अछाम आक्रमणका कमाण्डर पासाङले मंगलसेनमा पुगेर यस्तो भने……..(भिडियो सहित)
मंगलसेन । २३ वर्षअघि तत्कालीन विद्रोही नेकपा माओवादीले अछाम सदरमुकाम मंगलसेन र साँफेबगरमा हमला गर्यो । आक्रमणका क्रममा एक स्थानीय, प्रमुख जिल्ला अधिकारी, सहित सेना, प्रहरी र कर्मचारी लगायत गरेर १२२ जना भन्दा बढीको मृत्यु भयो । सबै सरकारी कार्यालयमा आगजनी गरेर ध्वस्त पारिएको थियो ।
घटनाका नेतृत्वकर्ता दुई दशकपछि मंगलसेन पुगेर नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले घटनालाई सम्झनुभयो । मंगलसेन मञ्चबाट त्यही बेलाको पार्टीको आदेशलाई कार्यान्वयन गर्न अछाम आक्रमण गरिएको भनाइ राख्नुभयो ।
जनमुक्ति सेनाका पूर्वकमान्डर रहेका पूर्वउपराष्ट्रपति पुनले माओवादी केन्द्रले सञ्चालन गरेको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान जनसंवाद कार्यक्रम’लाई सम्बोधनका क्रममा घटना सम्झनुभएको हो । २०५८ साल फागुन ४ गते शुक्रबारको रातीलाई पासाङले यसरी सम्झानु भएको हो ।
पासाङको भनाइको अंशः
………….त्याे पुरानाे सत्ताकाे अवशेष नभत्किकन नयाँ सत्ता शुरूवात हुँदैन थ्याे, त्यसकारण हामीले पार्टीको आदेश र निर्देशनलाई मान्दै मेरो कमान्ड र नेतृत्वमा अछामको सदरमुकाम मङ्गलसेन र जहाँ माथि टापुमा नेपाली सेनाका दाजुभाइ बस्नुभएको थियो । यहाँ नजिकै डिएसपी कार्यालय थियो, त्यहाँ प्रहरी दाजभाई बस्नुभएको थियो र यहाँ (दरबारमा ) सिडिओ बस्नुभएको थियो । प्रशासनीय कार्यालय नै यसै दरबारमा थियो । यहाँ नजिकै जिल्ला कारागार थियो, जहाँ हाम्रा क्रान्तिकारी योद्धा र जनसमुदायलाई त्यहाँ थुनिएको थियो ।
मैले प्लान गरे कि, साँफेबगर सेनाको क्याम्प र डिएसपी तथा प्रशासन कार्यालयलाई एकै पटक आक्रमण गर्नुपर्छ । त्यसै कारण मैले यो भन्नैपर्छ, अछामको रामारोशनका जनसमुदायसम्म पुगेर धेरै रात बसेर अध्ययन गर्नका लागि करिब एक हप्ता लगाए मैले ।
करिब एक हप्ता रात दिन लगाएर मैले अध्ययन गरे । मैले अध्ययन गरिरहेको बारेमा जहाँ म बसे, त्यो गाउँका जनसमुदायलाई त थाहा थियो, तर यहाँको बजारका जनसमुदायलाई त्यो कुरा थाहा थिएन । मैले ७ दिन लगाएर रातदिन सर्वे गरेर, प्लानिङ गरेर यो तीनवटै ठाउँमा एकैचोटी २०५८ साल फागुन ४ गते रातको ठिक १ बजे मैले फायर खोलेको थिए र आक्रमण सुरु गरेको थिए ।
पहिलो फायर नेपाली सेनाको क्याम्पमा खोलिएको थियो । सेनाको क्याम्प मैले १ घण्टा भित्र नियन्त्रणमा लिए । हाम्रा बहादुर जनमुक्ति सेनाले एक घण्टामै सेनाको क्याम्प नियन्त्रणमा लिनुभयो र हामीले साँफेबगरमा रहेको सेनाको क्याम्प, जिल्ला सदरमुकाम मङ्गलसेनमा रहेको डिएसपी कार्यालय, दरबारमा रहेको सिडिओ कार्यालय र जिल्ला कारागार गरेर सबै करिब डेढ घण्टाभित्र नियन्त्रण लियौ । त्यसपछि यहाँका जनसमुदायलाई केही सन्देश दिनका लागि बिहानसम्म बस्यौ र जब उज्यालो भयो, त्यसपछि नारा जुलुससहित विजय ¥याली गरेर यहाँबाट हिँड्यौ । तपाइहरू दुःख नमान्नुहोला, गर्व गर्नुहोला । …………..
