कैलालीमा प्लाष्टिक डोरी उद्याेग स्थापना

टीकापुर, २८ साउन । कैलालीको जानकी गाउँपालिका–१ दुर्गौलीमा प्लाष्टिकको डोरी उत्पादन गर्ने नेपालकै पहिलो उद्योग स्थापना भएको छ। टीकापुरका दुई जना युवा व्यवशायीले करिब ३० करोडको लागतमा टीकापुर प्लाष्टिक उद्योग प्रालि स्थापना गरेका हुन्।

यसअघि नेपालका अन्यत्र सञ्चालनमा रहेका उद्योगले कच्चा पदार्थका रुपमा भारतबाट ल्याएको डोरीलाई नै पुनः उत्पादन गरेर बजार पठाउँदै आएकोमा आफ्नो उद्योगले प्लाष्टिकका दानाबाट डोरी उत्पादन सुरु गरेको सञ्चालक मध्येका एक नवराज भट्टराईले जानकारी दिए।

उनले कच्चा पदार्थका रुपमा प्लाष्टिकको दाना भारतको हरियाणाबाट ल्याउने गरेको बताए। उनले उद्योगबाट २ एमएम देखी २० एमएम सम्मको डोरी उत्पादन भैरहेको बताए। उनले उद्योगको उत्पादन क्षमता प्रतिघण्टा १२५ केजी रहेको बताए। उनले हाल उद्योग १५ प्रतिशत मात्रै सञ्चालनमा आएको जानकारी दिए।

उनका अनुसार उद्योगबाट उत्पादित डोरी कृषि कार्यको लागि निकै उपयोगी हुनेछ। उनले ९० प्रतिशत खपत कृषि क्षेत्रमा हुने बताए। उनले नेपालका अलावा भारतमा समेत बजार बिस्तार गर्ने लक्ष्य रहेको बताए। पञ्जाबमा किसानहरुले लहरे खेतीमा डोरीको प्रयोग गर्ने गरेका छन्।

जसका कारण त्यहाँ प्लाष्टिकको डोरीको माग बढ्दो छ। ‘भारतको पञ्जाबमा यस्तो डोरीको राम्रो माग छ’ उनले भने, ‘त्यहाँ निर्यात गर्ने बारेमा समेत कुरा भैरहेको छ।’ उद्योगले प्लाष्टिकका बोरा उत्पादनको काम समेत थालेको छ। अहिले बोरा बनाउने रोल भारतबाट भित्र्याएर उत्पादन भैरहेकोमा नौ महिना पछि आफैं बोरा समेत उत्पादन गर्ने भट्टराईले जानकारी दिए।

उनले सिमेन्ट, दानाका साथै खाद्यान्न प्रयोजनका लागि समेत बोरा उत्पादन भैरहेको बताए। उद्योगले हाल ३० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। उद्योग पूर्ण रुपमा सञ्चालनमा आए एक सयले रोजगारी पाउने उद्योग सञ्चालक मध्येका एक मुकेश बमले जानकारी दिए। उनले उद्योग स्थापनाले रोजगारीको समेत सृजना भएको बताए। नागरिकन्यूजबाट

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page