बृहत् राजनीतिक एकताको बहस

विष्णुप्रसाद पन्थ

धेरै वाम चिन्तकले देखेको एउटै सपना वा चिन्ता छ, वाम वा कम्युनिस्ट जनमतको रक्षा । हामीले पछिल्लो जनमत र आममनोविज्ञानको सही विश्लेषण गर्न जरुरी छ । पछिल्लो जनमत निराशा, अविश्वास र दिशाविहीनताको सिकार बनिरहेको छ । राजनीतिको मुख्य सवाल देशलाई अहिलेको चक्रव्यूहबाट मुक्त गर्नैपर्ने छ । देशमा कसैले पनि भविष्य देखेका छैनन् र त आममान्छेहरू बिदेसिन चाहन्छन् ।

प्रतिशतका आधारमा तथ्याङ्क निकाल्ने हो भने सबैभन्दा बढी राहदानी बनाउने देश नेपाल नै होला । एयरपोर्ट, राहदानी विभाग, मेनपावर वा कन्सल्टेन्सी, भिसा सेन्टर, तोकिएका मेडिकल सेन्टरमा मान्छेको भिड अपरम्पार छ । जुन देशका मान्छे आफ्नो सरकार र व्यवस्था अनि राजनीतिलाई सराप्दै विदेश जान्छन्, त्यो देशका नेताहरूमा नैतिकता छैन भन्ने बुझ्नु पर्छ । निराशा उत्पादन गर्नेमा सबैभन्दा बढी वामशक्ति छन् किनकि उनीहरूले नै सबैभन्दा बढी क्रान्ति, परिवर्तन र समानताका आशा बाँडेका थिए । अहिले त कम्युनिस्ट भन्दा लाज लाग्ने अवस्था बनेको छ । 

नेपालमा वाम समर्थक जनमत ठुलो छ र करिब दुई तिहाइको नजिक छ । नेपालमा एउटा अनौठो रोग छ, त्यो हो– भ्रष्टाचार; जुन माथिबाट नै संस्थागत हुन्छ । भ्रष्टाचारको केन्द्रमा पहुँचवाला र सत्ताधारी नै हुन्छन् र उनीहरूले नेतृत्व गर्छन् । अहिलेको विद्यमान व्यवस्था, नेतृत्व र बेथितिविरुद्ध जनआक्रोश बढ्दो छ भन्ने तथ्यलाई सबैभन्दा पहिले वामशक्तिले निष्कर्ष निकाल्न जरुरी छ । 

अहिलेको अवस्थामा दुई वटा राजनीतिक बुझाइलाई विश्लेषण गर्नु बुद्धिमानी हुन्छ । १. पुराना दल र नेतृत्व सच्चिनेवाला छैनन् र तिनीहरूबाट देश र जनताले आशा गर्नु पनि आत्मघाती हुन्छ र २. पुराना दल र नेतृत्वलाई नयाँ आधारमा सच्याउनुको विकल्प छैन किनकि भरपर्दो, परिपक्व र जनताको विश्वास जितेको नयाँ शक्ति जन्मिन सकेन । पुरानो दलहरूले आफ्नो जनमतलाई बचाउने हो भने उनीहरू नयाँ, सुधारवादी एजेन्डा र प्रतिबद्धताका साथ नयाँ धुव्रीकरणमा जान जरुरी छ । 

यो विषयलाई दलहरूले गम्भीरतापूर्वक लिएनन् भने देशमा अर्को राजनीतिक दुर्घटना हुने खतरा छ । विचारधाराको हिसाबले देशमा चार प्रकारका शक्ति छन् । ती हुन्– वाम, लोकतान्त्रिक, राष्ट्रवादी र नयाँ वैकल्पिक शक्ति । एक पटक सबै मिलेर आशा जगाउनुपर्ने छ । आशा जगाउने एउटा आधार छ, त्यो हो– नयाँ आधारमा बृहत् एकता । देशमा उल्लिखित चार शक्तिबिच स्वस्थ र रचनात्मक प्रतिस्पर्धा हुन जरुरी छ । 

