अछाममा चारहजार ८० मतदाता थपिए
अछाम, २५ साउन । स्थानीय तहको निर्वाचनपछि अछाममा चारहजार ८० मतदाता थपिएका छन् । अछाममा २ हजार २ सय ७० जना पुरुष तथा १ हजार ८ सय १० महिला गरी कूल ४ हजार ८० जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको केन्द्रमा सञ्चालन गरिएको शिविरमा उक्त संख्याको मतदाता थपिएको कार्यालयका सूचना अधिकारी गजेन्द्र प्रकाश थारुले जानकारी दिनुभयो ।
सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली संकलन कार्य बन्द गरेको छ ।
थारूका अनुसार अछाममा हालसम्म ८२ हजार २ सय ५१ महिला र ७८ हजार १ सय ७ पुरुष, २ अन्य लिंगका मतदाता रहेका बताइएको छ । आगामी निर्वाचनमा अछाममा एकलाख ६० हजार ३६० ले मतदान गर्न पाउने छन् । जिल्लामा मतदानस्थल १३० तथा मतदान केन्द्र २०७ रहेको निर्वाचन कार्यालय अछामले जनाएको छ ।