सवारी साधनमा सिसी क्यामरा र जीपीएस जोड्न अछाम प्रशासनको निर्देशन

मंगलसेन जिल्ला प्रशासन कार्यालय अछामले जिल्लाभित्र चल्ने सबै सार्वजनिक सवारी साधनहरूमा सिसी क्यामरा र जीपीएस जडान गर्न निर्देशन दिएको छ । यही वैशाख ८ गतेभित्र सवारी साधनमा अनिवार्य सिसी क्यामरा र जीपीएस जडान गर्न भनिएको छ ।

सार्वजनिक यातायातलाई सुरक्षित बनाउने र लैङ्गिक हिंसा रोकथाम गर्ने उद्देश्यले प्रशासनले यो कडा कदम चालेको हो । नेपाल सरकारको निर्णय अनुसार जिल्लाका सार्वजनिक यातायातमा यस्तो निर्णय कार्यान्वयन गर्न भनिएको छ । प्रशासकीय अधिकृत दिपेन्द्र सिंह विष्टद्वारा जारी सूचना अनुसार अछाममा सञ्चालित हरेक सार्वजनिक सवारीमा सुरक्षाका लागि सिसी क्यामेरा अनिवार्य गरिएको छ । यस्तै सवारी साधनको निगरानीका लागि जीपीएस ट्र्याकिङ प्रणाली जडान गर्नुपर्ने कार्यालयले जारी ‘निर्णय कार्यान्वयन सम्बन्धमा’ सूचनामा उल्लेख गरिएको छ ।

सवारी चालक र सह-चालकले अनिवार्य रूपमा तोकिएको पोशाक र परिचयपत्र लगाउनुपर्ने छ । भने प्रत्येक सवारी साधनले यात्रुले स्पष्ट देख्ने गरी आधिकारिक भाडादर यातायातमा टाँस्नुपर्ने भनिएको छ । नेपाल सरकार मन्त्रिपरिषद्ले स्वीकृत गरेको ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नं. ९८ अन्तर्गत कार्यान्वयनमा ल्याइएको बताइएको छ । सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा अन्त्य गर्न र यात्रुको यात्रा सुरक्षित बनाउन यो योजना अघि सारिएको प्रशासनले जनाएको छ ।

प्रशासनले यस निर्णयको कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय अछामलाई निर्देश गरेको छ । साथै, सुदूरपश्चिमका अन्य जिल्ला प्रशासन कार्यालयहरूलाई समेत यस प्रक्रियामा आवश्यक सहजीकरणका लागि पत्राचार गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!