अहिले वाम तथा समाजवादी मोर्चाको बहस केन्द्रमा छ । उनीहरूका लागि यो एउटा अन्तिम अवसर बन्न सक्छ । सायद त्यसपछि पनि सच्चिएन भने उनीहरूलाई पनि बिदाइ गर्नु उपयुक्त हुन्छ । देशलाई स्वाधीन, आत्मनिर्भर, स्थिर र प्रतिस्पर्धात्मक बनाउनु आजको मुख्य विषय हो । सहकार्य, सहअस्तित्व, सामूहिकता, स्वीकार्यता र हार्दिकता उनीहरूका लागि अपरिहार्य विषय हुन् । अरूसँग हिँड्न नजानेकै कारण एमाले विगतमा खुम्चिनु र एक्लिनु परेको तितो यथार्थ छ । अहङ्कार, दम्भ र घमण्डले होइन, सदासयता, उदारता र विश्वसनीयताले अरूको मन जित्न सकिन्छ । आजको मुख्य समस्या त नेतृत्वको विश्वसनीयता पनि हो न सबै जनता र शक्तिलाई साथमा अनि विश्वासमा लिएर देशलाई विद्यमान चक्रव्यूहबाट मुक्त गर्ने सपना बोकेका नेतृत्वको अभाव खड्किएको छ । त्यसलाई पूरा गर्ने दायित्व पनि उनीहरूको हो । 

लोकतान्त्रिक शक्तिहरूको एकता

नेपालमा वाम जस्तै लोकतान्त्रिक शक्तिहरूबिच एकता आवश्यक छ । वामहरूबाट देशले परिवर्तन, अग्रगमन र क्रमभङ्गताको अपेक्षा गरेको हुन्छ भने लोकतान्त्रिक शक्तिहरूबाट संस्कार, सभ्यता, आचरण अनि विधि पद्धतिको अपेक्षा गरेको हुन्छ । जब परिवर्तन हुन्छ तब एउटा पद्धति र सभ्यताको आवश्यकता पर्छ । विधि, पद्धति र पारदर्शिताको विषयका लोकतान्त्रिक शक्तिहरूले नेतृत्व गर्न सक्नु पर्छ । हाम्रो राजनीतिक अभ्यासमा न त वामहरूमा न त लोकतान्त्रिक शक्तिहरूमा फरक विशेषता र पहिचान छ । पछिल्लो इतिहासमा यो तथ्य चाहिँ सही छ कि सम्झौतामा उनीहरूले पटक पटक वामहरूबाट बनाउने विषयमा गल्ती वा धोका भएको विषयलाई स्वयम् प्रचण्डले उठाएका थिए । जब नेपाली कांग्रेस सरकारबाट बाहिरिन्छ, उसले संसद्मा वामहरूलाई पनि उछिन्छ । धैर्यता र संयमतालाई उसले अपनाउनु सही हुन्छ । वामहरूसँग प्रतिस्पर्धा गर्ने र उनीहरूलाई पनि चेक एन्ड ब्यालेन्स गर्ने शक्ति भएकाले पनि लोकतान्त्रिक शक्तिहरूको धुव्रीकरण देशलाई आवश्यक पर्छ ।

राष्ट्रवादी शक्तिहरूबिचको एकता 

आफूलाई राष्ट्रवादी शक्ति भनेर चिनाउन खोज्ने शक्ति पनि विभाजित छन् । राष्ट्रियता, जनतन्त्र र धर्म संस्कृतिको विषयलाई उठान गर्ने शक्तिका रूपमा उनीहरू स्थापित हुन चाहन्छन् । जनमत वा जनसमर्थनको हिसाबले उनीहरू पनि स्थापित र सशक्त नै छन् । पछिल्लो समयमा भएका विकृति, विसङ्गति, भ्रष्टाचार अनि सङ्घीयताको विरुद्धमा आवाज उठाएर उनीहरू पनि जनसमर्थनलाई उकास्ने रणनीतिमा छन् । खास गरी यो व्यवस्थाको विकल्पमा उनीहरू पनि आफ्नो रणनीतिक योजनाहरू बनाउँदै छन् । राष्ट्रवादी शक्तिहरू पनि विभाजित छन् । उनीहरूबिचको एकता वा मोर्चाबन्दी हुन सकेमा उनीहरू पनि थप शक्तिशाली बन्ने छन् । 

नयाँ र वैकल्पिक शक्ति

खास गरी पुराना दल, नेतृत्व र अपारदर्शी पद्धतिलाई विस्थापित गरेर मात्र देशले काँचुली फेर्न सक्छ भन्ने युवा जनमतको बलमा वैकल्पिक र नयाँ नयाँ शक्तिहरू स्थापित बनेका छन् । गत चुनावमा केही स्वतन्त्र उम्मेदवारहरू विजयी बने र उनीहरू काम गरेर स्थापित पनि बनेका छन् । बालेन शाह, हर्क साम्पाङ र गोपी हमालहरू चर्चित र लोकप्रिय मेयरका रूपमा स्थापित छन् । उता संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी सशक्त रूपमा स्थापित छ र त्यसको नेतृत्व रवि लामिछानेले गरेका छन् । 

