रास्वपा अछाममा नयाँ कार्यसमिति चयनः रावल सभापतिमा दोहोरिए
मंगलसेन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अछामको नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ । जिल्ला अधिवेशनमार्फत आगामी कार्यकालका लागि ओमप्रकाश रावलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो ।
मंगलसेनमा सम्पन्न पहिलो जिल्ला सम्मेलनबाट सभापतिमा रावल नै दोहोरिएका छन् । रावल प्रतिनिधिसभा निर्वाचनमा अछाम क्षेत्र नं. १ का उम्मेद्वार समेत रहेका थिए । नवनिर्वाचित समितिको उपसभापतिमा टंकबहादुर धामी, सचिवमा बमबहादुर रावल र सहसचिवमा लक्ष्मण कुँवर चयन भएका छन् । धामी नेपाली कांग्रेस र रावल नेपाल कम्युनिस्ट पार्टीबाट केही दिनअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए ।
पार्टीको सांगठनिक सुदृढीकरणका लागि जिल्ला सदस्यहरूमा प्रेमबहादुर बयक, इन्द्रसिंह विक, एलिना शाह, कमला शाही र ज्ञानकुमारी बयक चयन भएका छन् । जिल्ला कार्यसमितिसँगै रास्वपाले अछामका दुवै निर्वाचन क्षेत्रका लागि क्षेत्रीय सभापतिहरू समेत सर्वसम्मत रूपमा चयन गरेको छ । क्षेत्रीय सभापतिमा निर्वाचन क्षेत्र नं. १ मा भरत बटाला र क्षेत्र नं. २ मा जीवन तिमिल्सैना चयन भएका छन् । क्षेत्रीय सभापतिमा यसअघि पनि बटाला र तिमिल्सैनाकै जिम्मेवारी रहेको थियो ।
पहिलो जिल्ला अधिवेशनको उद्घाटन रास्वपाका महामन्त्री भुपदेव शाहले गरेका थिए । उद्घाटन सत्रमा शाहले प्रदेश र स्थानीय तहको सत्ता आफ्नो पक्षमा पार्ने गरेर लाग्न सार्वजनिक आह्वान नै गरेका थिए । नयाँ नेतृत्वले अछाममा रास्वपाको एजेन्डालाई स्थानीय तहसम्म पुर्याउन र संगठन विस्तारलाई तीव्रता दिने बताइएको छ ।
