अटो दुर्घटनाकी घाइते महिलाको उपचारको क्रममा मृत्यु
मंगलसेन । अटो दुर्घटनामा गम्भीर घाइते भएकी महिलाको उपचारको क्करममा अछाम जिल्ला अस्पतालमा मृत्यु भएको छ । कमलजार नगरपालिका वडा नं. ५ कुइका निवासी बेलुदेवी भण्डारीको उपचारका क्रममा निधन हो । दुर्घटनालगत्तै उद्धार गरी जिल्ला अस्पताल अछाम पुर्याइएकी भण्डारीको उपचारकै क्रममा निधन भएको हो।
कुइकाबाट कमलबजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१-००१ ह ८४४० नम्बरको अटो कमलबजार नजिकै ओखडको रुख नजिक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कमलबजार–५ का केशवराज उपाध्याय र अमृता भण्डारी पनि घाइते हुनुभएको छ । उहाँहरूको जिल्ला अस्पताल अछाममै उपचार भइरहेको इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक सरोज कुमार कैलाले जानकारी दिनुभयो ।
अटोमा सवार अन्य एक जना यात्रु र चालक भने सकुशल रहेका छन् । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको अछाम प्रहरीले जनाएको छ ।
