रामारोशन गाउँपालिकाद्वारा शैक्षिक कार्ययोजना सार्वजनिक (कार्ययोजनासहित)

अछाम । रामारोशन गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले आगामी शैक्षिक सत्र २०८३ का लागि वार्षिक कार्ययोजना निर्माण गरेर सार्वजनिक गरेको छ । शाखाले वर्षभरि हुने शैक्षिक क्रियाकलाप, परीक्षा तालिका र सार्वजनिक बिदाहरू समेटेर कार्ययोजना तयार पारेको हो ।

सार्वजनिक गरिएको कार्ययोजना अनुसार प्रत्येक महिनामा गरिने क्रियाकलाप र जिम्मेवारी तोकिएको छ । वैशाखमा भर्ना देखि चैत महिनामा सिकाइ उपलब्धि एकसय प्रतिशत पुर्याउन सहायता कक्षाहरू सञ्चालन सम्म योजनामा समेटिएका छन् । कार्ययोजना अनुसार यस शैक्षिक वर्षमा २१७ दिन विद्यालय खुल्ने र २०५ दिन पठनपाठन हुनेछ । गाउँपालिकाका शिक्षा अधिकृत जगत बहादुर रावलका अनुसार शैक्षिक सत्रको सुरुवातसँगै वैशाख १५ देखि २० गतेसम्म विद्यार्थी भर्ना तथा घरदैलो अभियान सञ्चालन गरिनेछ । सार्वजनिक गरिएको विवरण अनुसार वर्षभरि कुल ९२ दिन शनिबार र सार्वजनिक बिदा परेका छन् भने १४ दिन वर्षे/हिउँदे बिदाको व्यवस्था गरिएको छ ।

कार्ययोजना अनुसार विद्यालयमा त्रैमासिक परीक्षा साउन १८ देखि, दोस्रो त्रैमासिक परीक्षा पुस १६ देखि, कक्षा ९ को बाह्य मूल्याङ्कन चैत ९ देखि र चैत २६ गतेभित्र नतिजा सार्वजनिक गरिसक्नुपर्नेछ । खेलकुद र अतिरिक्त क्रियाकलाप पठनपाठनका अतिरिक्त विद्यार्थीको शारीरिक विकासका लागि मङ्सिर १७ देखि १९ गतेसम्म ‘राष्ट्रपति रनिङ शिल्ड’ प्रतियोगिता आयोजना हुनेछ। यस्तै, माघ २९ गते गाउँपालिका स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गरिने र प्रत्येक शुक्रबार विद्यालयहरूमा अनिवार्य रूपमा अतिरिक्त क्रियाकलाप गर्नुपर्ने उल्लेख छ ।

प्रशासनिक र आर्थिक नियम पारदर्शिताका लागि विद्यालयहरूले प्रत्येक महिनाको १० गतेभित्र दिवा खाजाको विवरण र महिनाको पहिलो हप्ताभित्र तलब भत्ताको माग फारम बुझाउनुपर्नेछ । भदौ १० भित्र सामाजिक परीक्षण सम्पन्न गरी असोजमा प्रतिवेदन पेस गर्नुपर्ने र असार मसान्तभित्र विद्यालयको वार्षिक बजेट स्वीकृत गराउनुपर्ने कार्ययोजनामा उल्लेख छ ।

शतप्रतिशत सिकाइ उपलब्धि शिक्षकहरूले दोस्रो त्रैमासिक परीक्षासम्म ८० प्रतिशत र चैत मसान्तसम्म १०० प्रतिशत पाठ्यक्रम पूरा गर्नुपर्ने लक्ष्य राखिएको छ । शिक्षा शाखाले नियमित प्रधानाध्यापक बैठक र विद्यालय सुधार योजना (SIP) को अद्यावधिक मार्फत शैक्षिक गुणस्तरमा सुधार ल्याउने प्रतिबद्धता रहेको बताइएको छ । “अन्योलताका बीच हामीले बडो मिहिनेतका साथ कार्ययोजना निर्माण गरेका छौँ। अब यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुनेछौँ।” शिक्षा अधिकृत रावलले भन्नुभयो । 

शैक्षिक सत्रभरिका क्रियाकलाप, परीक्षा र बिदाहरूलाई पूर्व-निर्धारित ढाँचामा व्यवस्थित गरी समयमै पाठ्यक्रम पूरा गरेर गुणास्तरीय र प्रभावकारी शिक्षाका लागि योजना निर्माण गरिएको शिक्षा अधिकृत रावलले जानकारी दिनुभयो । विद्यालयका शैक्षिक, प्रशासनिक र आर्थिक गतिविधिहरूमा पारदर्शिता र एकरुपता कायम गरी जवाफदेहिता सुनिश्चित गर्न र विद्यार्थीको सिकाइ उपलब्धि सुधार गर्न र खेलकुद तथा अतिरिक्त क्रियाकलापलाई नियमित र योजनाबद्ध रूपमा सञ्चालन गर्नका लागि गाउँपालिका केन्द्रित भएको बताइएको छ । रामारोशन गाउँपालिकाले शैक्षिक गुणास्तर वृद्दिका लागि सघन रूपमा केन्द्रित भएको छ ।  

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!