्रशासनिक क्षेत्रका व्यक्तिहरुको आत्मियता निकै छ । कुनै दिन तम्घास पुगेर गुल्मीका धेरै नाम सुनेका गाउँ घुम्ने छु भन्ने सोचेँ ।
गलकोटको सीमा क्षेत्र कटेपछि हामीलाई मोटरले बडीगाड गाउँपालिकाको हाडिखोला बजार पुर्यायो । त्यस बजारबाट बुटवल पुगिने सडक पनि रहेछ । बडीगाड खोलाको तिरैतिर गएको मध्यपहाडी भीमगिठे बजार, तुरतुरे भएर हामी ढोरपाटन नगरपालिकाको चर्चित बुर्तिवाङ बजार आइपुग्यौं । त्यतिबेला बेलुकाको पाँच बजिसकेको थियो । बुर्तिवाङबाट रुकुम, पोखरा र ढोरपाटन सिकार आरक्ष जान छुट्टिने ठाउँ रहेछ । भव्य घरहरुसँगै बिस्तारित बजारले मलाई शहरको झल्को थियो । बुर्तिवाङ बाग्लुङ जिल्लाको सदरमुकाम पछिको ठूलो बजार पनि रहेछ ।

बुर्तिवाङ छेउको पुल तरेपछि निसीखोला गाउँपालिका भएर बग्ने निसीखोलाको तिरैतिर भएर कान्छिबजार, ध्वाखोर, बोहरागाउँ, निसी, भल्कोट छाड्यौं । अध्यारो भइसकेकोले हामीले राती बस्ने ठाउँको खोजि भयो । बेलुकी नै रुकुमकोट पुगेर पछिल्लो दिन अछाम मंगलसेन पुग्नुपर्ने बाध्यतामा थियौं । रुकुमकोट राती पुगियो भने बास बस्न समस्यामा हुनसक्ने अनुमानमा हाम्रो कुराकानी भयो । ‘शिवजी त्यहाँ (रुकुमकोट) तपाईका साथीहरु होलान् होटलका लागि भन्नुपर्यो ।’ विष्ट सरले मलाई भन्नुभयो । मैले पाइन्टको खल्तीबाट फोन निकालेर गोरखापत्रका पूर्वसहकर्मी सुरेन्द्र खत्रीलाई फोन लगाएँ । फोन लागेन । पुनः पनि लागेन । अनि उहाँकै श्रीमती मेरो पनि पूर्वसहकर्मी मनिषा केसीलाई फोन गरेँ । पाँच जनाका लागि एक होटलमा कोठा भनिदिन अनुरोध गरेँ । रुकुमकोटको होटल विएलबीमा बास बस्ने निश्चित भयो । होटल सञ्चालकसँग अगाडिको सडकको अवस्था र होटलमा हामी पुग्ने समयका बारेमा बुझेँ ।
केही घण्टाको हिडाइपछि हामी बाग्लुङ्ग र पूर्वी रुकुमको सीमा क्षेत्र पातिहाल्ने स्थानमा बेलुकी करिब ८ बजेतिर पुग्यौं । बाग्लुङ्ग, रुकुम र रोल्पा गरेर तीन जिल्लाको संगम स्थान रहेछ पातिहाल्ने । बजार विस्तारको क्रममा रहेको पातिहाल्नेबाट हामी सीधा सडकबाट करिब एकघण्टा ३० मिनेटमा रुकुमकोटको निश्चित गरेको होटेल बिएलबी होटलमा पुग्यौं ।

पातीहाल्नेबाट निकै अध्यारो भइसकेकोले मैले पहिला नै सुनेका रुकुमका तकसेरा, लुकुम, काँक्रीगाउँको दृष्यावलोकन गर्न सकिएन । तिनिहरुलाई मैले देख्न वा तिनिहरुले मलाई देख्न जुरेको रहेन भन्ने लाग्यो । मोटर होटलको गेटमा पुग्ने बित्तिकै होटलका साहुनी, कर्मचारीहरु बाहिर निष्कनुभयो । झोला र चाबी लिएर हामी कोठामा राखेर खाना खानका लागि तयार भयौं । नगरप्रमुख केही महिना पहिला रुकुममा अवलोकन भ्रमणका क्रममा त्यही होटलमा बसेको कुरा साहुनीलाई सुनाउनुभयो । बेलुकाको खाना खान शुरु गर्यौं । होटलमा केही अरु खाना खाने र पिउनेसँग परिचय विनै गफगाफ भए ।
………………………………………..
