अछाममा स्थानीय तहको पुनर्संरचना कार्य प्रारम्भः मंगलसेन नगरपालिकासँग छलफल

अछाम । नगरपालिका र गाउँपालिकाको वडाको संख्या तथा सिमाना हेरफेर र पुनरावलोकनको प्रक्रिया थालनी गरिएको छ । अछामका जिल्लाका १० वटै स्थानीय तहका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल सुरु गरेको छ । पुनर्संरचनाको खाका र मापदण्ड सरकारले गठन गरेको कार्यदलको मापदण्ड अनुसार पालिका र वडाको संख्या घटाउनुपर्ने भएपछि जिल्लामा स्थानीय तहसँग छलफल थालिएको हो ।

जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरको अध्यक्षतामा बसेको बैठकमा निमित्त प्रमुख जिल्ला अधिकारी, मालपोत प्रमुख, नापी प्रमुख र जिल्ला समन्वय अधिकारी सम्मिलित पाँच सदस्यीय समितिले मङ्गलसेन नगरपालिकाका नगरप्रमुख पदम बहादुर बोहरा र प्रमुख प्रशासकीय अधिकृतसँग प्रारम्भिक छलफल गरेको छ । भौगोलिक सुगमता, आर्थिक अवस्था र सामाजिक सांस्कृतिक पक्षलाई आधार मानेर पालिका र वडाहरू समायोजन गरिनेछ ।

मङ्गलसेन नगरपालिकाका लागि प्रस्तावित छलफलका क्रममा मङ्गलसेन नगरपालिकाका नगरप्रमुख बोहराले वर्तमान १४ वडालाइ समायोजन गर्नुपर्ने सुझाव राख्नुभएको छ । प्रमुख बोहराले मङ्गलसेनका साविकका वडा नम्बर ३, ४ र ५ लाई जनसंख्याको चापका कारण यथावत राख्नुपर्ने प्रस्ताव गरिएको छ । यस्तै वडा नम्बर १३ (बस्ती) लाई भौगोलिक विकटताका कारण दुईवटा वडामा विभाजन गर्न प्रस्ताव गरिएको छ ।

हालको मंगलसेन नगरपालिकामा रामारोशन गाउँपालिकाको वडा नम्बर १ (मलातकोट), कमलबजार नगरपालिकाका वडा नम्बर ५ (कुइका), ६ (विरपथ) र ७ (सेरा) जोड्नुपर्ने भनाइ राख्नुभयो । यस्तै ढकारी गाउँपालिका केही वडाहरूलाई मङ्गलसेनमा गाभ्नु उपयुक्त देखिएको प्रमुख बोहराले सुझाव राख्नुभएको बताइएको छ ।

यसपछि क्रमशः अरू स्थानीयका प्रमुख तथा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग छलफल गरिने समितिले बताएको छ । जिल्लाका १० वटै पालिकासँग छुट्टाछुट्टै छलफल गरेपछि सबै स्थानीय तहका प्रमुख, प्रशासकीय अधिकृत, राजनीतिक दलका नेता र पत्रकारहरूसँग संयुक्त बैठक बस्ने योजना रहेको बताइएको छ । स्थानीय तहले कार्यपालिका र नगरसभाबाट निर्णय गरी प्रदेशमा पठाउने र प्रदेशले केन्द्रमा पठाएपछि यसले अन्तिम रूप पाउनेछ ।

हाल अछाममा रहेका १० वटा पालिकालाई घटाएर ५ देखि ६ वटामा झार्ने सम्भावना देखिएको छ । यो प्रक्रिया सफल भएमा देशभर रहेका ७५३ स्थानीय तहहरूको संख्या घटेर करिब ५०० देखि ५५० को हाराहारीमा पुग्ने अनुमान गरिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!