अछाममा ‘जनताको साथमा काँग्रेस’ अभियान सञ्चालन

अछाम, भदौ १२ गते । निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले आफ्ना गतिविधिलाई अघि बढाएको छ । काँग्रेस केन्द्रको निर्देशन बमोजिक “जनताको साथमा काँग्रेस” अभियान अन्र्तगत नेताहरु गाउँगाउँमा पुग्न थालेका छन् ।
आफ्नो क्षेत्र र प्रदेशका गाउँमा नेताहरु पुगेर आगामी निर्वाचनका बारेमा जानकारी लिने र दिने काम भइरहेको बताइएको छ । नेताहरुले आफ्नो पार्टीको अवस्था बुझ्ने, नागरिकका कुरा र गुनासा सुन्ने, सुझाव लिने काम भइरहेको काँग्रेस अछामका नेताको भनाइ छ । “पार्टीको अभियान अनुसारै नेताहरु गाउँगाउँमा जानु भएको छ, केही दिनमा उम्मेद्वार सिफारिस गर्नुपर्ने छ ।” काँग्रेस अछामका सहसचिव दिनेशकुमार स्वारले भन्नुभयो । बुधबार उम्मेद्वार सिफारिसका लागि बैठकपछि विस्तृत योजनासहित गाउँमा जाने भनाइ सहसचिव स्वारको भनाइ छ ।
जिल्लाका दशवटै स्थानीय तहमा पुगेर काँग्रेस नेताहरु गाउँमा भेटघाट, छलफल र सुझाव संकलनका काम भइरहेको बताइएको छ । जिल्ला सभापति पुष्पबहादुर शाहलगायत जिल्ला कार्यसमिति सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिसहितका कार्यकर्ताहरु गाउँमा पुगेका छन् ।
केन्द्रिय प्रतिनिधि तथा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावलले शुक्रबार मंगलसेनमा अभियानको उद्घाटनका क्रममा पार्टीभित्रको मतभेदलाई अन्त्य गरेर जनताका घरघरमा गएर गुनासा सुन्न निर्देशन दिनुभयो । काँग्रेसले देशभरमा शुक्रबारबाट “जनताको साथमा काँग्रेस” अभियानको शुरुवात गरिएको छ ।