नाडाका पहिरो पीडितलाई तुर्माखाँद गाउँपालिकाद्वारा राहत प्रदान
मंगलसेन । माथिबाट पहिरोले घर पुरिएर मृत्यु भएका आफन्तलाई तुर्माखाँद गाउँपालिकाले घटनास्थलमै पुगेर राहत रकम दिएको छ । तुर्माखाँद गाउँपालिका–५ नाडाको काँडाकोटका पीडितलाई राहत रकम हस्तान्तरण गरिएको हो ।
पहिरोमा परेर ज्यान गुमाएका नौ जनाका परिवारलाई प्रतिपरिवार ५० हजारका दरले रकम उपलब्ध गराएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर वीसीले जानकारी दिनुभएको छ । मृतकका परिवारलाई किरिया खर्च स्वरूप २५ हजारका दरले गरी पाँच लाख २५ हजार रुपैयाँ स्थानीय सरकारकातर्फबाट सहयोग गरिएको बताइएको छ ।
तुर्माखाँद गाउँपालिका–५ नाडाको काडाचौरमा भदौ ३१ गते राती घर माथिबाट आएको पहिरोले स्थानीय नेत्र शाही र रिठु शाहीका घर पुरिएका थिए । पहिरो गएको स्थानका अन्य घरहरु समेत सार्नुपर्ने अवस्था रहेको बताइएको छ ।
अध्यक्ष वीसीले घटनाताका आफू काम विशेषले जिल्ला बाहिर रहेको भन्दै स्थानीय सरकार गाउँपालिकावासीको साथमै रहेको भनाइ राख्नुभयो । गाउँपालिकाले सक्दो सहयोग पीडित नागरिकलाई गर्ने भन्दै संघ, प्रदेश र अन्य निकायालाई पनि आवश्यक सहयोग गरिदिन आग्रह गर्नुभएको छ ।