अछाम प्रहरीमा एकै महिनामा १७ वटा अपराधका मुद्दा दर्ता, १५ जना पक्राउ
मंगलसेन । जिल्ला प्रहरी कार्यालयले अछामले एक महिनाको अवधिमा सम्पन्न गरेका विवरणहरू सार्वजनिक गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८३/०८४ को भदौ महिनामा सम्पादन गरेका विभिन्न गतिविधि, अपराध नियन्त्रण, शान्ति सुरक्षा तथा सार्वजनिक सेवासम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको हो ।
अछाम प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम्बका अनुसार भदौ महिनामा अछाम जिल्लामा कुल १७ वटा अपराध दर्ता भएका छन् । दर्ता भएका अपराधहरूमा कर्तव्य ज्यानका दुइ, आत्महत्याका दुइ, चोरीसम्बन्धी एक, संगठित तथा आर्थिक अपराध तीन, सामाजिक अपराध दुइ, महिला तथा बालिका सम्बन्धी अपराध दुइ र अन्य अपराध ७ वटा रहेका छन् ।
जिल्लामा भदौ महिनाभित्र घटेका जघन्य तथा गम्भीर अपराध अन्तर्गत कर्तव्य ज्यानका दुइ, हातहतियार सम्बन्धी एक, बैङ्किङ कसुर दुइ र ठगी तथा जुवातास सम्बन्धी चार गरी कुल नै वटा घटना दर्ता भएका छन् । प्रहरीले चालु मुद्दाका १५ जना प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ भने २ जना पक्राउ पर्न बाँकी रहेका छन् । त्यसैगरी अदालतको फैसला कार्यान्वयनतर्फ दुइ जना पक्राउ परेका छन् । जसबाट ६ महिना ९ दिन कैद सजाय र ५ हजार ४ सय रुपैयाँ जरिवाना असुल भएको छ । दुई वर्षभित्र फछ्र्योट गर्नुपर्ने ७१ वटा पेण्डिङ मुद्दामध्ये भदौमा तीन वटा मुद्दा फछ्र्योट गरिएका छन् । चालु मुद्दाका १४ जना फरार प्रतिवादीहरूलाई समेत नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडि बढाइएको अछाम प्रहरीका निरीक्षक तथा सूचना अधिकारी दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकतर्फ कार्यालयमा कुल छ वटा उजुरी परेका छन् । जसमध्ये सबै छ जना पीडित १५ देखि १८ वर्ष उमेर समूहका बालिका रहेका छन् । भदौ महिनामा दुइ पुरुष, एक महिला र तीन बालिका गरी कुल छ जना हराएकोमा प्रहरीको सक्रियतामा सबै छ जनालाई नै फेला पारी आफन्तको जिम्मा लगाइएको छ । घरेलु हिंसा सम्बन्धी परेका पाँच वटा उजुरीमध्ये चार वटामा मिलापत्र र एक वटा उजुरी अदालत पठाइएको निरीक्षक भण्डारीको भनाइ छ । प्रहरी कार्यालयमा परेका १० वटा प्रत्यक्ष ठाडो उजुरी र साउन महिनाको पेण्डिङ ४ गरी १४ वटा उजुरीमध्ये १० वटा फछ्र्यौट गरिएको बताइएको छ । भदौ महिनामा अछाममा कुल दुइ जना पुरुषले झुण्डिएर आत्महत्या गरेको घटना रहेको छ ।
अछाम प्रहरीले तीन वटा अवैध भरुवा बन्दुक बरामद गरेको छ भने ०.०९ मिलिग्राम खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी लागुऔषध सम्बन्धी मुद्दा दर्ता गरेको छ । नदीजन्य स्रोतको बालुवाको अवैध उत्खननमा संलग्न भएको भन्दै अछाममा एक वटा टिप्परलाई नियन्त्रणमा लिएर एक हजार २७६ रुपैयाँ जरिवाना गराइएको छ । सवारी नियम उल्लङ्घन गर्ने सवारी साधनलाई गरिएको कारवाहीबाट एक महिनामा ७९ हजार रुपैयाँ राजस्व संकलन भएको बताइएको छ ।
शान्ति सुरक्षा कायमका लागि भदौ महिनामा अछाम प्रहरीले जिल्लाका विभिन्न स्थानमा दुइ हजार ५३५ पटक प्रहरी परिचालन गरेको छ । जसमा ३४१ पिकेट, २१७ चेकिङ, ८६४ ग्रामीण गस्ती, तीन एलआरपी र एकहजार ११० एसआरपी गस्ती रहेका अछाम प्रहरीको तथ्यांकमा रहेको छ । भदौ महिना मेला, पर्व, जात्रा र मूर्ति विसर्जन जस्ता १० वटा विशेष परिस्थितिमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । नागरिकता, हतियार नवीकरण तथा अन्य कागजातका लागि भदौ महिनामा २३ वटा मुचुल्का उठाइएको अछाम प्रहरीको भनाइ छ । भदौ महिनाभरी कुल ८११ जना सेवाग्राहीले प्रत्यक्ष रूपमा कार्यालयबाट सेवा लिएका बताइएको छ ।
रामारोशन, तुर्माखाँद, मंगलसेनमा विपद् सम्बन्धी घटनाको उद्दारमा खटिएको छ । सचेतनामूलक तथा समुदाय केन्द्रित कार्यक्रमतर्फ प्रहरीले जिल्लाभर १५३ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट ४ हजार ४ सय १५ जना नागरिक प्रत्यक्ष लाभान्वित भएका बताइएको छ । अछाम प्रहरीले छाउपडी कुप्रथा विरुद्ध ९ वटा सचेतनामुलक कार्यक्रमहरू आयोजना गरिएको छ । अपराध सम्भावित क्षेत्रको पहिचान गरी विशेष सुरक्षा योजना लागू गर्नुका साथै विपद् व्यवस्थापन र अपराध नियन्त्रणका लागि अन्तरजिल्ला सुरक्षा समिति समन्वय बैठकसमेत सम्पन्न गरिएको छ ।
अछाममा खटिएका मध्येमा उत्कृष्ट कार्य गर्ने एक जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ । विभिन्न धार्मिक तथा सार्वजनिक स्थलहरूमा ९ पटक सरसफाइ, बाल दिवसका अवसरमा श्री सिउडी माविमा हाजिरीजवाफ प्रतियोगिता, ब्रह्माकुमारी विश्वविद्यालयको आयोजनामा भएको रक्तदानमा ४ जना प्रहरीद्वारा रक्तदान, प्राकृतिक रूपमा उम्रेका गाँजाका बोटहरू नष्ट र सम्पूर्ण प्रहरी कर्मचारीहरूका लागि मानव अधिकार तथा सेवा सुविधासम्बन्धी अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको अछाम प्रहरीले जनाएको छ ।
प्रहरी प्रतिवेदन विस्तृतमा हेर्नुस्
