अखण्ड कमलबजार सहित दश वटै स्थानीय तह कायम राख्न माग
अछाम । स्थानीय तहहरूको पुनर्संरचनाका क्रममा अखण्ड कमलबजार नगरपालिका सहित १० वटै स्थानीय तहको संरचनालाई यथावत राख्नुपर्ने अडान अघि सारेको छ । जिल्ला समन्वय समितिले आयोजना गरेको राय सुझाव संकलन बैठकमा कमलबजार नगरपालिकाका तर्फबाट नागरिकलाई प्राप्त सेवा सुविधाबाट वञ्चित गर्न नहुने भन्दै हालकै अवस्थामा पालिकाहरू कायम रहनुपर्ने माग गरिएको हो ।
अखण्ड कमलबजार र १० तहको वकालत छलफलका क्रममा कमलबजार नगरपालिकाका १० वटै वडालाई यथावत राखेर यसलाई ‘अखण्ड कमलबजार नगरपालिका’ का रूपमा स्थापित गरिनुपर्नेमा जोड दिइएको छ । स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार भएकाले संख्या घटाउँदा नागरिकले पाउने सेवा प्रवाहमा असर पर्ने भन्दै अछामका १० वटै तहलाई नचलाउन सुझाव दिइएको छ ।
प्राविधिक वा नीतिगत कारणले पालिकाहरूको संख्या घटाउनुपर्ने अवस्था आएमा कमलबजारले मंगलसेन नगरपालिकाका वडा नम्बर ६ (तेसिंगे) र ७ (जनाली), पञ्चदेवल विनायक नगरपालिकाको वडा नम्बर ४ (कालिकास्थान) तुर्माखाँद गाउँपालिकाका वडा नम्बर ६ (रानीवन), ७ (तोषी) र ८ (धमाली), ढकारी गाउँपालिकाको वडा नम्बर ८ (घोडासेन) लाई समेटेर एउटा बलियो पालिकाको प्रस्ताव छ । यस्तै कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकालाई पूर्ण रूपमा गाभेर एउटै ठूलो स्थानीय तह निर्माण गर्न सकिने पनि प्रस्ताव छ ।
कमलबजारसँग जोडिएका छिमेकी पालिकाहरूका वडाहरूलाई समायोजन गर्दा सेवा प्रवाहमा सहजता हुने र स्थानीय तह थप सक्षम हुने विश्वास व्यक्त गरिएको छ । अछामका जनप्रतिनिधिहरूले विकासको गति र प्रशासनिक पहुँचलाई ध्यानमा राखेर मात्र अन्तिम निर्णय लिनुपर्ने सुझाव दिएका छन् । भौगोलिक र सांस्कृतिक सामीप्यताको आधार पुनर्संरचना गर्दा भूगोल र नागरिकको सुगमतालाई केन्द्रमा राख्नुपर्ने बताइएको छ ।
