अन्याय परेका व्यक्ति गाउँमै छन्ः न्यायाधीश भट्टराई

अछाम । जिल्ला न्यायाधीश रोशनकुमार भट्टराईले गाउँगाउँमा अन्यायमा परेका व्यक्ति अझै अदालती प्रक्रियासम्म आउन नसकेको भनाइ राख्नुभएको छ । अदालत महंगो, ढिलो र खर्चिलो भएको भन्दै गाउँमै अन्याय सहेर बस्ने अवस्था रहेको उहाँले भनाइ राख्नुभयो । कानुन दिवसको अवसरमा आज अछाम जिल्ला अदालत परिसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा न्यायधीश भट्टराईले कसैले पनि अन्याय सहेर बस्न नहुने कुरा बताउनुभएको छ।
‘न्यायिक निकायमा पीडित आउन नसक्ने अवस्था हामीले चिर्न नसके अन्याय गाउँमै गुम्सिएर बस्छ र त्यसले ठूलो अपराध निम्त्याउन सक्छ ।’ न्यायाधीश भट्टराईले भन्नुभयो । स्थानीय जनप्रतिनिधि, प्रहरीलगायत सबैले न्याय प्रक्रियामा आउनेलाई सहजता प्रदान गर्न सरोकारवालाको भूमिका हुनुपर्ने सुझाव उहाँको छ । अदालतको मुख्य काम न्याय सम्पादन भएको भन्दै न्याय छिटो, छरितो र प्रभावकारीमा जोड दिइरहेको भनाइ न्यायाधीश भट्टराईको छ ।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आनन्द सारुले न्यायमा सबैको पहुँच सिर्जना हुनुपर्ने भन्दै पीडितले समयमै न्याय प्राप्तिमा सबै पक्षको उत्तिकै भूमिका रहेको भनाइ राख्नुभयो । सरोकारवाला निकायहरुको सक्रियतामा अन्यायमा परेका सबैले न्याय पाउने भनाइ प्रजिअ सारुको छ । न्यायमा सहज पहुँच, कानुनी शिक्षा प्रदान गरेर कानुनी शासनको स्थापना सबैको महत्वूर्ण भूमिका रहेको प्रजिअको भनाई छ । कार्यक्रममा जिल्ला बार एसोसिएसन अछामका अध्यक्ष खड्ग बहादुर खड्काले बार अदालती काममा सहयोगीको भूमिका निर्वाह गर्ने निकाय भएकोले बार र बेञ्च बीचमा समन्वयका रुपमा अघि बढ्नुपर्ने भनाई राख्नुभयो ।
उत्कृष्ठ कार्यसम्पादन गरेको भन्दै कानुन दिवसको अवसरमा जिल्ला अदालतमा कार्यरत दुई जना महिला कर्मचारीलाई सोही अवसरमा पुरस्कृत गरिएको छ । अदालत अछामको मुद्धा फाँटमा कार्यरत नायब सुब्बा रत्ना कुमारी धामी र सरिता भाटलाई नगद र प्रसंशापत्र प्रदान गरिएको छ । कार्यक्रममा जिल्ला सरकारी कार्यालय, अछामका जिल्ला न्यायाधिवक्ता हरिष भट्ट, नेपाली सेनाका कर्णेल संगम अधिकारी, जिल्ला प्रहरी कार्यालय, अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रसाद भण्डारी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
कानुन दिवसको कार्यक्रमको सञ्चालन जिल्ला अदालत अछामका श्रेष्तेदार राइभान कुन्जेडाले गर्नुभएको थियो । हरेक वर्ष वैशाख २६ गते नेपालमा कानुन दिवस मनाइन्छ ।