Palika dasin suvakamana

वीरता र त्यागका प्रतिमूर्ति

Palika dasin suvakamana

आज नेपाली राजनीतिका एक अद्भुत व्यक्तित्व राजनेता गणेशमान सिंहको २५औँ स्मृति दिवस। अर्र्थात् नेपालको प्रजातान्त्रिक आन्दोलनका लौहपुरुष गणेशमान सिंहले यो धर्ती छाडेर गएको दिन, २ असोज। २५ वर्षअगाडि आजैका दिन एकाबिहानै नेपाली प्रजातान्त्रिक आन्दोलनका महानायक, ०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको निधनको दुःखद खबर सुन्नासाथ दौडेर चाक्सीबारी, क्षेत्रपाटीस्थित सिंह निवास पुगेको हिजैजस्तो लाग्छ। शोकमा डुबेका हजारौँ कांग्रेसजनसँगै आमनागरिकका साथ शोक¥यालीमा नगरको परिक्रमा गर्दै शोभा भगवती पुगेर उहाँलाई अन्तिम बिदाइ गर्दै भारी मन लिएर साँझ घर फर्केको त्यो दिन, आज अढाई दशक बितेको जस्तै लाग्दैन। “माने…. मैले ०४६ मा ल्याएको प्रजातन्त्र खोइ ? बीपीका साथमा मिलेर मैले स्थापना गरेको इतिहासको त्यो गौरवशाली नेपाली कांग्रेस खोइ ?” भन्दै लोरो टकटक टेकेर गणेशमानजी यतै कतै हिँडिरहनुभएको पो छ कि जस्तो लाग्ने। 

२०४६ सालको जनआन्दोलनको सर्वोच्च कमान्डर गणेशमान सिंहको स्मृति दिवसमा उहाँप्रति सम्मान र श्रद्धाभाव व्यक्त गर्दै कलम चलाउने नैतिक शक्ति यो पङ्क्तिकारसँग छैन। आफ्नै पार्टी र पार्टीको सरकारले आफ्नो सल्लाह र सुझावको परवाह गर्न छाडेपछि अपमानित महसुस गर्दै विरक्तिएर आफैँले स्थापना गरेको नेपाली कांग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दैगर्दा विचार, भावना र पारिवारिक रूपमा नै निकट रहेर काम गरेको एक कांग्रेसी कार्यकर्ता हुनुको नाताले त्यस बेला मैले उहाँलाई साथ दिएर उहाँको पछाडि हिँड्न सकिनँ। किसुनजी पार्टीले लिएको नीति र विचारसँग असहमत हुँदै नेपाली कांग्रेस परित्यागको घोषणा गर्दा पनि मैले उहाँलाई साथ दिएर उहाँको पछाडि लाग्न सकिनँ। उनीहरूको कुरा नसुन्ने, उनीहरूले हिँडेको वा देखाएको बाटोमा नहिँड्ने, अनि आज कुन नैतिकताको कसीमा टेकेर गणेशमान सिंह महान् नेता थिए, उनले देखाएको बाटोमा हामी हिँड्नुपर्छ भनेर कसरी भन्नु, अनि उनका बारेमा कसरी लेख्नु खोइ ? 

आम कांग्रेसी कार्यकर्ताको साथमा मैले गणेशमान सिंहले हिँडेको पथमा हिँडेको भए, गणेशमानजीले पार्टी र पार्टीको सरकारले नीति र कार्यशैलीको विरोध गरेर औँलो ठड्याउँदै गर्दा उनलाई साथ दिएको भए सायद गणेशमान र किसुनजीले दुःखी मन लिएर आफैँले स्थापना गरेको कांग्रेस जीवन छँदै छाड्न पर्दैन थियो कि। आजको पुस्ताले नेपाली कांग्रेसको यो दुर्दशाको अवस्था पनि सायद देख्न पर्दैनथ्यो। 

हुन त नेपाली राजनीतिको इतिहास नै आफ्ना पितापुर्खामाथि गौरव गर्नेभन्दा पुर्खालाई सराप्दै आएको तीतो संस्कार भरिएको छ। यो अवस्थामा बीपी, सुवर्णशमशेर, गणेशमान किसुनजी, सूर्यप्रसादलगायतलाई कांग्रेसले यथोचित सम्मान गरेन, उहाँको विचार र हिँडेको मार्गलाई पछ्याएन भने खोइ के गुनासो गर्नु। तथापि यति भन्नै पर्छ, इतिहासको मर्मलाई बुझ्न सकेनौँ र आफ्ना पुर्खालाई यथोचित सम्मान गर्न जानेनौँ भने भोलिको पुस्ताले हामीलाई पनि सम्झने छैन। 

