ढकारी गाउँपालिकालाई ‘सेन्टर’ बनाएर पुनर्संरचना गर्न प्रस्ताव
अछाम । अछाम जिल्लामा स्थानीय तह पुनर्संरचनाको बहस भइरहँदा ढकारी गाउँपालिकालाई यथावत राख्नुपर्ने प्रस्ताव गरिएको छ । ढकारी गाउँपालिकाका अध्यक्षले जिल्लाका हालका १० वटा पालिकालाई घटाउनुपर्ने अवस्थामा विकल्प प्रस्तुत गर्दै भूगोल र प्राकृतिक स्रोतको सामीप्यतालाई मुख्य आधार बनाउनुपर्नेमा जोड दिएका छन् ।
अध्यक्ष प्रकाश साउँदका अनुसार ढकारी गाउँपालिकाको अस्तित्व जोगाउन मंगलसेन नगरपालिकाको वडा नम्बर १३ का बस्ती, डाडीगडे, सालपाटा र कमलबजार नगरपालिका का वडा नम्बर ७ (सेरा) ८ (ढाकु), ९ ( मष्टाबण्डाली) र १० (घोडासैन) क्षेत्रहरूलाई ढकारीमा गाभिनुपर्ने प्रस्ताव गर्नुभएको छ । क्षेत्रहरूबीच घाँस-दाउरा काट्ने जंगल, कुलो, खानेपानीको मुहान र समग्र संस्कृति एउटै भएकाले ढकारीलाई केन्द्र बनाउनु उपयुक्त हुने दाबी उहाँको छ ।
अध्यक्ष साउँदले जिल्लाका १० पालिकाहरू मध्ये दुईवटा घटाउनुपर्ने, अझै घटाउनुपर्ने भएमा ढकारी, तुर्माखाँद र कमलबजार लाई मिलाएर एउटा ठूलो पालिका बनाउन सकिने प्रस्ताव गरिएको छ । भौगोलिक वस्तुस्थिति नबुझी मंगलसेन नगरपालिका प्रमुखले दैलेख र सुर्खेतसँग जोडिएका ढकारीका वडाहरूलाई मंगलसेनमा हाल्ने जस्ता प्रस्तावहरूलाई “चेतनाको कमी” भन्दै टिप्पणी गरेका छन् । प्रस्तावित पुनर्संरचनामा जातजाति, भूगोल र संस्कृतिको उचित प्रतिनिधित्व हुनुपर्नेमा जोड दिइएको छ ।
पुनर्संरचनाको चर्चाले गर्दा जनमानसमा आफ्ना पालिकाहरू र हालसम्म बनेका संरचनाहरू नरहने हो कि भन्ने व्यापक चिन्ता र अन्योल देखिएको छ । स्थानीय आवश्यकता र जनताको पहुँचलाई ध्यानमा राखेर मात्र अन्तिम निर्णय लिनुपर्ने सरोकारवालाहरूको धारणा छ ।
