यी हुन् अछाम आउने सीडीओ सा’ब
मंगलसेन । अछामको प्रमुख जिल्ला अधिकारीमा उपसचिव यज्ञ बहादुर बुढालाई गृह मन्त्रालयले जिम्मेवारी दिएको छ । जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी बुढा अछाममा आउने भएका हुन् ।
गृह मन्त्रालयको आज मंगलबारको निर्णय अनुसार बुढालाई अछाम जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा गरिएको हो । दाङवासी बुढा सोही जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा २०८१ फागुन १२ बाट कार्यरत रहनुभएको थियो । बुढा मिहनेती, सरल, शान्त स्वभाव र कामप्रति इमान्दार मानिएको बताइएको छ ।
यस्तै एक महिना अघि गुल्मीबाट अछामको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएका सहसचिव विष्णुप्रसाद कोइरालालाई आज मंगलबार गृह मन्त्रालयले फेरी डडेल्धुरा सरुवा गरेको छ । कोइराला अछामको प्रमुख जिल्ला अधिकारीमा हाजिरी नभएरै डडेल्धुरा सरुवा गरिएको हो । कोइराला तत्कालीन जिल्ला विकास समितिको कार्यालय अछाममा स्थानीय विकास अधिकारी (एलडिओ) भएर कार्य गरिसक्नुभएको थियो ।
यसअघि २०८१ चैत ११ बाट अछामका प्रमुख जिल्ला अधिकारी रहनुभएका सहसचिव आनन्द सारु पनि गुल्मीको प्रमुख जिल्ला सरुवा गरिएका थिए । सारू गुल्मीमा हाजिर नै नभएर गृह मन्त्रालयले दैलेख सरूवा गरेपछि दैलेखको प्रमुख जिल्ला अधिकारीमा कार्य थालनी गरिसक्नु भएको छ ।