आज नेपाली कांग्रेसका हामी आमकार्यकर्ताहरू बीपी, गणेशमानजी र किसुनजीले हिँड्नुभएको वैचारिक मार्गलाई अवलम्बन गर्न चुकेका छौँ। पार्टी गलत बाटोमा हिँडेपछि गणेशमान र किसुनजीले पार्टी नै परित्याग गर्नुभयो। अहिले त हामीसित साहस छैन। यस्तो अवस्थामा हामी नेपाली कांग्रेसलाई ठीक मार्गमा ल्याउन सक्छौँ त ? कठोर एवं सङ्घर्षपूर्ण लामो राजनीतिक जीवनमा गणेशमानजीले आफ्नो मूल्यमा कहिल्यै कसैसँग झुक्नुभएन, निरन्तर विद्रोह गरिरहनुभयो। 

गणेशमान सिंह एउटा लेखोटमा लेखेर अट्ने व्यक्तित्व होइन, लरतरो अध्ययन र अनुसन्धान गरेर उनको सिङ्गो सङ्घर्षपूर्ण जीवनलाई समेट्न पनि सम्भव छैन। नेपाली राजनीतिक इतिहासमा गणेशमानजीका बारे निरन्तर अध्ययन र अनुसन्धान हुँदै जाला तर गणेशमान सिंहसँग सङ्गत र प्रत्यक्ष नभेटेको वर्तमान र भविष्यको पुस्ताका लागि गणेशमान भनेको एक काल्पनिक तिलस्मी कथाको पात्र वा नायकजस्तै लाग्न सक्दछ। साहस, वीरता, त्याग र सङ्घर्षको गाथाले भरिएको गणेशमान सिंहको जीवन नयाँ पुस्ताका लागि पत्याउन गाह्रो छ। 

राणाकालमा सम्भ्रान्त काजी परिवारमा जन्मेर, हुर्केर पनि सुखसयलको बाटो छाडेर प्रजातन्त्रका लागि कष्टकर बाटो रोज्नु सानो कुरा थिएन। राजनीतिमा पद पाउनका लागि हुने, नहुने जस्तोसुकै सम्झौता गर्न तयार राजनीतिक नेतृत्व र दलका गतिविधि देखेर यति बेला निराशा व्याप्त तर गणेशमानजीले हातमा प्राप्त भएको प्रधानमन्त्रीको पदलाई परित्याग गरिदिनुभयो। त्यो कार्य दुनियाँकै राजनीतिक इतिहासमा बिरलै देखिने त्यागको दुर्लभ एवं अद्भुत राजनीतिक घटना वर्तमान पुस्ताले पत्याउनै गाह्रो हुने घटना हो। 

निडर, साहस, त्याग र समर्पणका महान् प्रतिमूर्ति गणेशमान सिंह राजनीतिक व्यक्तित्वका हिसाबले जति कठोर र हठी देखिए पनि मनका त्यति नै सफा र कोमल अनि व्यवहारका दृष्टिले त्यत्तिकै सरल हुनुहुन्थ्यो। बिखर्ची भएर घर फर्कन सकिनँ भनेर आउने कार्यकर्तालाई खर्चको जोहो गरिदिने, खर्चका अभावमा उपचार गर्न नपाएकालाई सहयोग जुटाइदिने, कवि, साहित्यकारलगायत राष्ट्रिय जीवनका विविध क्षेत्रका जोकोही बिरामी पर्दा अस्पतालमा भेट्न जाने, आर्थिक सहयोग गर्ने उहाँको नियमितता नै थियो। सत्तामा नभएको कठोर पञ्चायतको प्रतिबन्धितकालमा उहाँको सहयोगी मन सबैका लागि प्रेरणाको विषय बनेको थियो।

