अछाममा पहिलो महिला प्रशासकीय अधिकृतमा ताम्राकार
अछाम । स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतमा पहिलो पटक महिला जिम्मेवारी पाउनु भएको छ । सामान्य प्रशासन मन्त्रालयले जिल्लाको मेल्लेख गाउँपालिकामा संगीता ताम्राकारलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकिएको छ । ताम्राकार अछाम जिल्लामा पहिलो प्रशासकीय अधिकृत तोकिएसँगै पहिलो महिला बन्नु भएको छ ।
आर्थिक जिम्मेवारी सहित ताम्राकारलाई वरिष्ठ कर्मचारीको आधारमा स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ८४ को उपदफा (४) अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयको दिएको हो । मन्त्रालयले अर्को अर्को व्यवस्था नभएसम्मको लागि मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो । प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसँगै पालिकाको विकास र समृद्धिमा सबै पक्षसँगको समन्वय र सहकार्यमा अघि बढ्ने ताम्राकारको प्रतिक्रिया रहेको छ ।
२०७६ सालमा स्थानीय सेवामा खुलातर्फ पहिलो प्रयासमै स्थायी जागिरीमा ताम्राकार सफल हुनुभयो । प्रशासनतर्फको स्थायी भएपछि पहिलो पटक दार्चुलाको मार्मा गाउँपालिकाबाट सरुवा भएर २०७९ बाट मेल्लेखमा सेवा गर्दै आउनुभएको छ । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा रहेको सरस्वती माविबाट एसएलसी उत्तिर्ण गरेर कैलाली बहुमुखी क्याम्पसबाट स्नातकोत्तर तहसम्म अध्ययन गर्नुभएको छ । १२ कक्षामा व्यवस्थापनपछि स्नाकोत्तर तहमा शिक्षा शास्त्र संकाय अध्ययन गर्नुभएको छ । बान्नीगढी जयगढ गाउँपालिका-३ बर्दादेवीमा जन्मनुभएकी ताम्राकार आफ्नै जिल्लाको गाउँपालिकामा पहिलो महिला प्रमुख प्रशासकीय अधिकृत बन्नु भएकाे हाे ।
सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा महिला प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाउनेमा ताम्राकार सम्भतः पहिलो महिला हुनुहुन्छ । यसअघि मन्त्रालयबाटै प्रमुख प्रशासकीय अधिकृतमा महिलालाई हालसम्म नतोकिएको केहीको दावी रहेको छ । प्रमुख प्रशासकीय अधिकृत नियुक्तिपछि धेरैले उहाँलाइ व्यक्तिगत र सामाजिक सञ्जाल मार्फत बधाइ र शुभकामना दिइरहेका छन् ।
