गठबन्धन आवश्यकः कानुन मन्त्री रावल

शिवराज ढुंगाना । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले अहिलेको परिस्थितिमा गठबन्धन आवश्यक भएको भनाइ राख्नुभयो । अछाम मंगलसेनमा प्रेस युनियनद्धारा आयोजित पत्रकार सम्मेलनमा डा. रावलले काँग्रेसको अगुवाइमा गठबन्धन भएरै चुनावमा जाने भनाइ राख्नुभयो । काँग्रेसको केन्द्रमा गठबन्धनको निर्णय भइसकेको भन्दै शक्ति आधारमा र मित्रवतका रुपमा गठबन्धनले चुनावी प्रतिष्पर्धा हुन सक्ने भनाइ राख्नुभयो ।
मन्त्री रावलले जनताको सोच र आशाका के छन् भनेर हामी गाउँमा गइरहेका छौं । “जनताका कुरा बुझ्ने र हाम्रा कुरा बुझाउने अभियानमा छौ ।” डा. रावलको भनाइ छ । नेपाली काँग्रेसको केन्द्रिय निर्णय अनुसार शुक्रबारबाट भदौ २४ गतेसम्म जागरण अभियान सञ्चालन शुरु गरिएको छ । पत्रकारको प्रश्नमा मन्त्री रावलले प्रदेश सरकारको झ्यालबाट जाने योजनाहरु रोक्न नसकिएको भनाइ राख्नुभयो । तर त्यसमा आफ्नो प्रयास भइरहेको उहाँले बताउनुभयो । चिसापानी–जंगलघाट–मंगलसेन सडक, सेती लोकमार्गलगायतका ठूला योजनामा नीति, कानुन, र ठेकेदारका कारण ढिलाइ हुने भनाइ राख्नुभयो ।
मन्त्री रावलले जिल्ला प्रहरी कार्यालयको अनुगमन तथा निरीक्षण गर्दै जिल्लाको सुरक्षा अवस्थाको बारेमा जानकारी लिनुभयो । अछाम प्रहरीको भौतिक संरचना, जनशक्ति, हालको अवस्था र आवश्यकताका बारेमा प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी गराउनुभएको थियो । रावल नेपाली काँग्रेसले अछामको केन्द्रिय प्रतिनिधि तोकेपछि अछाम आउनुभएको हो । पार्टीको कामको सिलसिलामा रावल केही दिन अछाम रहने बताइएको छ ।