अछाममा स्थानीय तह पुनर्संरचनाबारे छलफल तीव्र: चौरपाटीलाई यथावत राख्न अध्यक्ष साउदको प्रस्ताव
अछाम । अछाम जिल्लामा स्थानीय तह र वडाको संख्या तथा सिमाना हेरफेर गर्ने प्रक्रिया अन्तर्गत जिल्ला समन्वय समितिले सरोकारवालाहरूसँगको छलफललाई तीव्रता दिएको छ । यसै सिलसिलामा चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउदले भूगोल र जनसंख्याको मापदण्ड पुगेकाले चौरपाटीलाई यथावत राख्नुपर्ने प्रस्ताव पेश गर्नुभएको छ । जिल्ला समन्वय समितिमा भएको बैठकपछि बोल्दै अध्यक्ष साउँदले चौरपाटी गाउँपालिकाको क्षेत्रफल १८२ वर्ग किलोमिटर र जनसंख्या झन्डै २० हजार रहेकाले यो आफैंमा एउटा पालिकाका लागि पर्याप्त भएको दाबी गर्नुभयो । उहाँले जनताको हितका लागि चौरपाटी गाउँपालिकालाई पुरानै संरचना अनुसार यथावत राख्नुपर्ने आफ्नो पहिलो एजेन्डा रहेको बताउनुभयो ।
अध्यक्ष साँउदले ऐतिहासिक ‘८०० भेग’ का १५ वटा साविकका गाविसहरूलाई मिलाएर एउटै शक्तिशाली पालिका बनाउनुपर्ने प्रस्ताव अघि सार्नुभएको छ । ऐतिहासिक ‘८०० भेग’ को अवधारणा अनुसार समायोजन नै गर्नुपर्ने अवस्था आएमा अध्यक्ष साउँदले ऐतिहासिक तथ्यलाई आधार मान्नुपर्ने तर्क गर्नुभएको छ । विक्रम सम्मत २०३४ सालमा डोटी जिल्लाबाट अछाममा गाभिएका साविकका १५ वटा गाविसहरू (जसलाई ८०० भेग भनिन्थ्यो) लाई समेटेर एउटै पालिका बनाउन सकिने उहाँको प्रस्ताव छ । यसो गर्दा ती १५ वटा गाविसका जनतालाई पायक पर्ने र बीच भागमा पर्ने स्थानमा केन्द्र तोकेर एकीकृत सेवा दिन सकिने उहाँले उल्लेख गर्नुभयो । सामाजिक सञ्जालमा चर्चामा रहेको साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिका मिलाएर ‘साँफे चौरपाटी’ नगरपालिका बनाउने सम्भावनाका विषयमा उहाँले अहिल्यै कुनै सहमति नभएको स्पष्ट पार्नुभयो । यस विषयमा गाउँपालिका भित्रका राजनीतिक दल, बुद्धिजीवी र समाजसेवीहरूसँग बसेर पुनः छलफल गरिने र सबैको हित हुने गरी निचोड निकालिने उहाँको भनाइ छ ।
जिल्ला समन्वय समितिले स्थानीय तह समायोजनका लागि गठन गरेको समितिले यसअघि मङ्गलसेन नगरपालिकासँग छलफल गरिसकेको छ । बुधबार साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाका अध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरूसँग छुट्टाछुट्टै छलफल गरिएको हो । चौरपाटीको भूगोल डोटी जिल्लासँग जोडिएको हुनाले यसको पुनर्संरचना गर्दा विशेष ध्यान दिनुपर्नेमा अध्यक्ष साउँदले जोड दिनुभएको छ ।
