अछाम प्रहरीद्वारा ‘यात्रु सहायता कक्ष’ स्थापना

आसन्न विजयादशमी, दीपावली तथा छठ पर्वलाई लक्षित गरी अछाम प्रहरीले ‘नागरिक यात्रु सहायता कक्ष’ स्थापना गरेको छ । नागरिक तथा यात्रुको सहजताका लागि अछाम सदरमुकाम मंगलसेनमा ‘नागरिक यात्रु सहायता कक्ष’ सञ्चालनमा ल्याइएको हो ।

चाडपर्वको समयमा यात्रुहरूको चाप बढ्ने, सवारी साधनमा बढी भाडा लिने वा यात्रु ठगिने, तथा पाकेटमार एवम् आपराधिक गतिविधि बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै सहायता कक्ष स्थापना गरिएको अछाम प्रहरीले जनाएको छ । यात्रुहरूलाई गन्तव्यसम्म पुग्न आवश्यक सही सूचना प्रदान, तोकिएको भन्दा बढी भाडामा नियन्त्रण ल्याउने काम गरिने बताइएको छ । यस्तै यात्राका क्रममा सामान हराएमा वा भेटिएमा खोजी तथा हस्तान्तरण, कुनै पनि समस्या वा आपतकालीन अवस्थामा तत्काल उद्धार तथा कानूनी सहायता प्रहरीले उपलब्ध गराइने भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पबिन्द्र बहादुर बम्मको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बम्मले ट्राफिक नियमको पूर्ण पालना गर्न, तीव्र गतिमा सवारी साधन नचलाउन र यात्रालाई मर्यादित एवम् सुरक्षित बनाउन सबै पक्षलाई आग्रह गर्नुभयो । चाडपर्वका बेला दुर्घटनाबाट बच्न र नागरिकलाई सुरक्षित गन्तव्यसम्म पुर्याउन यातायात व्यवसायी, बजार व्यवस्थापन समिति र आम नागरिकको सहकार्य अपरिहार्य रहेको उहाँको भनाइ थियो ।

सहयोग कक्ष स्थापना कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष झंकर प्रसाद भाट लगायत  जनप्रतिनिधि, यातायात व्यवसायी समिति, बजार व्यवस्थापन समिति, स्थानीय, भद्रभलादमी तथा सर्वसाधारण नागरिकहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page

error: Content is protected !!