एमाले अछामबाट उम्मेद्वार सिफारिसः प्रतिनिधिसभामा रावल र बोगटीको नाम एकलमा

शिवराज ढुंगाना, अछाम । नेकपा (एमाले) अछामले प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेको अछाममा दुवै क्षेत्रबाट आगामी निर्वाचनको उम्मेदवार सर्वसम्मत रुपमा आइतबार एकल नाम सिफारिस गरेको छ । दलको सम्बन्धित क्षेत्र समन्वय समितिले प्रतिनिधिसभाको अछाम–१ मा डा. भीमबहादुर रावल र २ मा यज्ञबहादुर बोगटीको नाममा एकल रुपमा सिफारिस गरेको हो । रावल र बोगटी सोही क्षेत्रका वर्तमान प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।
चारवटा प्रदेश निर्वाचन क्षेत्रमा भने सहमती सर्वसम्मत हुन सकेन । अछाम–१ को क र ख प्रदेशमा चार/चार जनाको सिफारिस भएको छ । यस्तै अछाम–२ को क बाट सात जना र ख बाट आठ जनाको सिफारिस भएको एमाले अछामका उपसचिव डम्बर वीसीले जानकारी दिनुभयो ।
अछाम–१ को क प्रदेश निर्वाचनमा प्रतक्ष्यतर्फ प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवरको नाम सिफारिस गरिएको छ । अछाम–२ को ख बाट कृणप्रसाद जैसी, केशरबहादुर साउँद, डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपाने नाम सिफारिस भएको छ ।
अछाम–२ को क बाट सात जना र ख बाट आठ जनाले प्रदेशको प्रतक्षतर्फको उम्मेद्वार हुनको लागि आवेदन आएपछि सोही अनुसार सिफारिस गरिएको बताइएको छ । अछाम–२ को क प्रदेश निर्वाचनमा प्रतक्ष्यतर्फ बमबहादुर वीसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्दसिंह चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम आएको छ । अछाम–२ को ख मा शिवप्रसाद उपाध्याय, भीम जनला, कृष्ण साउँद, चन्द्रबहादुर बोहरा, भीम रावल (कालोटोपी), टोपबहादुर शाही, दीपक अधिकारी, लिलाराज केसीको नाम सिफारिस गरिएको एमाले अछामले जानकारी दिएको छ ।
संघीय र प्रदेशको प्रतक्ष्य र समानुपातिक सूची सोमबार जिल्ला कमिटीले तयार पारेर प्रदेश कमिटीमा पठाउने बताइएको छ । नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) ले यसअघि नै उम्मेदवार सिफारिस गरिसकेको छ ।