विनायकमा जीप दुर्घटना: पाँच जना घाइते
अछाम । मध्यपहाडी राजमार्ग अन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित थापामोडमा बिहीबार साँझ एक जीप दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन् ।
दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जनकपुरस्थित सत्लोक आश्रमको बा.प्र.०१–०२७ च २२७७ नम्बरको जीप बिहीबार (जेठ १५ गते) बेलुका ६:५० बजे दुर्घटनामा परेको हो । गुडिरहेको जीप अनियन्त्रित भई थापामोडबाट करिब २०० मिटर तल कुँजेडातर्फ जाने कच्ची सडकमा खसेको अछाम प्रहरीले जनाएको छ ।
घटनालगत्तै अस्थायी प्रहरी पोष्ट बेल्खेतबाट खटिएको प्रहरी टोलीले स्थानीयको सहयोगमा घाइतेहरूको तत्काल उद्धार गरेको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अमप्रकाश खनालले जानकारी दिनुभयो । घाइते सबै जनालाई प्राथमिक उपचार तथा थप उपचारका लागि दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पठाइएको अछाम प्रहरी प्रमुख खनालको भनाइ छ ।
प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकसहित पाँचै जनाको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको छ । जीप चालकको पहिचान र दुर्घटनाको विस्तृत कारणबारे अनुसन्धान भइरहेको अछाम प्रहरीले जनाएको छ ।