पछिल्लो बिहान ५ बजेतिर उठेर यात्राका लागि तयार भयौं । हामीले अछाम सदरमुकाम मंगलसेनसम्म पुग्नुपर्ने तय नै थियो । होटलबाट ६ बजे निस्कने बित्तिकै कमलदहलाई छेउमा पारेर हाम्रो यात्रा पश्चिम रुकुमको सदरमुकाम मुसीकोट हुँदै जाजरकोट भएर दैलेख निस्कने योजना अनुरुप अघि बढ्यौं । मंसिरको बिहानै केही चिसो महसुस गरेर हामी रुकुमकोटबाट ओरालोतिर लाग्यौं ।

नेपालको सशस्त्र द्धन्द्धको उद्गम मानिने रुकुम देख्न म पनि उत्साहित थिएँ । कमल दहको छेउ भएर हामीले तल ओर्लिदै रुकुमकोटलाई छाड्यौं । अनि हाम्रो यात्रा पुष्पलाल (मध्यपहाडी) मार्गको बाटो पक्रेर पश्चिम रुकुम जिल्लातिर लाग्यौं । एक जिल्लालाई टुक्राएर दुई जिल्ला बनाइएको पूर्वी रुकुमको झाक्रीपानी भएर खोपीचार भन्दा अगाडि पश्चिम रुकुमको प्रवेशद्धारमा पुग्यौं । त्यतिबेलासम्म हामीलाई बिहानी घामले छोइसकेको थियो । अनि भर्खरै झुल्केको घामलाई शरीरमा केही छिन छुन लाएर हामीले पूर्वी रुकुमलाई बिदाइ गर्यौ । घोरखानी, रिनदह, वैरीदह भएर साँख दह पुग्यौ । रुकुमका परसम्मका ठाउँहरु मात्रै हेरेँ । द्धन्द्धकालमा रेडियोबाट सुनेका धेरै स्थानहरु मानसपटलमा आए । अनि हतारको यात्रा भएपनि आँखाले पुगुञ्जेलसम्म मोटरबाटै हेरेँ, देखेँ । अनि रुकुमका मेरा धेरै अनन्य पत्रकार साथीहरुलाई सम्झे ।
हिड्दै गर्दा फाँटिलो जग्गाको बीचमा ठूलो दह (ताल) मिलेको बस्तीको सुन्तरताले तान्यो । साँखबाट सिधा अगाडितिर शीतलपोखरी बजार आइपुगियो । जहाँबाट दुईटा रुकुमका सदरमुकाम र तलतिर सल्यान जिल्ला, दाङको घोराही, तुलसीपुर पुग्ने सडक छुट्टिदो रहेछ । हामी दायाँतिरको सडकबाट मुसिकोटतिर लाग्यौै । मुसिकोट बजार नपुग्दै बीच सडकमा शितलपोखरीमै पेट्रोल पम्पमा गाडीमा तेल भर्न पाँच मिनेटका लागि रोक्यौ । वरिपरीका दृष्य अवलोकन गर्यौ । केही किलोमिटरको हिडाइपछि सदरमुकाम मुसिकोट पुगियो । सडक छेउमै भएको खाजा पसलमा खाजा खाने गरेर यात्राका क्रममा मुसिकोटको ओरालो लाग्यौं । तल सललल बगेको सानीभेरी आँखै अगाडि ठोक्किन पुग्यो । क्या, गज्जबकी सानीभेरी आफ्नै रफ्तारमा बगिरहेकी थिइन् । हामी सबैले माथिबाटै दर्शन गर्यौं ।

