भलिबल संघ अछाममा नयाँ नेतृत्व चयन
अछाम । जिल्ला भलिबल संघ अछामको नयाँ कार्यसमिति चयन भएको छ । आइतबार मंगलसेनमा सम्पन्न संघको अधिवेशनले साँफेबगर नगरपालिकाका कृष्णबहादुर कुँवरको अध्यक्षतामा १० सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट मंगलसेन नगरपालिकाका राजेशप्रसाद भाट र कमलबजार नगरपालिकाका तिलक थापा उपाध्यक्षमा चयन भएका छन् । त्यस्तै तुर्माखाँद गाउँपालिकाका हर्कबहादुर वयकले सचिवको जिम्मेवारी पाएका छन् । मंगलसेन नगरपालिकाकी सरस्वती नेपाली कोषाध्यक्ष चयन भएकी छन् । संघको सदस्यमा बेदराज तिमिल्सैना, लक्ष्मी कुमारी बुढा, जनक बहादुर विक, केशब थापा र रामबहादुर साउँद चयन भएका छन् ।
अछाममा खेलकुद क्षेत्रको विकास र विस्तारसँगै भलिबल खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले जिल्ला भलिबल संघले काम गर्दै आएको छ । नयाँ नेतृत्व चयन भएसँगै जिल्लाको भलिबल खेलले थप गति लिने र नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ ।
नवनिर्वाचित कार्यसमितिले जिल्लाभित्र रहेका प्रतिभावान भलिबल खेलाडीको पहिचान गरी उनीहरूको क्षमता विकासमा विशेष ध्यान दिने जनाएको छ । खेलाडीलाई आवश्यक अवसर र प्रशिक्षण उपलब्ध गराउँदै जिल्लाको भलिबल क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ संघले काम गर्ने बताइएको छ ।
