रामारोशन गाउँपालिकाद्वारा अवैध मदिरा नियन्त्रणमा कडाइ
मंगलसेन । रामारोशन गाउँपालिकामा अवैध घरेलु मदिराको उत्पादन, बिक्रिवितरण, ओसारपसार र सेवनमा रोक लाएको छ । अवैध घरेलु मदिराले सामाजिक समस्या र विकृति बढेको, जनस्वास्थ्यमा नकारात्मक असर र हिंसाका घटना समेत बढेकाले बिक्री वितरण र ओसारपसार गर्न रोक लगाइएको बताइएको छ ।
गाउँकार्यपालिकाको निर्णय बमोजिम गाउँपालिकाको क्षेत्रभित्र घरेलु तथा अवैध मदिराको उत्पादन, विक्रि वितरण, ओसार(पसार तथा सेवन गर्न नपाइने र अन्य मदिरा समेत इजाजत पत्रमा तोकिएको समय भन्दा बाहेकको समयमा बिक्रिवितरण गर्न नपाईने सूचना जारी गरिएको छ ।
नियमको अटेर गरेर बिक्री वितरण र मदिरा सेवन गरि होहल्ला गर्ने एवं सार्वजनिक शान्ति तथा सु–व्यवस्थामा प्रतिकुल असर पार्ने काम गरेको पाइएमा कार्यपालिकाको निर्णयानुसार कार्वाही गरिने प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीद्धारा जारी सूचनामा उल्लेख छ । गाउँपालिकाले अन्य मदिरा बिक्री वितरण गर्न इजाजत लिएका पसलले समयअनुसार नियम पालना गरेर मात्रै बिक्री वितरण गर्न गाउँपालिकाले निर्देशन दिएको बताइएको छ ।