दुर्गममा वरदान बन्दै निशुल्क हवाइ उद्धार, एक वर्षमा ११ को उद्दार

शिवराज ढुंगाना
अछाम, साउन १६ गते । तुर्माखाँद गाउँपालिका–२ भुलुकी कृष्णा विक सुत्केरी व्यथा लागेको दुई दिनपछि साउन ६ गते बिहान स्थानीय स्वास्थ्य चौकीमा पुर्याइयो । दिउँसोसम्म बच्चा जन्माउन प्रयास भएपनि सफल नभएपछि स्वास्थ्यकर्मीले कृष्णालाई सुविधायुक्त अस्पतालमा रेफर गर्यो । तर आर्थिक अभावमा उनले घर बाहिर जान नसक्ने अवस्था थिएन । ज्यान जोगाउन समन्वय गरेर सुत्केरी उद्धार गरेर हेलिकप्टरबाट सुर्खेत पुर्याइयो । र प्रादेशिक अस्पताल सुर्खेतमा बच्चाको जन्मभएपछि आमा र बच्चाको ज्यान जोगियो ।
मंगलसेन नगरपालिका–११ जुपुकी ३० वर्षीया सीता रावलको आठ महिनाको बच्चा पेटमै मृत भएको अछाम अस्पतालका स्वास्थ्यकर्मीले निष्कर्ष निकाले । चार दिनसम्म स्वास्थ्यकर्मीले जिल्ला अस्पतालमा मृत बच्चालाई निकाल्न प्रयास गरेपनि सफल हुन सकेनन् । सीताको अवस्था नाजुक हुँदै गएपछि उनलाई थप उपचारका लागि अस्पतालले रिफर गर्यो । ज्यान जोखिममा रहेको भन्दै साउन ११ गते नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत प्रादेशिक अस्पताल पुर्याइयो । कृष्णा र सीता मात्रै हैनन् जोखिममा रहेका गएको आर्थिक वर्षमा मात्र १२ गर्भवती तथा सुत्केरीको निशुल्क हवाइ उद्धार गरिएको छ ।
जोखिममा रहेका सुत्केरी तथा गर्भवती निशुल्क हवाइ उद्धार भएर जीवन बच्ने भएपछि आर्थिक अवस्था कमजोर भएका घरपरिवार ‘वरदान’ जस्तै भएको ठानेका छन् । गएको वैशाखको दोश्रो साता पेट काटेर बच्चा निकालेको पञ्चदेवल विनायक नगरपालिका ३ की निर्मला अधिकारीको रक्तश्राव नरोकिपछि आफन्तले थप उपचारका लागि एम्बुलेन्समा डडेल्धुरा अस्पताल हिँडाए । “डडेल्धुरामा भेन्टिलेटर छैन भन्ने कुरा थाहा पाएपछि डोटीको सिलगढीबाटै हवाइ उद्धार गरेर सुर्खेत पुर्याएपछि उपचार भयो र अहिले आमा बच्चा दुवै स्वस्थ छन् ।” निर्मला अधिकारीका श्रीमान् जीवनले भन्नुभयो । “त्यतिबेला बच्चा र आमाको जीवन बचाउने बाहेक केही सोचेको थिएन, हेलिकप्टर आएर ज्यान बचाइदियो ।” जीवनराजले थप्नुभयो ।
स्थानीय स्वास्थ्य चौकीमा बच्चा जन्माएकी रामारोशन गाउँपालिका–४ बाटुलासेनकी खम्बकला विकलाई पनि रक्तश्राव नरोकिएपछि स्वास्थ्यकर्मीले वैशाख २३ गते सुविधा सम्पन्न अस्पतालमा रेफर गरे । “भाउजुको ब्लड सकिएर दुइ पोइन्ट मात्रै थियो, हामीले कतै लिन सक्ने अवस्था थिएन, त्यतिबेलै हेलिकप्टर आएर सुर्खेत पुर्याएपछि आमा छोरी बाँचिन् । खम्बकलाका देवर गोविन्द विश्वकर्माले थप्नुभयो । “हेलिकप्टर आएको हामीलाई त भगवान आएजस्तो भएको छ ।”
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत गर्भवती तथा महिलाहरुको जिल्लामा उपचार सम्भव नभएपछि निशुल्क रुपमा हवाइ उद्धार गरिदै आएको छ । गर्भवती र महिलालाई समस्या भए हेलिकप्टर उद्धारका लागि समन्वय हुने गरेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिनुभयो । तुर्माखाँद गाउँपालिका तीन जना, रामारोशन गाउँपालिका, पञ्चदेवल विनायक र साँफेबगर नगरपालिका दुई/दुई, चौरपाटी गाउँपालिका र मंगलसेनस्थित नेपाली सेनाको गणबाट एक/एक जनाको गएको आर्थिक वर्षमा हवाइ उद्धार गरिएको छ । भने चालु आर्थिक वर्षको हालसम्म दुई जना गर्भवती महिलाको निशुल्क हवाइ उद्धार गरिएको छ ।
गर्भवती र सुत्केरीलाई तत्काल उपचार आवश्यक हुने भएकोले हवाइ उद्धार बाहेक सम्भव नहुने स्वास्थ्यकर्मीको बुझाइ छ । महिला र बच्चा दुइको ज्यान बचाउने काममा ढिलाइले आगामी दिनमा खतरा हुनसक्ने भनाइ छ । हवाइ उद्धार गरेर आमा र बच्चाको ज्यान बचाउने कार्य अन्य काममा तुलना गर्न नमिल्ने रामारोशन गाउँपालिकाका पूर्वउपाध्यक्ष सरस्वती रावलको भनाइ छ । “आमा र बच्चा बचाउने वरदान जस्तो काम भएको छ, यसको निरन्तरता अतिआवश्यक हो ।” रावलको भनाइ छ । सुविधा सम्पन्न स्वास्थ्य संस्थाको अभाव, भौगालिक विकटता, गर्भवती तथा सुत्केरीको उचित हेरचाह नहुने कारणले गर्भवती तथा सुत्केरी जोखिममा पर्ने गरेको बताइएको छ । निशुल्क हवाइ उद्धारले जोखिममा रहेका गाउँका साधारण गर्भवती र सुत्केरीलाई न्याय भएको अछाम अस्पतालमा कार्यरत डाक्टर अतुल भारद्धाजको भनाइ छ । समयमै गर्भपरिक्षण, हेरचाह र जोखिम आँकलन गर्न नसक्दा गर्भवती र सुत्केरीमा समस्या आउने गरेको डाक्टर भारद्धाजको भनाइ छ ।
ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरूको लागि निःशुल्क हवाई उद्धारपछि केहीले सुत्केरीको यातायातवापत २० हजार रकम समेत प्रदान गरिन्छ । कार्यविधिमार्फत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती तथा सुत्केरी अवस्थामा ज्यान जोखिममा परेका महिलालाई हवाई उद्धार गरिरहेको राष्ट्रपति महिला उत्थान कार्यक्रम हेरिरनुभएका महिला, वालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव नीता शर्माको भनाइ छ । चालु आर्थिक वर्षका लागि हवाइ सेवा प्रदायक निकायसँग सम्झौताको तयारी रहेको उपसचिव शर्माले जानकारी दिनुभयो ।

Mangalsen Ward
सम्बन्धित
Leave A Reply

Your email address will not be published.

You cannot copy content of this page