शैक्षिक कल्याण सहकारीको साधारणसभा सम्पन्नः अध्यक्षमा पुनः बोगटी चयन

शैक्षिक कल्याण बचत तथा ऋण सहकारी संस्थाको १४ औँ वार्षिक साधारण सभा शनिबार मंगलसेनमा सम्पन्न भएको छ । पुनः बोगटीकै नेतृत्वमा उक्त सहकारीको नयाँ नेतृत्व चयन गर्दै साधारणसभा सम्पन्न भएको हो ।

अछाम बहुमुखी क्याम्पसको हलमा सम्पन्न साधारण सभाका प्रमुख अथिति निवर्तमान प्रतिनिधिसभा सदस्य पुष्पबहादुर शाह रहनुभएको थियो । प्रमुख अथिति शाहले शिक्षकको सहकारीले राम्रो काम गरेको भन्दै बचतसँगै अर्थिक समस्या परेको बेलामा सहकारी सहयोगी हुने भनाइ राख्नुभयो । सहकारीका अध्यक्ष जय बहादुर बोगटीको अध्यतामा भएको भेलाका विशिष्ठ अतिथि पदमराज अधिकारी, र अथितिहरूमा नेपाली काँग्रेस अछामका महासमिति सदस्य  गणेश बहादुर विष्ट, तुर्माखाँद गाउँपालिकाका निवर्तमान अध्यक्ष पुष्पराज शर्मा, शिक्षक संघका अध्यक्ष नवेन्द्रराज जोशी लगायतले मन्व्य राख्नुभएको थियो । सभामा शिक्षक संघका विभिन्न तहका पदाधिकारी, वडाध्यक्ष तथा सहकारी र वित्तीय संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो ।

नयाँ कार्यसमिति गठन अघि सहकारीका अध्यक्ष बोगटीद्वारा प्रस्तुत संस्थागत प्रतिवेदन, कोषाध्यक्ष एकिन्द्र कुँवरको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक दिपबहादुर कुँवरको लेखा प्रतिवेदन प्रस्तुत भएर पारित भएके छ । समान उद्देश्य र आवश्यकताका आधारमा एकत्रित शैक्षिक समूह भएको उल्लेख गर्दै सदस्यहरूको हित संरक्षण र प्रभावकारी सेवा प्रवाह नै संस्थाको मूल उद्देश्य रहेको बोगटीले बताउनुभयो। सहकारी सिद्धान्तअनुसार ‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने मूल्य–मान्यतामा संस्था अघि बढिरहेको उहाँको भनाइ थियो।

बोगटीद्वारा प्रस्तुत प्रतिवेदनअनुसार वर्तमान कार्यसमिति कार्यभार सम्हाल्दा ३७ लाखभन्दा बढी घाटा रहेकोमा आर्थिक वर्ष २०७९/०८० मा १९ लाख १८ हजार बढी नाफा गर्न सफल भएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न सहुलियत लगायत छुट्याउँदा समेत एकलाख ७१ हजार बढी रुपैयाँ खुद मुनाफा आर्जन गरिएको पाइएको छ । यससँगै पुराना घाटा घटाएर २४ लाख १३ हजार बढी रुपैयाँमा झार्न सफल भएको प्रतिवेदनमा उल्लेख छ । सोही अवधिमा संस्थाको कुल कारोबार एक करोड ९९ लाख ८९ हजार बढी रुपैयाँ पुगेको छ भने खराब ऋण रकम ४४ लाख ८८ हजारमा घटाएर २५ लाख ९६ हजारमा झारिएको छ।

संस्थाले यसअघि आव २०७९/०८० मा कुल पूँजीको ५० प्रतिशतसम्म बोनस वितरण गर्दै बचतकर्ताहरूको खातामा ८ लाख रुपैयाँ बोनस जम्मा गरेको पाइएको छ । सदस्य कल्याणतर्फ पञ्चदेवल विनायक नगरपालिका र ढकारी गाउँपालिकाबाट प्राप्त ६ लाख ३० हजार रुपैयाँ अनुदान प्रयोग गरी ३०० जना शेयर सदस्यलाई सहकारी शिक्षा तालिम प्रदान गरिएको छ । यस्तै कमल बजार नगरपालिकाबाट ५ लाख ४६ हजार र साँफेबगर नगरपालिकाबाट ३ लाख ९४ हजार रुपैयाँ अनुदान प्राप्त भएको जानकारी सभामा दिइएको छ । संस्थामा शेयर सदस्य संख्या ५१८ बाट बढेर ५२७ पुगेको तथ्यांक सार्वजनिक गरिएको छ ।

उक्त सहकारीले उत्कृष्ट कार्यवापत नेपाल शिक्षक संघको जिल्ला, सुदूरपश्चिम प्रदेश र केन्द्रीय कार्यसमितिबाट प्रशंसा पत्रसमेत प्राप्त भएको उल्लेख गरिएको छ। प्रतिवेदनले ऋण असुलीमा कठिनाइ, नियमित बचतमा अपेक्षित वृद्धि हुन नसक्नु, सहकारीप्रति घट्दो जनविश्वास, भौगोलिक विकटता लगायत चुनौतीहरू पनि औँल्याएको छ। आगामी आर्थिक वर्ष २०८२/०८३ मा शेयर सदस्य संख्या ७०० पुर्‍याउने, प्रति सदस्य कम्तीमा १० हजार रुपैयाँ शेयर पूँजी बनाउने, भाखा नाघेका ऋणीमाथि सहकारी ऐन २०७४ अनुसार कारबाही अघि बढाउने तथा संस्थाको कारोबार पारदर्शी बनाउन सफ्टवेयर लागू गर्ने नीति लिइने अध्यक्ष बोगटीले जानकारी दिनुभयो ।

साधारण सभामा उठेका सुझावहरूलाई ऐन–कानून र संस्थाको सामर्थ्यभित्र रहेर कार्यान्वयन गर्ने प्रतिबद्धतासहित सभा सम्पन्न भएको जनाइएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!