सुत्केरी सरिताको निधनपछि परिवार नै बिचल्लीमा: परिवारको जिम्मा १२ वर्षीया मनिसालाई
अछाम । ढकारी गाउँपालिका–६ गलवालकी ३० वर्षीया सरिता जैसीले बिहीबार स्वास्थ्य संस्था नपुग्दै बाटोमा छोरालाई जन्म दिइन् । बच्चा सहित सुत्केरीलाई स्थानीय ढुंगाचाल्ना स्वास्थ्य केन्द्र पुर्यायो । स्वास्थ्यकर्मीले रगत बगिरहेका कारण जिल्ला अस्पताल लैजान भन्दै प्रेषण गर्यो । अत्याधिक रक्तश्रावका कारण जिल्ला अस्पताल मंगलसेन नपुग्दै सरिताले बाटैमा देहत्याग भयो ।
घरकी एक्ली साहरा सरिताको निधनपछि परिवार विचल्लीमा परेको छ । शोक, भोकसँगै हप्ता दिन नपुगेको बालक, र अरु तीन १३ नकटेका बालबालिका, आँखा नदेख्ने श्रीमान् र उमेर कटेकी सासुको भविष्य अन्यौल परेको छ । सरिता एक्लैले कमाएर धानेको परिवार उनैको निधनपछि सहाराविहिन भएको छ । घरको कमाइका आधार मृतकका ससुराको क्यान्सरको कारण दुई वर्षअघि मृत्यु भएपछि सबै जिम्मेवारी सरिताको काँधमा आएको थियो ।
छ जनाको परिवारमा एक्लैले पालेर धानेकी सरिताको मृत्युपछि घरपरिवार भताभुङ्ग हुने अवस्थामा पुगेको छ । “घरकी एक्ली भर थिइ, उ गइहाली, अब हामी कइका भरमा बाँचु ।” ५५ वर्षीया कमजोर बनेकी वर्षीया मृतककी सासु पदमा देवी जैसी धरधरी रुदै भन्नुभयो । साना केटाकेटी भया, बा (मृतकका श्रीमान्) आँखा देख्दैन, म बुढी भइहाल्याँ । पदमाले थप्नुभयो । परिवारमा कमाएर खुवाउन सक्ने कोही नभएकोले बिहान बेलुकी चुलो बाल्न समेत अप्ठेरोमा परेको छ । परिवारमा कमाउने खालको व्यक्ति नै नभएका कारण उनीहरुलाई घर चलाउन र केटाकेटीलाई विद्यालयमा पढाउन समस्या रहेको स्थानीय रतन जैसीको भनाइ छ ।
सरिताले जन्माएर पनि राम्ररी अनुहार नदेखेको बालकलाई दुध खुवाउने जिम्मा निजकै फुपूको छ । माइती आएर भर्खरै जन्मेको भदैयालाई दुध चुसाउन हस्तकलाको बाध्यता छ । “उसलाई बचाउन त पर्यो भनेर मैले दुध खुवाइरहेकी छु ।” भाउजुको शोकमा कपडा बारेकी हस्तकला जैसीले भन्नुभयो । हस्तकलाले आफ्नो डेढ वर्षकी छोरी पनि दुध चुसाउनुपर्ने बाध्यता छ । “बच्चा रातीतिर मात्रै रुन्छ, दिउसो त मजाले सुत्छ । तीन दिने बालकको हेरचाहमा खटिनुभएकी स्थानीय निर्मला देवकोटाले भन्नुभयो । “दुवै आँखा केही पहेँलो भएको छ यसलाई (तीन दिने बालक) चेक गर्नुपर्ने छ ।” देवकोटोले थप्नुभयो ।
सेतो कपडामा रहेका मृतकका श्रीमान टेकराज श्रीमती वियोगमा आँखाबाट टिलपिल आँसु झार्नुहुन्छ । घरको सहारासँगै जीवन संगिनी गुमाएका दृष्टिविहिन टेकराज शब्द नै सितिमिति निस्कदैन । परिवार नै एकोहोरो र टोलाएको अवस्थामा टिनले छाएको सानो घरको पेटीमा एक लाइनमा बसिरहेका देखिन्छन् । गलबाल बजार नजिकैको घर भएपनि सरिताको मृत्युपछि परिवारले एक्लोपन महसुस गरिरहेको बताएका छन् ।
क्रिया खर्चमा समेत चिन्तित रहेको बेलामा केही यूवाहरुले खाद्यन्न, लुगाकपडा र भाँडाकुडा राहत स्वरुप घरमै पुर्याइ दिएपछि क्रिया काट्न सहज भएको परिवारले महसुस गरेको छ । ढकारी गाउँपलिकाका उपाध्यक्ष नेत्रकला शाही मृतकको घरमै पुगेर केही रकम व्यक्तिगत रुपमा सहयोग गरेपछि गाउँपालिकाबाट परिवारमा केही सहयोग हुने आश्वसन दिनुभएको छ । साना बालबालिका, अपाङ्ग र वृद्ध अभिभावक भएपछि कसैबाट सहयोग नभए परिवारमा संकट आउने स्थानीयको अनुमान रहेको छ । बालबालिकाको शिक्षा र पालनपोषणको दीर्घकालिन व्यवस्थाका लागि पीडित परिवारको चाहना छ ।
१२ वर्षीयाको काँधमा परिवारको जिम्मेवारी
परिवारको जिम्मा १२ वर्षीया मनिसाको काँधमा आइलागेको छ । तीन भाइ हुकाउन, बुढी बज्यै र अपाङ्ग बुवाको रेखदेखमा १२ वर्षीया सरिताको जिम्मा आइलागेको छ । साथीसँगै खेल्ने, विद्यालय जाने र परिवारको मायामा हुर्कने समयमा मनिसाले परिवार पाल्ने भारी बोक्नु परेको छ ।
नौ वर्षका भाइ युवराज र ७ वर्षका अर्का भाइ लक्ष्मण, बुवा टेकराज र बज्यै पदमाको सहारा १२ वर्षिया मनिसाले बन्नुपरेको छ । “घर कमाउन्या कोइ छैन, खाना पकाउन्या देखि गणा, वन मैलेइ गर्नुपर्ने भयो, स्कुल जान्या ट्याम नहुन्या भयो ।” आमाको निधनमा एकसरो लुगामा रहेकी मनिसाले भन्नुयो । नजिकै केही पाइला हिँडेपछि पुगिने पञ्चज्योती आधारभूत विद्यालयमा मनिसा ७ कक्षा अध्ययनरत छन् । उनका अर्का भाइ युवराज ५ र लक्ष्मण ३ कक्षामा पढिरहेका छन् । ढकारीबाट फर्केर ।