झुक्याएर भिडियो बनाएको आरोपमा अछाममा दुई जना पक्राउ
मंगलसेन । झुक्याएर भिडियो बनाएको आरोपमा अछाममा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चौरपाटी गाउँपालिका–४ निवासी करिब २० वर्षीय डण्डी जोशी र सोही स्थानका करिब १८ वर्षीय शंकर जोशी रहेका छन् । स्थानीय नागरिकलाई अभद्र व्यवहार गरी हैरानी दिएको आरोपमा अछाम प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
झुक्याएर भिडियो बनाउने नाममा स्थानीय नागरिकलाई अभद्र व्यवहार गरी हैरानी दिएको आरोपमा उनीहरूलाइ सदरमुकाम मंगलसेनबाट पक्राउ गरिएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो । दुवै जनालाई हिजो बेलुकी करिब ७ बजे मंगलसेन बजारबाट पक्राउ गरिएको बताइएको छ । ग्रामीण क्षेत्रमा पुगेर झुक्याउने भिडियो बनाउने बहानामा स्थानीय बासिन्दालाई दुःख दिने गरेको भन्ने जनगुनासो तथा निवेदन प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको प्रहरी प्रमुख खनालको भनाइ छ ।
पीडित पक्षबाट अभद्र व्यवहार गर्न नहुने कसुर सम्बन्धी जाहेरी दर्ता भएपछि सोही आधारमा दुवै जनामाथि थप अनुसन्धान भइरहेको अछाम प्रहरीको दाबी रहेको छ । यस्ता गतिविधिले सर्वसाधारणको सम्मान, सुरक्षा र सामाजिक सद्भावमा असर पुग्ने भएकाले कानुन विपरीत कार्य नगर्न अछाम प्रहरीले सबैलाई आग्रह गरेको छ ।
