भारी वर्षाको सम्भावनाः उच्च सतर्कता अपनाउन अछाम प्रशासनको आग्रह
मंगलसेन । अछाममा भारी वर्षा हुनसक्ने भन्दै जिल्ला प्रशासन कार्यालय, अछामले बाढी तथा पहिरोको जोखिममा रहेका क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । एउटा सूचना जारी गरेर कार्यालयले असोज ९ गते पर्सी शुक्रबारदेखि ११ गते आइतबारसम्म जिल्लावासीले उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाद्वारा जारी गरिएको सूचनामा उल्लेख छ ।
भारी वर्षाको समयमा विशेषगरी नदी तथा खोलानाला आसपास, भिरालो जमिन, पहिरोको जोखिम रहेका बस्ती र सडक क्षेत्रमा थप सावधानी अपनाउनुपर्ने देखिएको सूचनामा उल्लेख छ । सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि जोखिमयुक्त स्थानका नागरिकलाई समयमै सुरक्षित स्थानतर्फ जानुपर्ने अवस्था आएमा स्थानीय प्रशासन तथा सुरक्षा निकायको सूचनालाई प्राथमिकताका साथ पालना गर्नसमेत आग्रह गरिएको छ ।
भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो तथा सडक अवरोध हुनसक्ने र त्यसबाट यातायात सेवा प्रभावित हुनसक्ने भएकाले अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ । यात्रा गर्नैपर्ने अवस्था भएमा सम्बन्धित सडक तथा जोखिमको अवस्था बुझेर मात्र यात्रा गर्न र मौसमसम्बन्धी आधिकारिक सूचना तथा बुलेटिन नियमित रूपमा सुन्न तथा पढ्न आग्रह गरिएको छ ।
प्रशासनले भारी वर्षाका कारण आपत्कालीन अवस्था सिर्जना भएमा वा उद्धारको आवश्यकता परेमा सम्बन्धित अधिकारी तथा सुरक्षा निकायका सम्पर्क नम्बरमा जानकारी गराउनसमेत आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले उक्त अवधिमा देशभर भारी वर्षाको सम्भावना रहेको भन्दै मनसुन विशेष मौसम बुलेटिन जारी गरेपछि जिल्ला प्रशासन कार्यालय अछामले सम्भावित विपद्लाई मध्यनजर गर्दै जिल्लाबासीका लागि विशेष सतर्कतासम्बन्धी सूचना जारी गरेको हो ।
त्यस्तै जिल्लामा रहेका स्थानीय तह, सुरक्षा निकाय, विषयगत कार्यालय, राजनीतिक दल, नेपाल रेडक्रस, विभिन्न संघसंस्था तथा सञ्चारमाध्यम लगायत सबै सरोकारवाला निकायलाई आ–आफ्नो क्षेत्रबाट पूर्वतयारी तथा उच्च सतर्कता अपनाउन भनिएको छ । यस्तै ति निकायहरूले सूचना प्रवाह गर्न र विपद् व्यवस्थापनमा आवश्यक सहयोग, समन्वय तथा सहजीकरण गर्न प्रशासनले अनुरोध गरेको छ ।
वर्षाका कारण समस्या आइपरेमा जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायलाइ सम्पर्क गर्नुपर्ने आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी नायब उपरीक्षक, सहायक प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर सार्वजनिक गरिएको छ । यस्तै जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका पैसा नलाग्ने हटलाइन नम्बरहरू सार्वजनिक गरिएको छ ।
जिल्ला प्रशासनले सम्भावित विपद्को समयमा सूचना लुकाउने वा बेवास्ता गर्नेभन्दा आधिकारिक सूचनाको आधारमा सतर्क रहन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र आपत्कालीन अवस्थामा तत्काल सम्बन्धित निकायलाई खबर गर्न जिल्लाबासीलाई आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अछामद्वारा जारी सूचना