गणेशमानजी एक हठी छवि भएको व्यक्ति पनि हो तर उहाँको त्यो हठधर्मिता व्यक्तिगत स्वार्थका लागि थिएन। प्रजातान्त्रिक आन्दोलनमा मूल्य, मान्यता, आदर्शको बाटोमा कहिल्यै कसैसँग सम्झौता नगर्ने, मूल्यको राजनीतिक मामिलामा पार्टीका आफ्नै नेतासँग पनि नझुक्ने हठीपनाले गणेशमान सिंहलाई लौहपुरुष बनायो। गणेशमानजी नेपाली कांग्रेसको सभापति हुनुभएन। कांग्रेसको वैधानिक सर्वोच्च पदमा नबसे तापनि पार्टीको सर्र्वोच्च कमान्डर हुनुभयो। त्यसले उहाँ पार्टीको मनपर्ने नेता मात्र होइन मुलुकका सबै दलले मान्ने नेता हुनुभयो। सर्वमान्य नेताका रूपमा लोकले जान्यो। हामीले नेताहरूलाई देवत्वकरण पनि ग¥यौँ। गणेशमानजी, किसुनजी र गिरिजाबाबुलाई ब्रह्मा, विष्णु महेश्वरले समेत पुका¥यौँ। भावनामा बगेर होस् वा अति सम्मान दिएको होस् त्यो भूल नै थियो। उनीहरू सामान्य मानिस नै थिए तर सर्वसाधारणभन्दा भिन्न विशिष्ठ मानिस थिए र देशको लामो प्रजातान्त्रिक आन्दोलनमा खेलेको भूमिका, त्याग र तपस्याले उनीहरूलाई विशिष्ठ सम्मानित स्थान दिएको थियो। बीपी, किसुनजीलगायतका नेताबाट जस्तै गणेशमान सिंहबाट पनि राजनीतिमा भूल भएको छैन भन्ने छैन। निश्चय नै अन्य मानिसजस्तै उनी पनि आलोचना र विरोधबाट मुक्त थिएनन्। विशेष गरेर बीपी बाँचुन्जेल बीपीको निकट मित्र र अनुयायी भएर पनि बीपी कोइरालाको निधनपछि बीपीको विचार र राजनीतिक अडानविपरीत छरिएका कम्युनिस्टलाई सङ्गठित पार्ने अनि आफ्नो नेतृत्वमा भएको २०४६ सालको जनआन्दोलनमा साथ लिएर हिँड्नु गणेशमान सिंहको ठूलो राजनीतिक भूल थियो भनेर मान्ने कांग्रेसीजनहरू प्रशस्त छन्। बीपीको दृढ अडान थियो, “प्रजातन्त्र बरू १० वर्ष ढिलै आओस्, प्रजातान्त्रिक शक्तिले आफ्नो खुट्टामा उभिएर क्रान्ति गर्ने हो। कम्युनिस्टसँग मिलेर क्रान्ति गर्ने होइन। किनभने कम्युनिस्टहरू प्रजातन्त्रवादी पनि होइनन्, यी राष्ट्रवादी शक्ति पनि होइनन्।” निश्चय नै त्यो जनआन्दोलनमा कम्युनिस्टहरूलाई कांग्रेसले रिकग्नाइज्ड (मान्यता दिएको) गरेकै कारण नेपाली राजनीतिमा कम्युनिस्टहरू बलिया बन्दै गए। उनीहरू प्रजातन्त्रका लागि चुनौती बन्दै गए। यतिसम्म त ठीकै थियो भनौँ पछि गिरिजाबाबुले कम्युनिस्ट शक्तिलाई काँधमा नै बोक्नुभयो, सक्किगो। अहिले गणेशमान सिंहसहितको नेतृत्वले इतिहासमा दुःखपूर्वक स्थापना गरेको गौरवशाली नेपाली कांगेस पार्टी आज जनताका बीचमा कमजोर हुन्छ कि भन्ने चिन्ता सबैमा छ। 

नेपाली राजनीति इतिहासको त्यो कालखण्ड, जहाँ गणेशमान सिंहजस्ता नेता यो देशमा थिए, त्यस्ता महान् नेतासँग नजिक रहेर काम गर्ने सौभाग्य पाइयो भनेर सम्झँदा पनि आज यो मन त्यसै–त्यसै पुलकित भएर गर्वले फुलेर आउँछ। फेरि आज कांग्रेस बरालिएको हो कि भन्ने चिन्ता लाग्न थालेको छ। जुन नेपाली कांग्रेसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता उच्च नैतिक छवि भएका महान् राजनेताहरूले जीवन छँदै आफैँले स्थापना गरेको पार्टी भारी मनले परित्याग गर्नुप¥यो भने आजको कांग्रेसको जीवनमा गणेशमान, किसुनजी र बीपीलाई खोज्नुको औचित्य कति छ ? आफैँमा यो ठूलो प्रश्न खडा हो। 

आजको कांग्रेसमा यो प्रश्नको औचित्यपूर्ण जवाफ दिन सक्ने नैतिक सामथ्र्य सायद कसैसँग छैन। जबसम्म पार्टीको स्थापनाकालीन नीति, सिद्धान्तलाई बुझेको साहसी नेतृत्व, आदर्श र निष्ठाको मार्गमा हिँड्ने कार्यकर्ता जमात तयार हुँदैन, अपमान र पीडाको घुट्की पिउँदै कांग्रेस परित्याग गरेका गणेशमानको सम्मान हुँदैन। जबसम्म कांग्रेसमा बीपी, गणेशमान र किसुनजीलगायतको सम्मान हुँदैन। यति नहुँदासम्म इतिहासको त्यो गौरवशाली कांग्रेसले आफ्नौ गौरवलाई पुनस्र्थापित गर्न सक्दैन। यो मर्मलाई बेलैमा बुझेर नपछ्याएसम्म पार्टीमा गणेशमानजीलगायतका नेतामाथि न्याय हुनेछैन। अन्त्यमा, २५औँ स्मृति दिवसमा हार्दिक श्रद्धाञ्जली गणेशमानजी। लेखक नेपाली कांग्रेसका नेता हुनुहुन्छ।  गाेरखापत्रअनलाइनबाट 

Add suchana
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page