मदन–आश्रितको स्मृति दिवसः एमाले अछामद्वारा शैक्षिक सामग्री र फलफूल वितरण
अछाम । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा (एमाले) अछामले अनाथ बालबालिकाहरुलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
सदरमुकाम मंगलसेनमा रहेको षोडशा माविमा आवासीय रुपमा रहेका बालबालिकालाई कापी, कलम सहयोग गरिएको एमाले अछामका अध्यक्ष शिवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । अनाथ बालबालिकाहरुलाई अध्ययनमा सहयोगका लागि शैक्षिक सामग्री सहयोग गरिएको अध्यक्ष उपाध्यायको भनाइ छ ।
मदन–जीवराजको योगदान स्वरुप जिल्ला अस्पताल र वयालपाटा अस्पतालमा भर्ना भइ उपचारमा रहेका बिरामीलाई फलफूल वितरण गरिएको छ । शैक्षिक सामग्री र फलफूल वितरण कार्यक्रमका क्रममा केन्द्रिय सदस्य तथा अछाम–२ इन्चार्ज यज्ञ बोगटीले मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) को विचारले देश विकासमा मार्गदर्शक भएको बताउनुभयो । जबजको सान्दर्भिकता बुझेर अघि बढेमा नागरिक हित हुने अर्का केन्द्रिय सदस्य तथा अछाम–१ का इन्चार्ज कमल तिमिल्सेनाको भनाइ छ ।
शैक्षिक सामग्री तथा फलफूल वितरण कार्यक्रममा एमाले केन्द्रिय सदस्यद्वय कमल तिमिल्सेना र यज्ञ बोगटी, जिल्ला अध्यक्ष शिवप्रसाद उपाध्यायसहित पदाधिकारी र सदस्य लगायतका नेता/कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
