तुर्माखाँद गाउँपालिकाद्धारा माथिल्लो कर्णाली आयोजनाको सूचना माग
शिवराज ढुंगाना
अछाम, साउन १७ गते । माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माण कार्य शुरु नभएको भन्दै तुर्माखाँद गाउँपालिकाले आयोजना निर्माण सम्झौता भएको कम्पनीलाई सूचना मागेको छ । गाउँपालिकाको निर्णय अनुसार आयोजनाको काम हालसम्म अघि नबढेको भन्दै स्थानीयस्तरमा द्धिविधा उत्पन्न भएकोले काम हुने वा नहुने भन्दै भरपर्दो सूचना मागेको हो ।
राष्ट्रिय महत्वको आयोजना लामो समयसम्म आयोजनाको कार्यसञ्चालन नभएको देखिएकोले सूचना आवश्यक सूचना माग गरिएको बताइएको छ । “अपर कर्णाली निर्माण गर्ने भनेको लामो समय भएको र बीचमा कुनै सूचना भएन, अनि के हो त ? भनेर कार्यपालिकाको निर्णय अनुसार सूचना मागेका छौं ।” प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर बुढाले भन्नुभयो । नेपाल सरकार र आयोजना निर्माणको जिम्मा पाएको भारतीय जीएमआर माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रा.लिलाई समन्वय गरेर भरपर्दो सूचना उपलब्ध गराउन भनिएको छ । भारतीय जीएमआर कम्पनीलाई माग गरिएको सूचनामा उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयलाई बोधार्थमा राखिएको छ ।
आयोजनाको प्रतक्ष्य प्रभावित क्षेत्र र अधिकांस संरचना निर्माण हुने स्थान तुर्माखाँद गाउँपालिका रहेको छ । “हिजो (सोमबार) सूचना मागको पत्र पठाएका छौं, आजसम्म जानकारी आउँछ कि ?” अधिकृत बुढाको भनाइ छ । सूचना मागपछि के गर्ने भन्ने बारेमा गाउँपालिकामा हालै कुनै निर्णय नभएको बताइएको छ । गाउँपालिकाले लिखित रुपमा सूचना माग्नुलाई कतिपय स्थानीयले अर्थपूर्ण रुपमा हेरेका छन् ।
सम्झौता भएको सात वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजना वित्तिय व्यवस्थापनको अभावमा ढिलाइ भइरहेको छ । सन् २०१४ मा आयोजना निर्माणको जिम्मा पाएको भारतीय जिएमआर कम्पनीले सन् २०२१ निर्माण कार्य सक्नुपर्ने अवस्था थियो । ५८ मिटर अग्लो र २०७ मिटर चौडाइ बाँध निर्माण गरेर आठ पावर हाउस निर्माण गरेर भारतीय बिजुलीको मुख्य केन्द्रमा जोडिने छ । माथिल्लो कर्णाली आयोजना निर्माणमा एक खर्ब १६ अर्ब खर्च लाग्ने अनुमान गरिएको छ ।
सरकारले लगानी जुटाउनका लागि २०८१ साउनसम्म दुई वर्ष म्याद थप गरेको छ । सस्तो रुपमा निर्माण हुने जलविद्युत आयोजना भारतीय कम्पनीले निर्माण नगरी ओगटेर राखेको स्थानीयको भनाइ छ । जलविद्युत आयोजना निर्माणको बाहानामा नदी ओगटेको भन्दै स्थानीयदेखि संसदसम्म कुरा उठिरहेको छ ।