अछाम पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा
मंगलसेन । अछाम जिल्लालाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका दशवटै स्थानीय तहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि अछाम जिल्लालाई शुक्रबार एक कार्यक्रमका साथ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको १३ प्रकारको खोपको मात्रमा पूरा गरेका नौहजार सातसय ३० जना बालबिालकाहरुले पूर्ण खोप पाएकोले जिल्लालाई नै पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको हो । रामारोशन गाउँपालिकाका एकहजार ९४, तुर्माखाँद गाउँपालिकाका एकहजार १७७, मंगलसेन नगरपालिकाका चारसय, चौरपाटी गाउँपालिकामा एकहजार १८८, ढकारी गाउँपालिकामा एकहजार २६८ बालबालिकाहरुले पूर्ण खोप पाएका छन् ।
यस्तै कमलबजार नगरपालिकाले ९२६ जना, मेल्लेख गाउँपालिकामा ९३४, पञ्चदेवल विनायक नगरपालिकामा एकहजार ३६८ , साँफेबगर नगरपालिकामा ९२७, बान्नीगढी जयगढ गाउँपालिकामा चारसय ४८ जना बालबालिकाले पूर्ण खोप पाएका छन् । सर्वेक्षणका क्रममा १६ देखि ५९ महिनाको उमेरका ५५ जनाले आंशिक खोप लाएको र चार जना बालबालिकाहरुले कुनै खोप नपाएको भेटिएपछि पुनः खोप दिइएको स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले जानकारी दिनुभयो । ९१ वडा र १० वटा पालिका रहेको अछाम जिल्लामा वडास्तर हुँदै सबै पालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएपछि जिल्लालाई घोषणा गरिएको हो । यस्तै, आगामी वर्षमा पनि सबै बालबालिकालाई खोपको मात्रा पूरा गर्ने अभियानको निरन्तरता रहने बताइएको छ ।
घोषणा कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले पूर्ण खोपको लक्ष्य प्राप्तिमा किशोर किशोरीलाई सक्षम बनाएर लैजानुपर्ने भनाई राख्नुभयो । पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउनेले पूर्ण खोप अभियानलाई सबैले सहयोग गनुपर्ने भएकोले सबैको दायित्व भएकोले प्राथमिकतामा राख्नुपर्ने भनाइ थियो ।
कार्यत्रमको अध्यक्षता गरिरहनुभएका जिल्ला समन्वय समिति अछामका प्रमुख तथा खोप समन्वय समिति संयोजक ललितबहादुर कुँवरले स्थानीय सरकारले खोप लगाउतका स्वास्थ्यका अभियानलाई प्रथामिकतामा राख्नुपर्ने सुझाव दिनुभयो । कुँवरले भौतिक संरचना मात्र नभइ मानविय विकासमा समेत स्थानीय सरकारले लगानी गर्नुपर्ने भनाइ राख्नुभयो ।
घोषणा कार्यक्रममा साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुवँर, कमलबजार नगरपालिका प्रमुख यज्ञप्रसाद ढकाल, जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही बम, तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसी, बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष टेक बहादुर साउँद, रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँद लगायत सरोकारवालाको सहभागिता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहित जिल्लाको समग्र खोपको अवस्थाको प्रतिवेदन जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झपटराज ढुंगानाले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन उक्त कार्यालयका क्षयकुष्ठ रोग निरीक्षक दिपेन्द्र जोशीले गर्नुभएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख तथा खोप समन्वय समितिका संयोजक ललितबहादुर कुँवरको अध्यक्षता सम्पन्न घोषणामा जिल्ला जनप्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी, स्वास्थ्यकर्मी, समाजसेवीहरुको सहागिता रहेको थियो ।
