तुर्माखाँदमा एकसय ३७ घरपरिवार विस्थापित

अछाम । बाढी र पहिरोले मृत्यु हुने डरले तुर्माखाँद गाउँपालिकाका एकसय ३७ घरपरिवारका ८१८ जना विस्थापित भएका पाइएको छ । भदौ महनिाको अन्तिम दिनको रातीसम्म तीन दिन परेको पानीले आठवटै वडाका ४२६ पुरुष र ३९२ महिला विस्थापित भएको जनप्रतिनिधिले विवरण संकलन गरेका छन् ।

बाढी र पहिरोका कारण तुर्माखाँद गाउँपालिका–५ नाडामा सबैभन्दा बढी ५४ घरपरिवार विस्थापित भएका छन् । नाडाका विस्थापित भएका ३२५ जना मध्येमा आफन्त, विद्यालय, वडा कार्यालय, डाँडा र जंगल काटेर त्रिपालमा बसिरहेको वडा अध्यक्ष महेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । “यहाँका मान्छेले पहिरोको डरले घर छाडेको दश दिन भयो ।” अध्यक्ष शाहीले भन्नुभयो । “सबैको पालमा ९त्रिपाल० मा बास छ ।” तुर्माखाँदमा अभिभावकसँगै ३६४ बालबालिका समेत विस्थापित भएका छन् ।

वडा नम्बर १ मा १५ घरका ९० जना, २ का तीन घरका ३२, ३ मा १४ घरका ७५ जना, ४ मा १० घरका ६४ जना विस्थापित भएका गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिनुभयो । यस्तै वडा नम्बर ६ का ७ घरका ५५ जना, ७ का २४ घरका एकसय आठ जना, वडा नम्बर ८ मा रहेका १० घरका ८० जना विस्थापित भएका विवरण छ । आंसिक र पूर्ण क्षति भएका घरहरुको विवरण निकाल्ने क्रममा रहेको गाउँपालिका श्रोतले जानकारी दिएको छ ।

घर भत्केर पूर्ण क्षति भएर अलग्गै बसिरहेकाहरुका लागि सरकार र अन्य निकायसँगको समन्वयमा राहतका कामहरु गरिरहेको गाउँपालिका अध्यक्ष डम्बर वीसीले जानकारी दिनुभयो । यसअघि गाउँपालिकाले पीडितलाई ५० हजारका दरले दिएको र घर पूर्ण क्षति भएको परिवारका आवास र लत्ताकपडाका लागि केही रकम दिने गाउँपालिकाको सोच रहेको अध्यक्ष वीसीको भनाइ छ ।

संघीय श्रम तथा रोजगार मन्त्री शेरबहादुर कुँवर, सुदूरपश्चिमकका मुख्यमन्त्री त्रिलोचन भट्ट र आर्थिक मामिला तथा कानुन मन्त्री रणबहादुर रावलले प्रभावित क्षेत्रको हेलिकप्टरबाट यसअघि नै निरीक्षण गरिसक्नुभएको छ । मन्त्री कुँवरले राहतमा कमी हुन नदिने र मुख्यमन्त्री भट्टले भौतिक संरचनाको क्षतीको विवरण तत्तकाल पठाएपछि आफूहरुले सम्बोधन गर्ने भनाइ राख्नुभएको छ ।

वास्तिवक रूपमा घर भत्केको वा जोखिममा रहेको भन्ने बारेमा विस्तृत रूपमा अध्ययन गर्नुपर्नेमा केही स्थानीयको भनाइ आएको छ । वास्तिवक पीडितलाई अवस्था हेरेर राहतका सामग्री तत्काल सहयोग गर्नुपर्नेमा केही स्थानीयको जोड रहेको छ ।

भदौ ३१ गते राती घर माथिबाट आएको पहिरोले दुई घर पुरिँदा तुर्माखाँद गाउँपालिका–५ नाडाको काँडाकोटका दुई घर पुरिँदा नौ जनाले ज्यान गुमाएका थिए । सोही राती पहिलेले घर भत्किँदा कमलबजार नगरपालिका–६ वीरपथमा सात जना, र वडा नम्बर ८ मा पाँच जनाको मृत्यु भएको थियो ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page