द्वन्द्व पीडितले न्याय नपाएको सरोकारवालाहरूको गुनासो
मंगलसेन । विस्तृत शान्ति सम्झौतामार्फत मुलुकमा १० वर्षे सशस्त्र द्वन्द्व अन्त्य भएको दुई दशक पुग्न लाग्दा पनि वास्तविक द्वन्द्वपीडितले अझै उचित न्याय पाउन नसकेको गुनासो गरेका छन् । सुदूरपश्चिम प्रदेशमै द्वन्द्वबाट सबैभन्दा बढी प्रभावित अछाम जिल्लाका सरोकारवालाहरूले सोमबार मंगलसेनमा आयोजित एक कार्यक्रममा यस्तो गुनासो गरेका हुन् । संक्रमणकालीन न्याय निरुपणका लागि पटक-पटक आयोग गठन भई प्रतिवेदन बुझाइए पनि पीडितका मूल समस्या अझै सम्बोधन हुन नसकेको उनीहरूको निष्कर्ष छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रादेशिक कार्यालयको आयोजनामा भएको “संक्रमणकालीन न्याय र सरोकारवालाहरूको भूमिका” विषयक अन्तरक्रियामा सहभागीहरूले राज्य र विद्रोही दुवै पक्षको उदासिनताका कारण न्याय प्रक्रिया ओझेलमा परेको निष्कर्ष निकालेका छन् । कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश रोशन कुमार भट्टराईले छानबिनको दायरामा आफूहरू पनि मुछिने डरले सरकार र द्वन्द्वरत पक्ष दुवैले न्याय निरुपणलाई प्राथमिकतामा नराखेको टिप्पणी गर्नुभयो । राज्य र यसका निकायहरू यस मामिलामा अत्यन्त निरीह देखिएको भनाइ थियो ।
इन्सेक सुदूरपश्चिमका प्रमुख खड्कराज जोशीले विभिन्न निकायबाट संकलित तथ्याङ्कमा एकरूपता नहुँदा काम गर्न समस्या भएको उल्लेख गर्नुभयो । कानुनी अस्पष्टता अर्को चुनौतीका रूपमा रहेको भन्दै उहाँले द्वन्द्वकालमा विस्थापित भएकाहरूको पुनरस्थापनाका लागि राज्यकातर्फबाट ठोस प्रयास नै नभएको बताउनुभयो । सुदूरपश्चिममा अछाम सबैभन्दा बढी प्रभावित भए पनि जिल्लामा द्वन्द्वसम्बन्धी मुद्दाको दर्ता विवरण नगण्य रहेको भन्दै अब पीडितको घाउमा मलम लगाउन स्थानीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड सरोकारवालाहरूको रहेको छ ।
राजनीतिक प्रभाव र अनुसन्धान प्रक्रियामा हुने ढिलासुस्तीका कारण हजारौँ मुद्दा अझै समाधान हुन नसकेको र हजारौँ पीडित प्रतीक्षामै रहेको सरोकारवालाहरूले औंल्याएका छन् । आगामी दिनमा यो प्रक्रियालाई सहज बनाउन संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकारसँग गहन छलफल गरिनुपर्ने निष्कर्ष कार्यक्रमले निकालेको छ । संक्रमणकालीन न्याय लम्बिदा पीडितले थप राज्यको गैरजिम्मेवारपन भएको सहभागीहरूको भनाइ छ । कार्यक्रममा द्वन्द्व पीडित नविन ढुंगाना, गोपाल ढुंगाना, शंकर बहादुर रावल लगायतले गुनासो गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय प्रमुख ईश्वरदत्त जोशी, मंगलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुंगाना, बार एकाइका अध्यक्ष खडक खड्का, अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल र नागरिक समाजका अध्यक्ष शंकर रावल लगायत विभिन्न कानुनी निकाय, सरकारी कार्यालयका प्रतिनिधि एवं स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका प्रलेख अधिकृत कृष्ण बहादुर विकले कार्यक्रमका अतिथिहरूलाइ स्वागत र सहजिकरण गर्नुभएको थियो ।
