आजबाट बडादसैँ सुरूः पहिलो दिन घटस्थापना
अछाम । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने यस वर्षको बडादसैँ आजदेखि सुरू भएको छ । बडादसैँको पहिलो दिन आज घर-घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । घटस्थापना गर्दा पूजाकोठा वा दसैँघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
घटस्थापनाको साइत बिहान १०:२३ मा शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताएका छन् । गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दसैँ घरमा पवित्र नदी वा चोखो स्थलबाट बालुवा अथवा माटो ल्याई विधिपूर्वक जमरा राखिन्छ ।
घटस्थापनाको दिनदेखि नवरात्र सुरू हुन्छ । नवरात्रभर दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्ति, महालक्ष्मी धनधान्य र ऐश्वर्य तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजाआरधना गर्ने परम्परा छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।
आजैदेखि दसैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसहित समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।