संसद्बाहिर पनि वैकल्पिक अनि क्रान्तिकारी शक्ति छन् । विप्लव नेतृत्वको नेकपाले एउटा राष्ट्रिय अभियान नै चलाएको छ । समाजवादी धारालाई व्यावहारिक रूपमै स्थापित गर्ने तथा सामूहिक उत्पादन, आत्मनिर्भर अर्थतन्त्र, अस्पताल र विश्वविद्यालयको अवधारणालाई संस्थागत गर्ने अभियानमा छन् । उता किरण नेतृत्वको क्रान्तिकारी माओवादी पनि आफ्नो एजेन्डामा उभिएको छ । देशका लागि नयाँ र वैकल्पिक शक्तिहरूको धुव्रीकरण पनि आवश्यक छ । 

एउटा बृहत् तर विचारधारात्मक प्रतिस्पर्धा 

हाम्रो पछिल्लो राजनीतिक अभ्यासमा दलहरूमा वैचारिक पक्षधरता संस्थागत हुनै सकेन । लडाइँ सत्ता, सरकार र संसदीय अङ्कगणितमा केन्द्रित भयो । २०४६ सालको एउटा अभ्यास सुन्दर थियो ः वाममोर्चा तथा प्रजातन्त्रवादी मोर्चा । दुवैको फरक मुद्दा र पहिचानको साथमा केही साझा मुद्दामा मोर्चाबन्दी भएको थियो । २०६२/६३ को आन्दोलनमा संसद्वादी र माओवादीबिच गठबन्धन भएको थियो । संसदीय अभ्यासमा गएपछि दलहरूमा विचारधारात्मक पक्षधरताको अन्त्य र सरकारको मुद्दा प्रधान बन्दो रहेछ । 

सरकारको मुद्दा प्रधान बन्नासाथ राज्यकै ध्यान केवल सरकार बनाउने र ढाल्ने खेलमा केन्द्रित बन्दो रहेछ । सरकारलाई मात्र केन्द्रमा राख्ने उद्देश्यबाट नै पछिल्ला मोर्चाबन्दी बन्ने र भत्किने भए । चुनावमा पनि गठबन्धन भए तर ती कहिले प्राकृतिक त कहिले अप्राकृतिक भए । विचारधारात्मक हिसाबले र मुद्दाहरूमा हुने समानताका आधारमा हुने एकता वा धुव्रीकरणले जनतामा उत्साह ल्याउँछ । वामहरूबिच हुने सहमतिले वाम जनमतमा उत्साह सिर्जना गर्छ भने लोकतान्त्रिक शक्तिहरूबिचको एकताले उनीहरूमा ऊर्जा थप्छ । त्यसै गरी राष्ट्रवादी तथा नयाँ र वैकल्पिक शक्तिहरूमा पनि एकताको आवश्यकता छ । 

निष्कर्ष

मूलधारका हिसाबले देशमा चार प्रकारका शक्ति छन् भन्ने वैचारिक आधार देख्न सकिन्छ– वाम तथा समाजवादी, लोकतान्त्रिक, राष्ट्रवादी र नयाँ तथा वैकल्पिक शक्ति । पुराना दल र नेताप्रति भएको जनवितृष्णालाई ध्यानमा राख्दै स्वतन्त्रहरूको बाढी नै चल्यो । पार्टीको नाम पनि राष्ट्रिय स्वतन्त्र पार्टी बन्ने अवस्था बन्यो । स्वतन्त्र भन्ने शब्द नै प्रिय बन्दै जाने अवस्था बन्यो । यस्तो अवस्था हुनुको मुख्य कारण पुराना दलहरूको सत्ताकेन्द्रित राजनीति हो भन्नेमा विवाद नहोला । अहिले पछिल्लो समयमा विचारधारात्मक अनि मुद्दाकेन्द्रित राजनीति हाबी हुने छ । आगामी प्रतिस्पर्धा विचारधारात्मक बनोस् भन्ने चाहना छ । देशलाई अगाडि बढाउने मुद्दाका आधारमा मतदान वा चुनाव हुन सकोस् । देशलाई स्वाधीन, आत्मनिर्भर र समृद्ध बनाउने मुद्दामा बहस र प्रतिस्पर्धा भए देशले जित्ने छ । गोरखापत्र अनलाइनबाट साभार

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page