तिमिल्सिना एमाले केन्द्रिय सदस्यमा मनाेनितः अछामका तीनै जना इन्चार्जमा तोकिए
अछाम । नेकपा (एमाले) को केन्द्रीय सदस्यमा अछामबाट कमल तिमिल्सिना मनोनित हुनुभएको छ । काठमाण्डौंमा बिहीबार बसेको पार्टीको सचिवालय बैठकले तिमिल्सिनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो ।
नेकपा (एमाले) को अछामको अध्यक्ष, सुदूरपश्चिम प्रदेशको उपाध्यक्षको पद सम्हाली सक्नुभएको तिमिल्सिना प्रदेश अधिवेशनमा अध्यक्ष पदमा दावेदारी थियो । प्रदेशमा कृष्णप्रसाद जैसीलाई सर्वसम्मत अध्यक्ष बनाउन सहयोग गरेपछि तिमिल्सिनालाई केन्द्रिय सदस्य बनाउने आश्वसन दिएका थिए ।
विद्यार्थी राजनीतिसँगै जेलनेल भोगेका तिमिल्सिना अछाममा कम्युनिष्ट पार्टी स्थापनाकालबाटै सक्रिय रहनुभएको छ । पार्टीको जिम्मेवारीपछि सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले तिमिल्सिनालाई बधाइ दिन थालेका छन् ।
आफूलाई सचिवलाय बैठकबाट केन्द्रिय सदस्य मनोनित गरेको भन्दै तिमिल्सिनाले नेताहरुले वचन पूरा गरेको प्रतिक्रिया दिनुभएको छ । पार्टीले मप्रतिको वचन र विश्वास गरेको छ, म आफ्नो जिम्मेवारी अनुसार पार्टी काममा अझै सक्रिय भएर लाग्नेछु । तिमिल्सिनाले भन्नुभयो ।
तिमिल्सिना केन्द्रिय सदस्य मनोनित भएसँगै अछाममा नेकपा (एमाले) को केन्द्रिय सदस्यको संख्या तीन जना पुगेको छ । झपट बोहरा र यज्ञ बोगटी यसअघि नै केन्द्रिय सदस्यमा हुनुहुन्छ ।
तीनैलाई जिम्मेवारी
नेकपा (एमाले) को बिहीबार नै सम्पन्न भएको सचिवालय बैठले अछामका तीनै जना केन्द्रिय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिएको छ । अछाम जिल्लाको इन्चार्जमा झपट बोहरा, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा कमल तिमिल्सिना र क्षेत्र नं. २ मा यज्ञ बोगटीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।