‘शिवजी तपाईका पत्रकार साथीहरुलाई अब सडकको अवस्था बारेमा सोध्न पर्यो ।’ विष्ट सरले भन्नुभयो । अगाडिको सिटबाट नगर प्रमुख बोहराले भन्नुभयो– यहाँ भन्दा तलको सडक मलाई थाहा छ । अनि मैले खोल्नै लागेको मोबाइल बन्द गरेँ । सानीभेरी नदी र फाँटिलो जग्गाको प्रसङ्ग आएपछि मनिषा जीलाई हिजो सहजिकरण गरिदिएकोमा धन्यवाद भन्न समेत बिर्सिएछु । हतारको हिडाइ, नयाँ यात्राका कारण उहाँलाई धन्यवाद भन्न पनि बिर्सेछु भन्ने थकथकी अहिले पनि लागिरहेको छ ।
मुसिकोट बजार भन्दा तलकोको फाँटतिर पुग्यौ । मुग्लु खोला तरेर सानीभेरी नदीलाई दाहिनेतिर पारेर हाम्रो मोटर पक्की सडकमा दौडिरहेको थियो । स्कुले समयमा सानीभेरी तरेर वारपार गरेका कथा रुकुमकी (हाल सुर्खेत) अगुवा पत्रकार टीका विष्टले सुनाउनुभएको सम्झेँ । मोटर हुइकिदै खेतकुना, बाट्लेचौर, सुलिहाले भएर सिम्ली बजार आइपुग्यो । सानीभेरी नदीको छेउतिर मुसिकोट पछिको ठूलो बजार सिम्ली रहेछ । जो सानीभेरी गाउँपालिकाको केन्द्र पनि त्यही छ । सिम्ली बजार खुट्टाले नछोएरै हामी सानीभेरीकै किनारै किनारको पक्की सडक भएर रुकुमको सानीभेरी र जाजरकोटको ठूलीभेरी मिल्ने संगम रिम्ना भन्ने स्थानमा पुग्यौ । गुगल नक्साको आधारमा पुष्पलाल मार्ग पछ्यारै हाम्रो यात्रा मानिस, वस्ती, ठाउँ, खेतीपाती, वनजंगल नियाल्दै हाम्रो यात्रा अगाडि दौडिरहेको थियो ।
जाजरकोटलाई पारी गरेर भेरी नदीको छेउ भएर चौरजहारीको माथि टुप्पोमा पुग्यौ । दुईटा सडक छुट्टिएको त्यस ठाउँमा हामी एकछिन अल्मिलयौं । अनि एउटा बलेरो जीप त्यहीनेर पुग्यो । ‘मध्यपहाडी सडक भएर जाजरकोट जाने सडक कुन हो ?’ भनेर हाम्रा ड्राइभर नरध्वज भाटले सोध्नुभयो ।
अर्को ड्राइभरले भन्यो– यहाँ त छैन, माथि सिम्लीमा पुल थियो, त्यतैबाट तर्नुपथ्र्यो ।
यहाँ कुनै पुल छैन ? नरध्वज पुनः निश्चित हुनका लागि फेरी प्रश्न गरे । अर्को ड्राइभरले भन्यो यहाँबाट त छिन्चु जाने सडक छ, तपाईहरु ३० किलोमिटर जति तल आइसक्नुभयो ।
अब हामीले मध्यपहाडी सडक छाड्नुपर्ने वा कि माथि फर्किनुपर्ने दोसाधामा भयौं । हाम्रो सामुहिक निर्णय भयो, अब सल्यान भएर छिन्चु निस्केर जाऔं । गुगल हेर्दै विष्ट सर ड्राइभरलाई डोर्याइरहनु भएको थियो । यसभन्दा अगाडि फलानो ठाउँ आउँदै छ भनेर जानकारी दिइरहनुभएको थियो । गुगल म्यापको सहारा त हामीले बिहान दमौलीबाटै शुरु गरेका थियौं । मान्छेलाई नसोधेर गुगलकै भर परेर सिम्लीबाट पुल नतरेर हामी तल पुगेका रहेछौं ।

