अछाम प्रशासनद्वारा सवारी साधन दुई दिन चल्न रोकः यात्रा नगर्न अनुरोध
अछाम । जिल्ला प्रशासन कार्यालयले अछामबाट बाहिरी जिल्ला चल्ने लामो दूरीका सवारी साधनमा रोक लगाएको छ । प्रशासन कार्यालयले सामाजिक सञ्जालमा एक सूचना जारी गरेर अज असोज १० र ११ गते दिउसो र राती चल्ने सबै सवारी साधन रोकेको हो ।
अछाम जिल्लामा निरन्तर वर्षा भइरहेकाले बाढी, पहिरो लगायतका विपद्जन्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै अछामबाट लामो दूरीमा सञ्चालन हुने सबै सार्वजनिक सवारीसाधनमा दुई दिनका लागि रोक लगाइएको बताइएको छ । सम्भावित विपद्का कारण यात्रु तथा सवारीसाधनको सुरक्षा जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णण गरिएको बताइएको छ ।
सवारी सञ्चालनमा लगाइएको रोकका कारण असोज १० र ११ गते अछामबाट लामो दूरीका लागि यात्रा गर्ने योजना बनाएका यात्रुहरूले आफ्नो यात्रा स्थगित गर्न वा परिस्थिति सामान्य भएपछि मात्र यात्रा गर्न सम्बन्धित निकायले आग्रह गरेको छ । निरन्तरको वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण तथा मुख्य सडकखण्डमा बाढी, पहिरो, सडक अवरोध तथा भौतिक क्षति हुन सक्ने सम्भावना रहेकाले यात्रुहरूको आवागमनलाई सुरक्षित बनाउन सवारी सञ्चालनमा अस्थायी रोक लगाइएको जनाइएको छ ।
सम्बन्धित सरोकारवाला, यातायात व्यवसायी, चालक, सहचालक तथा यात्रुहरूलाई उक्त निर्णयको पालना गर्न अनुरोध गरिएको छ। साथै विपद्जन्य अवस्था उत्पन्न भएमा सम्बन्धित निकायबीच आवश्यक समन्वय र सहकार्य गर्दै यात्रु तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ । वर्षाका कारण पहाडी सडकखण्डमा पहिरो खस्ने, सडक भासिने, खोलानालामा पानीको बहाव बढ्ने तथा यातायात अवरुद्ध हुने जोखिम रहने भएकाले लामो दूरीका यात्रामा थप जोखिम उत्पन्न हुन सक्ने अवस्थालाई ध्यानमा राखिएको छ ।
वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमलाई कम गर्न सबै पक्षबाट सावधानी अपनाउनुपर्नेमा जोड दिँदै कठिन परिस्थितिमा यात्रु, यातायात व्यवसायी, चालक तथा सम्बन्धित सुरक्षा निकायबीच उचित सहयोग र समन्वय आवश्यक रहेको बताइएको छ । सवारी सञ्चालनमा लगाइएको रोक असोज १० र ११ गतेका लागि मात्र लागू हुने र त्यसपछिको अवस्था हेरेर यातायात सञ्चालनबारे आवश्यक निर्णय गरिने जनाइएको छ ।