चौरजहारीको वल्लो छेउ भएर हामीले पश्चिम रुकुमको यात्रा टुंगो लायौ । अब हाम्रो यात्रा छिन्चु–जाजरकोट सडकमा हुनेभयो । पश्चिम रुकुम र सल्यानको सीमा पात्लेखोला नजिक पुगेपछि साँघुरो कच्ची सडक भएकोले एकछिन अलमलियौं । नजिक मानव वस्ती नभएकोले केही छिन पर्खेपछि एक जना बटुवालाई सोधेर छिन्छु पुग्ने सडकरित लाग्यौं । ओरालो सडक केही समय जंगलको सडक पार गरेर गाउँतिर पुग्यौं । धधरगाउँ–नेटाबजार–चुरिया, सुन्तलीबजार–बस्नेउरा बालुवा संग्रही पुग्यौं । बालुवा संग्रही पुग्दा दिउसोको १२ बजिसकेको थियो । रुकुमकोटबाट खाजा खोज्दै आएका हामीले सडक छेउमै नपाएपछि बालुवा संग्रहीमा खाना नै खायौं ।
खाना खाएर हिडेपछि रैका बजारसँगै सल्यान जिल्लाको यात्रा सकियो । त्यताबाट हामी सुर्खेत जिल्लाको गुर्भाकोट भएर पोखराबजार–बोटेचौर–मेहेलकुना–जहरेपछि छिन्चु बजार आइपुगियो । छिन्चुवाट एक घण्टाको हिडाइपछि हामी सुर्खेत वीरेन्द्रनगर पुग्यौं । रुकुमको सिम्ली बजारमा तुल तर्न थाहा नपाएका कारण हामीले सल्यान, सुर्खेतको छिन्चु, वीरेन्द्रनगर हुँदै कर्णाली राजमार्गमा आउन बाध्य भयौं । यो पुष्पलाल (मध्यपहाडी) मार्गमा पर्दैन ।
एकछिन नरोकिएर हामी वीरेन्द्रनगरबाट उकालो लागेर गुरासेँमा पुग्यौं । गुरोसेँबाट ओरालो लागेपछि तल्लो डुंगेश्वर पुगेसँगै कर्णाली नदीसँग पनि भेट भयो । नदी छेउमै गएको कर्णाली मार्ग भएर साङ्गेतडा, पाल्तडा, रामाघाट, डाब, असाराघाट, टुनीबगर हुँदै बेलखेत पुग्यौं । दैलेखको सडकबाट कर्णाली नदीको शान्त वहाव र पारिपट्टीको अछामको रहफ, भुलु, रानीवन लगायतका सुन्र दृष्यहरु हेरिरहेका थियौं । कर्णाली नदी माथिको पुल तर्यो भने सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा पुगिन्छ । उतैबाट सिधा गएमा कालिकोट, जुम्ला, रारा लगायतका स्थानमा जान सकिन्छ । अनि हामी बेलखेतबाट माथि विनायक बजार, गैरीटाँड, ठाटीखान, ठूलासेन हुँदै करिब ७ बजेतिर मंगलसेनस्थित क्याम्पस अगाडि पुग्यौ ।
यात्राले सडक मात्रै हैन समाज चिनायो । गाउँठाउँ देखायो । सडकको अवस्थाका बारेमा जानकारी गरायो । खेतीपाती, वनजंगल, रहनसनका दृष्य संगालियो । त्यो भन्दा बढी नेपालको पूर्व र पश्चिम जोड्ने सडकको आधा खण्ड यात्रा पूरा भयो । समग्रमा देश दर्शन भयो ।
